विश्व सिनियर जुडोमा नेपालले प्रतिस्पर्धा गर्ने

विश्व सिनियर जुडोमा नेपालले प्रतिस्पर्धा गर्ने


अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई भदौ २८ गते बिहीबार बिदाइ गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा एक कार्यक्रम गरी बिदाइ गरेका हुन् ।

सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ९० केजीमुनि रविन श्रेष्ठ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि मोहन बम रहेका छन् । महिलामा मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र फुपुल्हामु खत्रीले ६३ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै टोलीको प्रशिक्षकमा मनोजबहादुर केसी र व्यवस्थापकमा प्रमोदप्रसाद नेपाल छन् । आईजेएफ एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्यसमेत रहेका नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य पनि बाकु जानेछन् । बज्राचार्य भदौ २९ गते शुक्रबार बाकुतर्फ जाँदै छन् भने बाँकी टोली सेप्टेम्बर १७ तारिखमा जाने कार्यक्रम छ ।

दुई खेलाडी फुपु र मोहन हाल क्रमशः जापान र अस्ट्रेलियामा रहेकाले उनीहरू उतैबाट बाकु जाने जुडो संघले जनाएको छ । मोहनबाहेक सबै खेलाडीले यसै महिना इन्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए ।