प्रचण्डप्रतिको पूर्वाग्रह हटाइपाऊँ

2.0K Shares

– देवप्रकाश त्रिपाठी

महान् नेपाली दार्शनिक रूपचन्द्र विष्टले भन्नुभएझैँ ‘निष्पक्ष सक्रियताको अभ्यास’ गर्न खोज्ने मेरो लेखनीमा पूर्वमाओवादी तथा वर्तमान ‘लेनिनवादी’ नेता प्रचण्डप्रति पूर्वाग्रह झल्किएको आरोप लाग्दै आएको छ । निष्पक्ष हुनु भनेको चोर र प्रहरी दुवैप्रति समान व्यवहार गर्नु होइन र देशहितजत्तिकै महत्व परायाहितलाई दिनु पनि होइन भन्ने ज्ञान सबैमा रहेको विश्वास गर्दै यहाँ प्रचण्डप्रति एउटा नेपाली पूर्वाग्रही हुनुपर्ने कि नपर्ने भन्ने विषयमा सङ्क्षिप्त विवेचनाको प्रयास गरिएको छ ।

किशोरवयमा कम्युनिस्ट हावाको झोक्काले शिरको कपाल फिरफिर पारेका बेला ‘कम्युनिस्ट कुरा’ गरियो । राष्ट्रियतासहितको प्रजातन्त्रका पक्षमा लेख्दै–बोल्दै जाँदा नेपाली काङ्ग्रेसको निकट पनि बनियो । तर, नेपाली काङ्ग्रेसले ‘काङ्ग्रेस’ छोडेपछि बाँकी रहेको ‘नेपाली’ म र मजस्ताहरूको भागमा परेको छ । ०६२ को बाह्रबुँदे सम्झौता तथा ०६३ को रहस्यमयी परिवर्तनपछि जब देशको सुगन्ध सङ्कटमा प¥यो, त्यसयता अन्तस्करणले मलाई नेपालीबाहेक अर्को कुनै विशेषणले रङ्गिएर मोजको जिन्दगी बाँच्न रोक लगायो, रोकिएँ ।

पञ्चायतकालमा प्रजातन्त्र स्थापना निम्तिको सङ्घर्षमा सामेल भइयो, भविष्यमा ‘ब्याज खाने’ सोच नबनाईकन पटक–पटक जेल यातना र प्रहरी हिरासतको यातना पनि भोगियो । तर, कुनै बेला ‘यस्तो कथा सुनाउन’ काम लाग्ला या ‘देश खाने प्रमाणपत्र बन्ला’ भनेर त्यसबेला जेल यातना भोगिएको थिएन । पञ्च र पञ्चायतले देश बनाउन सकेन, हामी सक्छौँ भन्ने आत्मविश्वासका साथ आन्दोलनमा सहभागी भइएको र आफ्नै जीवनकालमा देशको मुहार बदल्न सकिने अठोट थियो । कालान्तरमा कम्युनिस्टहरू कम्युनिस्टजस्ता भएनन् र काङ्ग्रेसजस्तो काङ्ग्रेस पनि रहेन । आत्माविहीन पुतलाको भूमिका निर्वाह गर्न नखोज्दा ‘नेपाली’ मात्र होइएको छ, नेपाली भएर हेर्दा जे देखिन्छ, त्यही लेखिँदै छ, लेखिन्छ ।

काङ्ग्रेसको दृष्टिमा कम्युनिस्ट बेठीक छन् र कम्युनिस्टको विचारमा काङ्ग्रेस बेठीक देखिएको छ, तर एउटा नेपालीको दृष्टिमा दुवै बेठीक ठहरिएका छन् भन्ने तथ्यबोध दुवै दलका नेताहरूलाई भइरहेको छैन ।

देशमा यतिबेला अनेक आकार–प्रकारका सङ्कट छन् र तीमध्ये एउटा निष्पक्ष सोच–व्यवहारको सङ्कट पनि हो । ‘मतखाता’देखि मतदातासम्म सबै कुनै न कुनै रङले रङ्गिएका छन् । रङविहीन अर्थात् निर्मल कलाकार, किसान, मजदुर, पत्रकार, शिक्षक, प्राध्यापक, चिकित्सक, उद्यमी, व्यवसायी, कर्मचारी कम भेटिन्छन्, सबै एउटा न एउटा रङका कुरा गर्छन् । होली (फागु) को जस्ता रङ्गीन मान्छेका बीचमा पानी रङको कञ्चन भूमिका निर्वाह गर्न खोज्दा कहिले कतापट्टिको त कहिले कताको प्रहार व्यहोर्ने गरिएको छ । रूपचन्द्र विष्टजस्ता निष्पक्ष (तर देशको पक्षका) व्यक्ति काङ्ग्रेसको उपेक्षा र कम्युनिस्टको प्रहारमा पर्नुपरेको देशमा निष्पक्ष भूमिका निर्वाह गर्नु सुलभ कार्य किमार्थ होइन । सबै प्रकारका सुखभोग र मोहमुक्त भएर ज्ञानमार्गमा केन्द्रित गौतम बुद्धसमेत आलोचना र गालीमुक्त हुन नसकेको यो भूक्षेत्रमा सबैतिरबाट महिमावान बन्ने अपेक्षा कसैले नराख्नु उत्तम हुनेछ ।

