स्थानीयलाई माथिल्लो तामाकोसीको सेयर बाँडफाँड दसैँपछि मात्र

स्थानीयलाई माथिल्लो तामाकोसीको सेयर बाँडफाँड दसैँपछि मात्र


माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयरको बाँडफाँड दसैँपछि मात्र हुने भएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको सेयरको बाँडफाँड दसैँपछि मात्र गरिने सो आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताएका छन् । जिल्लावासीका लागि जारी भएको सेयरको पाराम भर्ने मिति भदौ २१ गते मात्र सकिएको थियो । सेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । सो आयोजनाको साधारण सेयर कात्तिक अन्तिम साता आउने प्रवक्ता न्यौपानेले बताए ।

प्रवद्र्धक माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापुँजीको १५ प्रतिशत अर्थात् रु. एक अर्ब ५८ करोड ८५ लाखबराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । स्थानीयवासीका लागि कम्पनीले रु. एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्काशन गरेकोमा करिब रु तीन अर्बबराबरको आवेदन परेको छ ।

प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतको मात्र आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर निष्कासन गरेको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम तीन सय कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।