मालीमा नदीमा ट्रक खस्दा २० जनाको मृत्यु

मालीमा नदीमा ट्रक खस्दा २० जनाको मृत्यु


गाउँबाट यात्रु लिएर आएको एउटा ट्रक दुर्घटना हुँदा मालीमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

मालीको मध्यभागतिर ट्रकभरि स्थानीय नागरिकलाई बोकेर ट्रक गइरहेका बेला नदीमा खसेर दुर्घटना भएको स्थानीय सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । ट्रकमा ८० जनाभन्दा बढी स्थानीय रहेको दुर्घटनामा बाँच्न सफल एक यात्रुले बताए ।

प्रहरीको प्रारम्भिक विवरणले ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको देखाएको छ । स्थानीय समयअनुसार सोमबार राति साये क्षेत्रको मध्य भागमा दुर्घटना भएको हो ।

‘दुर्घटनामा परेकामध्ये ६३ जनाको उद्धार गरिएको छ भने अरूको खोजीकार्य भइरहेको छ,’ सरकारी पक्षले जारी गरेको एक वक्तव्यमा लेखिएको छ ।

मालीमा सडक र सवारीसाधनको खराब अवस्थाका कारण बेलाबेलामा धेरै मानवीय क्षति हुने यस्ता दुर्घटना हुने गरेका छन् ।