पच्चीस वर्ष शासन गर्ने महासेठको दाबी

पच्चीस वर्ष शासन गर्ने महासेठको दाबी


राजविराज । विभिन्न प्रकरणमा सन्देहास्पद रवैया प्रदर्शन गरेर सरकार दिनानुदिन अलोकप्रिय हुँदै गएको छ । तर, संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान सरकार जनप्रिय काम गरेर नेपालमा कम्तीमा २५ वर्षसम्म कम्युनिष्ट पार्टीलेले नै शासन गर्ने दाबी गरेका छन् ।

नेपाल कम्युष्टि पार्टी (नेकपा)द्वारा खडक नगरपालिका ५ खरचुहिया बजारमा बुधबार आयोजित बृहत जनसभामा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले अबको एक मात्र एजेण्डा विकास भएको र विकासका लागि आगामी पाँच वर्षसम्म सरकारले जनप्रिय काम गर्ने दाबी गरे ।

कुल बजेटको ६५ प्रतिशत बजेट वर्तमान सरकारले मधेशको विकासका लागि छुट्टयाएको र तीन वर्षभित्र हुलाकी राजमार्गको काम सम्पन्न गर्ने जानकारी समेत मन्त्री महासेठले दिए ।

मधेशको विकास नहुनुमा मधेशवादी दल दोषी रहेको आरोप लगाउँदै उनले भने कांग्रेसी र मधेशवादी दलले तत्कालीन समयमा एमालेलाई मधेशविरोधी भनेर दुष्प्रचार गरेको तर मधेशवादी दलहरु पटक–पटक सरकारमा गए पनि मधेशको पक्षमा काम गर्न नसकेको बताए ।

मन्त्री महासेठले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी सप्तरीका प्रभावशाली नेताहरुलाई अविर माला लगाई नेकपामा प्रवेश गराउँदै नवप्रवेशीहरुलाई योग्यता र क्षमताका आधारमा पार्टीभित्र उचित स्थान दिइने आश्वासन दिए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले पनि दुई वर्षभित्र विश्वमै नमुनाको रुपमा नेपालमा कम्यूनिष्ट पार्टी स्थापित हुने दाबी गरे ।

संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष अयूव राईनको नेतृत्वमा करिव ५ सय जना फोरम नेपालबाट, राजपा तथा नेपाली कांग्रेसका निर्वाचित वडा अध्यक्षसहितका नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । कांग्रेसबाट खडक नगरपालिका वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष गंगाराम चौधरी नेकपमा प्रवेश गरेका हुन् ।

यस्तै नेकपा प्रवेश गर्ने अन्य व्यक्तिमा संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य एवं खडक नगरपालिका वडा नम्बर ९ का अध्यक्षका उम्मेदवार मो. सुलेमान मियाँ, राजपाका ५ नम्बर क्षेत्रीय अध्यक्ष मो. युनुस, तामांग घेदुङका जिल्ला अध्यक्ष सन्तमान तामांग, महिला फोरम नेपालका क्षेत्रीय अध्यक्ष एवं जिल्ला सदस्य प्रेमशिला देवी कर्ण, महिला फोरमका जिल्ला सदस्य ललिता सदाय, राजपा वडा अध्यक्षका उम्मेदवार ललकूप्रसाद चौधरी, मो. हजरत मियाँ, संघीय समाजवादी फोरम नेपालका अध्यक्षका उम्मेदवार जवाहर साह, फोरम नेपालका वडा अध्यक्षका उम्मेदवारहरु गंगाई साह, खिलानन्द ठाकुर, रामेश्वर मण्डल, वंशराज साह, राजपाका खडक वडा नम्बर ३ का अध्यक्षका उम्मेदवार शरिफुदिन मियाँ, ददित जनजाति पार्टी नेपालका केन्द्रीय सदस्य गंगा सदा लगायत रहेका छन् ।

नवप्रवेशी अयूब राईनले संघीय समाजवादी फोरमले संघीयताको मर्म बुझन नसकेको आरोप लगाए । जातिवाद र नातावादले फोरमका नेताहरु ग्रसीत रहेको र उनिहरुको देखाउने दाँत एउटा र चपाउने दाँत अर्के रहेकाले पार्टी भित्र कार्यकर्ताहरु अटाउन नसकेको दाबी उनले गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, प्रदेशसभा सदस्य रुवी कर्णलगायतकाले, नेकपाका केन्द्रीय नेता शेराज फारुकलगायतका केन्द्रीय तथा जिल्ला नेताहरुले नव प्रवेशीहरुलाई स्वागत गर्दै बधाई दिएका थिए ।