सृष्टिको आग्रह- ‘मसंग बिहे गर…’

सृष्टिको आग्रह- ‘मसंग बिहे गर…’


राजन घिमिरे, अष्ट्रेलिया

पर्दामा एउटा दृश्य आउँछ- ‘मसंग बिहे गर्छौ ?’ नायिका सृष्टि श्रेष्ठले नायक आर्यन अधिकारीलाई सोध्छिन्, अनि जवाफमा आर्यन भन्छन्- ‘मसंग विवाह गर्यौ भने दुख पाउँछौ ।’ नायिकाले फेरि थप्छिन्- ‘मायालाई दुःख-सुखले आंकलन गर्न मिल्छ र ?…’

यो दृश्य पर्दामा आइरहँदा दर्शकहरू साँच्चै भावुक बन्न पुग्छन् र एकअर्कासंग कानेखुशी गर्न थाल्छन्- ‘आहा मन नै छोयो यो दृश्यले ।’

प्रस्तुत दृश्य हो चलचित्र ‘बाँध मायाले’को । यो चलचित्र नेपालमा असोज ५ गते रिलिज हुँदैछ भने अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन भैसकेको छ । तीन शो प्रदर्शन भैसकेको यस चलचित्रका थप शो अन्य शहरहरूमा पनि हुने भएको छ ।

‘हामीले अष्ट्रेलियामा रहनुभएका नेपाली चलचित्रप्रेमी नेपालीलाई पुरानो या बासी नभई ताजा र नयाँ चलचित्र पस्कने उद्देश्यले नै नेपालभन्दा अगाडि यहाँ प्रदर्शन गरेका हौँ’, चलचित्रका निर्माता महेन्द्र अधिकारीको तर्क छ ।

शुरूमा त महेन्द्न नेपाली चलचित्रका नियमित दर्शक मात्र थिए तर,अहिले उनी सिनेमाको निर्माता बनेका छन् । ‘अब भने सिनेमा निर्माणको क्षेत्रमा बिस्तारै भएपनि निरन्तरता दिंदै जाने छुु’, उनको प्रतिबद्धता छ ।

सिड्नीवासी दर्शकहरूले विशेष गरेर नायिका सृष्टि श्रेष्ठको कामको खुलेर तारिफ गरेका छन् । ‘सांच्चै काम मन पर्यो । तारिफ गर्न लायकको काम छ उनको’, सिड्नीका व्यवसायी प्रज्ज्वल कालाखेतीको भनाई छ ।

तेस्रो चलचित्रसम्म आइपुग्दा नायक आर्यन अधिकारीले पनि वाह गर्नलायकको काम गरेका छन् भने चलचित्रलाई प्रिय बनाउन पहिलाको दाँजोमा यो चलचित्रमा निर्देशक सबिर श्रेष्ठले निकै मिहेनत गरेको पाइन्छ । उनले ससाना कुरामा पनि ध्यान दिएका छन् । चलचित्रमा बलियो पात्रको रूपमा उभिएका राजराम पौडेल, विशाल चाम्लिंग र किशोर खड्काको काम प्रशंसा गर्न लायकको छ । ‘प्रवासमा रहेर पनि नेपाली सिनेमा क्षेत्रमा सहभागिता जनाउँदै यो विधामा लगानीको हिसाबले पनि अगाडि बढ्ने उद्देश्य मेरो छु’, सिड्नीमा रहेका चलचित्रका निर्माता महेन्द्र अधिकारीले बताए ।