प्राणी भएका नाताले प्राणी कल्याणमा केन्द्रित भूमिका निर्वाह गर्न सकिन्थ्यो र, मानवतावादी मात्र भएर जीवनको उपयोग गर्न नसकिने पनि थिएन । तर, वर्तमानले त्यस्तो उचाइदार भूमिका निर्वाह गर्न प्रोत्साहित गरेन, माटोमा उभ्याइदिएकोे छ, त्यसैले देशकै माटोका पक्षमा लेख्ने-बोल्ने गरिएको छ । आफ्नो माटोमा उभिएर हेर्दा मात्र देशलाई कहाँनेर दुख्दोरहेछ भन्ने अनुभूति हुन्छ, कसले कसरी देशलाई बिझाइरहेको छ भन्ने महसुस गर्न सकिन्छ । जसले देशलाई ज्यादा दुखाइरहेको छ त्यस्ता पात्रका प्रति कोही त्यतिबेला मात्र सकारात्मक हुन सक्छन्, जसलाई देशको भन्दा बढी आफ्नै ‘घाउ’को चिन्ता हुने गर्दछ ।

काङ्ग्रेसको दृष्टिमा कम्युनिस्ट बेठीक छन् र कम्युनिस्टको विचारमा काङ्ग्रेस बेठीक देखिएको छ, तर एउटा नेपालीको दृष्टिमा दुवै बेठीक ठहरिएका छन् भन्ने तथ्यबोध दुवै दलका नेताहरूलाई भइरहेको छैन । जनजीवन थप कष्टकर भएको, राष्ट्रियता र राष्ट्रिय एकता दुर्बल बनेको तथा अर्थतन्त्रमा अपेक्षाकृत सुधार हुन नसकेको वास्तविकताले राजनीतिक नेतृत्वको असफलता राम्ररी उजागर गरिरहेको छ । यो अवस्थामा देश पुग्नुका पछाडि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवादेखि प्रचण्ड र केपी ओलीसम्मका सबै नेता जिम्मेवार मानिन्छन्, तर कैयन कारणवश प्रचण्ड अधिक जिम्मेवार छन् भन्न सङ्कोच मान्नुपर्दैन । पराया प्रायोजनमा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र जातीय एवम् क्षेत्रीय विभाजनको रेखा कोर्नुलाई उपलब्धि मान्ने हो र, त्यस कार्यमा निमित्त नायकको भूमिका कुशलतापूर्वक निर्वाह गरेबापत प्रचण्डलाई ‘महान्’ ठान्ने हो भने यसमा तर्क–वितर्क गरिरहनुपर्दैैन, यसर्थमा उनी ‘महान् हुन् । विद्यमान राजनीतिक स्थितिले निरन्तरता पाइरहेसम्म प्रचण्डको ‘स्तुतिगान’ यो मुलुकमा चलिरहन पनि सक्नेछ ।

पराया प्रायोजनमा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र जातीय एवम् क्षेत्रीय विभाजनको रेखा कोर्नुलाई उपलब्धि मान्ने हो र, त्यस कार्यमा निमित्त नायकको भूमिका कुशलतापूर्वक निर्वाह गरेबापत प्रचण्डलाई ‘महान्’ ठान्ने हो भने यसमा तर्क–वितर्क गरिरहनुपर्दैैन, यसर्थमा उनी ‘महान्’ हुन् । विद्यमान राजनीतिक स्थितिले निरन्तरता पाइरहेसम्म प्रचण्डको ‘स्तुतिगान’ यो मुलुकमा चलिरहन पनि सक्नेछ ।

