प्रकाण्डको बहस भोलि मात्र

प्रकाण्डको बहस भोलि मात्र


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र पोलिटब्युरो सदस्य उमा भुजेल शिलुको सर्वोच्च अदालतले आज हेर्ने भनिएको मुद्दाको बहस समयाभावले भोलिका लागि सरेको छ । उनीहरूलाई सर्वोच्च अदालतमा उपस्थित गराएर पनि समय अभाव भएको भन्दै आज गर्ने भनिएको बहस भोलिका लागि सारिएको हो ।

प्रहरी हिरासत दाङमा रहेका प्रकाण्डलाई आजै एकजना प्रहरी इन्सपेक्टर र एकजना प्रहरी जवानको साथमा नेपालगञ्जबाट हवाई यात्रामार्फत काठमाडौं ल्याइएको थियो ।

आइतबार विश्वकर्माका भाइले सर्वोच्चमा उनको पक्राउविरुद्ध दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्न ४८ घन्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन सोमबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि उनलाई आज काठमाडौं ल्याइएको थियो ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले बन्दीसहित ४८ घन्टाभित्र सर्वोच्चमा उपस्थित गराउन अन्तरिम आदेश जारी गरेपछि उनलाई आज काठमाडौं ल्याइएको हो ।

करोडौँ चन्दा उठाएको अभियोगमा प्रकाण्डसहित तीनजनालाई गत साउन २२ गते काठमाडौंको चोभारबाट पक्राउ गरिएको थियो । उनलाई नुवाकोट, ओखलढुंगा हुँदै दाङ पुऱ्याइएको थियो ।

त्यस्तै पार्टीकी पोलिटब्युरो सदस्य उमा भुजेल शिलुलाई पनि करिव तीन साताअघि काठमाडौंस्थित उनकै वासस्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।