नाडा अटो शोमा उपभोक्ताहरुको आकर्षण ‘स्पेयर पार्टस’ तर्फ

नाडा अटो शोमा उपभोक्ताहरुको आकर्षण ‘स्पेयर पार्टस’ तर्फ


छविलाल बगाले
यसबर्षको नाडा अटो शोमा उपभोक्ताहरुको आकर्षण स्पेयर पार्टसतर्फ बढेको छ । हरेक बर्ष आयोजना गरिने यस्ता मेलाहरुमा विभिन्न कम्पनीका सवारीलाई मात्रै उपभोक्ता सामु सार्बजनिक गर्ने गरिन्थ्यो । तर यसपटक भने उपभोक्ताहरुको माग अनुसार आयोजकले स्पेयर पार्टसलाई पनि सहभागी गराएको हो ।

नाडा अटो शोमा सवारी साधन र तिनका स्पेयर पार्टसको प्रदर्शनीले व्यापकता पाएको छ । स्पेयर पार्टसको प्रदर्शनी यो नै पहिलोपटक हो । सवारी सधान खरिदपछि आवश्यक पर्ने स्पेयर पार्टसलाई ध्यानमा राख्दै प्रदर्शनीमा यस पटकदेखि स्पेयर पार्टसलाई समावेश गरेको आयोजकले जनाएको छ । नेपालमा पछिल्लो समय स्पेयर पार्टसको व्यवसाय फस्टाउँदै गएको छ ।

गत आर्थिक बर्ष ०७४–७५ मा १६ अर्ब ५६ करोड रुपैयाँ बराबरको स्पेयर पार्टस आयात भएको छ । यसबाट राज्यले ७ अर्ब ५ करोड बराबरको राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार गत वर्ष ८६ अर्ब ३ करोड रुपैयाँको सवारी साधन र त्यसका पार्ट्सहरू आयात भएको थियो । यसबाट ८० अर्ब भन्सार राजस्व संकलन भएको छ । ३ खर्ब १६ अर्ब भन्सार राजस्व संकलन भएकोमा यातायातको योगदान २५ प्रतिशतभन्दा बढी छ ।

पछिल्लो समय स्पेयर पार्टसको कारोबार बिस्तारै बृद्धि भइरहेको देखिन्छ । बर्षेनी नेपालमा १५ प्रतिशतभन्दा बढि माग सवारी साधनका लागि आत्यावश्यक स्पेयर पार्टस आयातमै निर्भर हुने गरेको छ । तर मुलुकभित्रै स्पेयर पार्टस उत्पादन गर्ने चर्चा चलेपनि यसले मूर्त रूप लिन भने सकेको छैन । गोरखकाली टायर उद्योग सञ्चालन हुन नसक्दा टायरटयुबमा मात्रै वार्षिक ८ अर्ब रुपैयाँ बाहिरिएको छ ।

अन्य स्पेयर पार्ट्सका लागि करिब १६ अर्ब रुपैयाँ बाहिरिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । ‘सरकारले स्पेयर पार्टसमा ५ देखि ३० प्रतिशतसम्म भन्सार दस्तुर निर्धारण गरेको छ ।’ नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘चर्को भन्सार दस्तुरका कारण कारोबार गर्न समस्या भइरहेका बेला अन्तशुल्क समेत थपिदाँ असजिलो महशुस भएको छ ।’

त्यसो त भन्सारका कारण विवाद स्पेयर पार्ट्समै छ । भन्सारका कर्मचारीले स्पेयर पाटर््सलाई, चोरेर ल्याएर बिक्री गरेको भन्ने आरोप लगाउने गुनासो व्यवसायीमाझ पनि छ । स्पेयर पार्ट्सको उद्योग नेपालमै खोल्न सक्ने अवस्था छ । तर, यसका लागि केही नीतिगत समस्या रहेको व्यवसायीहरु बताउँछन् ।