जित्नेलाई प्रशंसा र हार्नेलाई गाली दिन रत्तिभर सङ्कोच नमान्ने यो देशका बासिन्दाहरूको एउटा विशेषता हो । जीवनभर राजाको कृपाबाट मान, पद, प्रतिष्ठा र त्यस्तै कुन्नि के–के पाएर निजी जीवन धन्य बनाउने पञ्चहरूसमेत राजाले नारायणहिटी राजदरबार नछोड्दै आफूहरू सच्चा गणतन्त्रवादी भएको दाबी गर्न सक्नेहरूको यो देशमा अहिले प्रचण्डको जयजयकार हुनुलाई अस्वाभाविक मान्नुपर्दैन । जो–जसले जतिसुकै जयगान गए पनि प्रचण्डका सामु दर्जनौँ प्रश्न उभिएका छन्, त्यसको जवाफ उनले नेपालको इतिहासलाई शायद दिन सक्ने छैनन् ।

१. बहुलवादमा आधारित संसदीय प्रजातन्त्र स्थापना भई जनताको मन जितेर सत्तामा पुग्न सक्ने–पाउने स्थिति हुँदाहुँदै निर्दोष मानिसको गर्धन रेटेर सत्ता लिने बाटो किन रोज्यौ प्रचण्ड ?

२. पृथ्वीनारायण शाहले देशको एकीकरण निम्ति गरेको युद्धमा चार सय मानिस मारिएको पुष्टि हुँदैन, तर तिमीले जाबो सत्ता पाउनका लागि रचेको हिंसात्मक युद्धमा नेपाल भत्काउन विदेशीको सहयोग किन लियौ प्रचण्ड ?

३. नेपालको अस्तित्व जातीय सद्भाव र क्षेत्रीय एकतामा टिकेको हो र, नेपालविरोधीहरूले नेपाल भत्काउन हाम्रो जातीय सद्भाव र क्षेत्रीय एकता भड्काउन दशकौँ अघिदेखि प्रयास गर्दै आएका थिए, अन्ततः नेपालविरोधीहरूको इच्छा पूरा हुने गरी हाम्रो जातीय र क्षेत्रीय सद्भाव किन बिथोल्यौ प्रचण्ड ?

४. नेपालको स्थापना भएयता हामीले एकात्मकताको अभ्यास गर्दै आएका हौँ र, एकात्मकतामा रमाइरहेका नेपालीलाई सङ्घीयता दिएर हाम्रो सार्वभौमिकताको विभाजन किन गरायौ र करको बोझ किन थप्यौ प्रचण्ड ?

५. आर्थिक तथा शैक्षिक स्तरका आधारमा दिइनुपर्ने आरक्षणलाई जातीय आधार निर्धारण गरेर देशलाई स्थायी तनाव र मानसिक विभाजनको स्थितिमा किन पुऱ्यायौ प्रचण्ड ?

७. मुलुकमा एकासी प्रतिशत सनातनी हिन्दू र बौद्ध, किराँतलगायत ओमकार परिवार सम्बद्ध जनसङ्ख्यासमेत जोडिँदा चौरानब्बे प्रतिशत जनताको भावनाविपरीत नेपाललाई धर्र्मनिरपेक्ष किन बनायौ र, परायाधर्मको प्रचारप्रसारको मार्ग प्रशस्त किन गऱ्यौ प्रचण्ड ?

८. प्रधानमन्त्री बनिसकेपछि समग्र मुलुकको सर्वाङ्गीण हितका निम्ति केन्द्रित रहनुपर्नेमा पार्टीका केही लडाकुलाई सेनामा जागिर खुवाउन सम्पूर्ण सामथ्र्य र समय किन खर्च गऱ्यौ प्रचण्ड ?

९. नक्कली लडाकु खडा गरेर तिनको नाममा राज्यको अर्बौं रुपैयाँ बुझ्ने र जनताले तिरेको करमा ब्रह्मलुट गरी निजी ढुकुटी बलियो बनाउन किन लाग्यौ प्रचण्ड ? (ज्ञातव्य छ, २०६३ को परिवर्तनपछि लडाकु भर्ना अभियान चलाएर एकतीस हजारभन्दा माथि पुऱ्याइएको र पछि प्रमाणीकरण गर्दा उन्नाइस हजार मात्र लडाकु ठहर गरिएको भए पनि प्रचण्डले एकतीस हजार लडाकुकै नाममा नियमित रकम बुझ्ने र तेह्र हजार लडाकुको नाममा आएको रकम आफैँले हजम गरेको बताइन्छ । लोकमानसिंह कार्की अख्तियार प्रमुख रहँदा यसै विषयमा भएको अनुसन्धानले ‘जेलयात्रा गराउने’ देखिएपछि कार्कीलाई पदमुक्त गराउन प्रचण्ड विशेष रूपमा सक्रिय भएका थिए ।)

१०. बाह्रबुँदे सम्झौता गर्न मोहन वैद्य र सीपी गजुरेलहरू बाधक बन्ने देखिएपछि वैद्य र सीपीसहित तिनका हितैषीहरू मात्र चुनी–चुनी कसको सहयोगमा पक्राउ परेका थिए प्रचण्ड ?

