त्यसपछि मात्र हामी प्रवेश गर्छौं नेकपा…

त्यसपछि मात्र हामी प्रवेश गर्छौं नेकपा…


– पुशपतिदयाल मिश्र

नेकपामा प्रवेशका निम्ति कुराकानी भइरहेको अवस्था छ । हामी सबै मिलेर मधेशको समस्या समाधान गर्नुपर्छ भन्ने मोटामोटी सैद्धान्तिक सहमति बनेको छ, तर निष्कर्षमा पुगिएको छैन ।

नेकपाबाट मधेशको पक्षमा स्पष्ट धारणा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो । किनभने अहिले पनि मधेशले नेकपालाई त्यति विश्वास गर्न सकेका छैन ।

नागरिकता, समानुपातिक समावेशी सिद्धान्त, मूल्य निर्धारण आयोग लगायतका धेरै विषयहरू छन्, जसमा नेकपाको स्पष्ट धारणा आउनुपर्छ । यस्तै, सरकारबाट मधेशको विषयमा उठेका मुद्दाहरूलाई के गरेर सम्बोधन गर्न सकिन्छ, त्यसको लागि पहलकदमी लिनुपर्छ ।

हाम्रो पक्षमा काम हुँदै छ भन्ने मधेशी जनताले अनुभूति हुनुपर्छ । संविधानमा व्यवस्था भएको समानुपातिक समावेशी व्यवस्था पनि प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन । ती कुराहरूलाई अगाडि बढाएर जानुपर्छ ।

किसानहरूले उत्पादन गरेको अन्नबालीको मूल्य निर्धारण गरिनु पर्छ । मधेशका विभिन्न समस्याहरू समाधान गर्न सरकारसँग हामी छलफलको क्रममा रहेको छौं । यी सबै विषयहरूमा कुरा मिल्यो भने हामी नेकपामा प्रवेश गर्छौं ।

मधेशी, आदिवासी, जनजाति, मुस्लिम आदि विभिन्न आयोगहरू बनाउने काम भइरहेको छ । किसानले उत्पादन गरेको वस्तुको कुरा छ, समावेशी समानुपातिक व्यवस्थाको विषय छ, यो सबै कुराहरू संविधानमा त आइसकेको छ र अब सरकारले अगाडि बढाउनुपर्छ । यी कामहरूमा सरकार दृढताका साथ अगाडि बढ्यो भने हामी नेकपामा समाहित हुने एउटा वातावरण बन्छ । अहिले हामी स्वतन्त्र राजनीतिक समूहकै हैसियतमा काम गरिरहेका छौँ ।

मधेशको एजेन्डालाई साझा एजेन्डा नबनाई समाधान गर्न सकिँदैन । हामी आन्दोलन र विरोध मात्र गरेर अगाडि बढ्छौँ, तर अब त्यसरी हुँदैन । कन्भिन्स गरेर जानुपर्छ भनेर हामीलाई लाग्यो र त्यही क्रममा धेरै छलफलहरू भयो । कांग्रेससँग पनि छलफल भएकै हो तर कांग्रेसले मधेशको मुद्दा सम्बोधन गर्न खासै अग्रसरता नदेखाएपछि मधेशको समस्याको समाधान अब एमालेसँग मिलेर नै गर्नुपर्छ भनेर हामीले छलफल अगाडि बढाएका थियौँ । केही समय लाग्न सक्छ, तर मधेशका समस्याहरू यो सरकारले समाधान गर्छ भन्नेमा मलाई विश्वास छ । मधेशको एजेण्डालाई साझा एजेण्डा बनाउनका लागि एमालेको चुनाव चिन्हबाट हामीले चुनाव लडेका हौँ ।

अहिले पनि संविधान संशोधन हुनुपर्छ भन्ने पक्षमा नै हामी रहेका छौँ । संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी भएको छ । उसँग पनि सरकारले संविधान संशोधन गर्छौं भनेर सहमति गरेको छ । मधेश पनि नेपाल नै हो । त्यसैले सबैको चित्त बुझाएर अगाडि बढ्न सक्यो भने समृद्धि र विकासको एजेण्डा लिएर अगाडि बढेको यो सरकार सफल हुनेछ । संविधान संशोधन लगायत मधेशको सबै समस्या समाधान गरेर मधेशी दलहरूलाई पनि समेट्दै जनताको भावना जित्दै यो सरकार अगाडि बढ्नुपर्छ ।