११. ०५८ मा राजा वीरेन्द्रको वंश नास भएलगत्तै भारतका तात्कालिक प्रधानमन्त्रीसमक्ष लिखित प्रतिबद्धता जनाउँदै आत्मसमर्पण गर्न किन पुगेका थियौ प्रचण्ड ? (यस सम्बन्धमा एसडी मुनीले किताब लेखेरै स्पष्ट गरिसकेका छन् ।)

१२. राजा वीरेन्द्रको समयमा धीरेन्द्र शाह र अन्य केहीमार्फत दरबारसँग सम्पर्क र संवादमा रहँदा संसदीय प्रजातन्त्रको मेरुदण्डको रूपमा रहेका काङ्ग्रेस–एमालेलाई सिध्याएर सत्ताको एकलौटी मालिक बन्ने योजना किन बनाएका थियौ प्रचण्ड ?

१३. पहिलोपल्ट केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने निश्चित भएपछि रातारात एमालेसँगको सत्ता गठबन्धन तोडेर शेरबहादुरसँग साझेदारी गर्न पुग्नुको औचित्य कसरी पुष्टि गर्छौ प्रचण्ड ?

१४. प्रधानमन्त्री भएर (२०७३ मा) भारत भ्रमणमा गएका बेला पच्चीसबुँदे संयुक्त वक्तव्य जारी गर्दै नेपालको स्वतन्त्र कूटनीतिक भूमिकामा बाह्य अंकुश लगाउने प्रतिबद्धता किन जाहेर गरेका थियौ प्रचण्ड ?

१५. नेपालका दुई छिमेकीहरूमध्ये कहिले भारत त कहिले चीनलाई भड्काउने र दुवैको विश्वास गुम्ने परिस्थिति बनाउन किन खोजिरहन्छौ प्रचण्ड ?

१६. कर्मचारीका नियुक्ति, सरुवा र बढुवासमेत लेनदेनका आधारमा गर्ने काम कसले गर्दै आएको छ र देशका अपराधी, भ्रष्टाचारी तथा माफियालाई संरक्षण गर्ने काम कसले गरिरहेको छ प्रचण्ड ?

१७. देशको एकीकरणका महानायक पृथ्वीनारायण शाहको शालिक ढालेर उनका प्रति घृणा फैलाउँदै नेपालको एकीकरण हुनु नै ठूलो गल्ती थियो भन्ने सन्देश दिन किन खोज्यौ प्रचण्ड ?

क्रान्तिकारीका आँखामा क्रान्तिलाई, देशभक्तका आँखामा देशलाई, शान्तिकामीका आँखामा शान्तिलाई, इमानदारका आँखामा इमानलाई, एकताप्रेमीका दृष्टिमा एकतालाई र विकासप्रेमीका आँखामा विकासलाई धोखाधडी गर्ने मुख्य व्यक्तिका रूपमा आमजनताले प्रचण्डलाई बुझ्ने गरेका छन् । अरू त अरू प्रचण्डलाई रोल्पाबाट नयाँदिल्ली हुँदै सिंहदरबारसम्मको सुरक्षित यात्रा तय गर्न जो–जसले सहयोग गरेका थिए तिनले समेत प्रचण्डबाट धोखा भएको महसुस गरेका हुन् । ०६२/६३ को आन्दोलनको क्रममा बीबीसी रेडियो सेवालाई अन्तर्वार्ता दिँदै आफूहरू (प्रचण्ड र बाबुराम) कहिल्यै सत्ताको पद नलिने प्रतिबद्धता जनाएको दुई वर्षपछि नै प्रचण्ड प्रधानमन्त्री पद हात पार्न हतारिएको कसैले भुलेका छैनन् । प्रचण्डले कुनै पद लिन खोज्नु हुँदैन भन्ने होइन, तर आफ्ना सार्वजनिक प्रतिबद्धताप्रति इमानदार रहने कि नरहने भन्ने मूल प्रश्नमा उनी चुकिसकेका छन्, चुकिरहेका छन् ।

सफल हुने हो कि होइन भन्ने प्रश्नलाई लिएर उनमा जुनस्तरको तडपन देखिन्थ्यो, अहिले एकीकृत कम्युनिस्ट पार्टीको एकलौटी मालिक (अध्यक्ष) नबन्दासम्म उनमा उस्तै छटपटी देखिएको छ । हालै भएको भारत भ्रमणलाई प्रचण्डको यस्तै निजी महत्वाकाङ्क्षा पूरा गर्ने प्रयासबाहेक अन्य अर्थमा बुझियो भने यो सोह्रैआना गलत हुनेछ ।

प्रचण्ड यतिबेला ०५२ सालअघिको जस्तै मानसिक स्थितिमा भएको बुझिन्छ । दुईवटा (०४८ र ०५१) संसदीय निर्वाचनले निराशाजनक परिणाम दिएपछि सत्ता टाढिएको ठानेर रन्थनिएका प्रचण्ड त्यतिबेला हिंसात्मक उपद्रव गर्ने निचोडमा पुगेका थिए र, भविष्यमा आफ्नो योजना सफल हुने हो कि होइन भन्ने प्रश्नलाई लिएर उनमा जुनस्तरको तडपन देखिन्थ्यो, अहिले एकीकृत कम्युनिस्ट पार्टीको एकलौटी मालिक (अध्यक्ष) नबन्दासम्म उनमा उस्तै छटपटी देखिएको छ । हालै भएको भारत भ्रमणलाई प्रचण्डको यस्तै निजी महत्वाकाङ्क्षा पूरा गर्ने प्रयासबाहेक अन्य अर्थमा बुझियो भने यो सोह्रैआना गलत हुनेछ । केपी ओली र माधवकुमार नेपालहरूभन्दा निकटको मित्र भएको स्वाङ पारेर ‘अध्यक्ष’ पद हात लगाउने मार्ग प्रशस्त गर्नु भनेको धोखाधडी हो कि होइन, यसको जवाफ कोही देशभक्त कम्युनिस्ट छन् भने तिनले खोज्दै गर्लान् ।

घरभित्रको ठालु बन्न विभीषणले झैँ परायालाई मौका दिने जुन काम प्रचण्ड दाहालले गरे, गरिरहेका छन्, यस्तै काम सुगौली सन्धिमा चन्द्रशेखर उपाध्याय दाहालले पनि गरेका थिए । यद्यपि देश बर्बादीको सम्पूर्ण कारण प्रचण्ड मात्र हुन् भन्नेचाहिँ होइन, गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर हुँदै आरजु राणासम्म बर्बादीका निम्ति जिम्मेवार छन् भन्ने तथ्य सबैले बुझेका छन् र, कतिपय अर्थमा केपी र माधव नेपाललाई पनि बर्बादीको कारक मानिन्छ । तर, प्रचण्डले बराबर बेइमानी, धोखाधडी र राष्ट्रद्रोही कर्म अरूबाट भएको प्रमाणित हुन सकिरहेको छैन । निजी महत्वाकाङ्क्षा पूरा गर्न देशलाई नै दाउमा राख्नेजस्तो तुच्छ कर्म जुन प्रचण्डबाट भइरहेको छ, यसलाई क्षमायोग्य मान्न कुनै नेपालीले सकिरहेका छैनन् ।

यिनले राष्ट्रविरुद्ध अक्षम्य कर्म गरेको ठहर अहिले नभए भोलिको इतिहासले गर्नेमा शङ्का गर्नुपर्दैन । बेइमानी र धोखाधडीको विषाक्त पुञ्ज बनेका व्यक्ति, जसको भूमिकाले देशलाई पचासौँ वर्ष पछाडि धकेलेको छ र नेपालकै अस्तित्व रहने–नरहनेमा समेत संसय पैदा गराएको छ, यस्ता पात्रप्रति सकारात्मक हुनैपर्ने कुनै कारण भए त्यसलाई ग्रहण गर्ने व्यग्र प्रतीक्षामा म रहेको छु । देशका लागि एउटै मात्र भए पनि कुनै काम गरेर म र मजस्तै नेपालीमा रहेको ‘पूर्वाग्रह’ पखाल्न सहयोग पु¥याइयोस् भनी स्वयम् प्रचण्डसमक्ष आग्रह गर्दछु । यति गरिदिए भने प्रचण्डप्रति पूर्वाग्रही रहेको भन्ने आरोपबाट मुक्ति पाइने अपेक्षा मैले गरेको छु ।

2.0K Shares

प्रतिक्रिया