जुन समस्या मधेशमा देखिएको छ, त्यही नै संविधान संशोधनको आवश्यकता हो । संविधान संशोधन गरेर नै त्यस्ता समस्या समाधान गर्न सकिन्छ । संविधान संशोधन नगरी त देश अगाडि बढ्न नै सक्ने अवस्था छैन । समस्या यथावत् राखेर अगाडि बढ्न परिस्थिति अनुकुल हुन्न । पहिलेभन्दा हाम्रा प्रधानमन्त्रीज्यूको दृष्टिकोण अहिले फरक भएको महसुस भएको छ । हामीले मधेशलाई साथमा लिएर हिँडेनौं भने गाह्रो हुन्छ भन्ने उहाँहरूले महसुस गरि सक्नु भएको छ । संविधान संशोधन गरेर कडा रूपमा कार्यान्वयन गर्न सकियो भने समाजमा त्यसको प्रभाव पर्छ र जनताको मन जित्न सकिन्छ ।

मधेशवाद र कम्युनिष्ट भनेर छुट्याउन जरूरी छैन । मधेशको मुद्दालाई समाधान नगरी यो कम्युनिष्ट हो वा यो प्रजातन्त्रवादी पार्टी हो भन्न जरूरी छैन । राजनीति गर्ने हरेक दलको एजेण्डा जनताको अधिकार स्थापित गर्ने, सुख दिने र देशलाई समृद्ध बनाउने हुन्छ । देशका सबै जनतालाई समान व्यवहार गर्ने, विभेद हटाउने भन्ने नै मुख्य एजेण्डा हो । मधेशको मुद्दालाई नेपालका सबै राजनीतिक दलहरू मिलेर समाधान गर्नुपर्छ भन्ने अहिले हाम्रो धारणा हो ।

मधेशको मुद्दा समाधान गर्ने तर्फ अग्रसर हुनुपर्छ, मधेशवादी भनिरहन जरूरी छैन । मधेशवादको कुरा गरेर मात्र हुँदैन त्यसको कार्यान्वयन गरेर समाधानको उचित विन्दुसम्म पु¥याउनुपर्छ । समस्या उठाएर मात्र हून्न, समस्या छ भन्ने सबैलाई थाहा छ तर त्यो समस्यालाई समाधान गर्न सक्नु नै बुद्धिमानी हो ।

हामीले राष्ट्रिय जनता पार्टी नेपाल परित्याग गरेर नै स्वतन्त्र नागरिक समूह बनाएका हौँ । किनभने राजपाका नेताहरूको स्पष्ट भिजनको अभाव छ । प्रदेश नम्बर ५ को स्थानीय निर्वाचनमा राजपाले सहभागिता जनाएन । तर आन्दोलन छाडेर प्रदेश नम्बर दुईको निर्वाचनमा सहभागी भए । उनीहरूले आफ्नो राजनीति २ नम्बर प्रदेशमा मात्र केन्द्रित गरे । उनीहरूको पुरै फोकस दुई नम्बर प्रदेशका लागि मात्र भयो । हामीले धेरै छलफल ग¥यौं अध्यक्षज्यूहरूसँग, केन्दी्रय कार्यसमितिमा पनि यो कुरा उठायौं तर हाम्रो कुरामा पर्टीको नेतृत्व पंक्ति गम्भीर भएन । ५ नम्बर प्रदेशको विषयमा उनीहरूलाई कुनै चासो भएन । त्यही कारण असन्तुष्टि बढ्दै गयो र हामी अलग भयौँ ।

संविधान संशोधन, सीमांकन, नागरिकता, भाषा लगायत मधेशमा जति विषयहरू छन्, सबलाई समेटेर समाधन गर्नुपर्छ भन्ने हाम्रो अहिलेको धारणा हो ।

राजपा नेपाल त प्रदेश २ मा मात्र सीमित भएको छ, पार्टीको भूमिका मधेशवादको पक्षमा छ । तर पार्टीमा धेरै नेता भएको हुनाले अलि अप्ठ्यारो छ । अहिले सरकारमा सहभागिताको विषयमा पनि कुरा चलिरहेको छ तर आधा तयार भएको छैन । आन्दोलनको क्रममा घाइते भएकाको उपचार, क्षतिपूर्ति आदि विषयहरू राजपाले सर्तका रूपमा उठाएको छ । यी विषयहरू त्यति ठूला छैनन् । सरकारले ध्यान दिएर सबैलाई सँगै लिएर हिँड्न सक्नुपर्छ ।

(‘स्वतन्त्र राजनीतिक समूह’का नेता मिश्रसँग गरिएको कुराकानीको आधारमा, मदफिसे)