पुरुषलाई पनि ‘मेनोपोज’ हुन्छ ?

पुरुषलाई पनि ‘मेनोपोज’ हुन्छ ?


– बबिता बस्नेत

महिलाको जिन्दगीमा बाहिरबाट भैपरी आउने दुःखबाहेक पनि अनेक प्रकारका दुःखकष्टहरू आइपर्छन् । किशोरावस्थामा रजस्वला अर्थात् महिनावारी सुरु हुँदादेखि गर्भवती, सुत्केरी हुँदै नछुने रोकिने अर्थात् रजनोवृत्ति (मेनोपोज) हुँदासम्ममा अनेक कठिन अवस्थाबाट महिला गुज्रनुपर्ने हुन्छ । किशोरावस्थामा प्रत्येक महिना हुने महिनावारी नै महिलाका लागि सबैभन्दा गाह्रो कुरा हो कि के हो जस्तो लागे पनि नछुने रोकिने प्रक्रिया झनै कष्टकर हुँदोरहेछ । अलिकति अघि चिसो भएको शरीर एकैछिनमा तातो हुने, खलखली पसिना आउने, राति निद्रामा एक्कासि झसङ्ग बिउँझिने, पसिना पनि घरी तातो, घरी चिसो । जलवायु परिवर्तनको चर्चा विश्वव्यापी भइरहेका बेला आफ्नै शरीरमा क्लाइमेट चेन्ज भएको अनुभूति हुने रहेछ । जिन्दगी ठीकठाक चलिरहेकै बेला पनि खै के–के नमिलेजस्तो, के नभएजस्तो एकप्रकारको तनावझैँ महसुस हुने ।

‘मेनोपोजको सिम्टम’ भनेर डाक्टरले बताएपछि एक दिन साथी बन्दना राणालाई सोधेँ– तिमीहरूलाई यस्तो केही भएन कि के हो ? कहिल्यै चर्चा गरेनौ त…? किन नहुनु… आई हाभ गन थ्रु अल द प्रोसेस भन्दै उनले त्यस्तो बेलामा अपनाउनुपर्ने शारीरिक अभ्यास, योग, ध्यान, खानेकुराको सन्तुलनलगायतका सचेतताबारे बताइन् । उनले भनिन्– यु नो ह्वाट ? खासमा ‘मेनोपोज’ त पुरुषको पनि हुँदोरहेछ नि, कसैले चर्चा नै गर्दैनन् । हो र ? अचम्म लाग्यो । गुगल गर्ने उनको सुझाबअनुरूप ‘मेल मेनोपोज’ टाइप गरेर अनलाइन सर्च गर्दा यति धेरै जानकारी पाइयो कि छक्कै परेँ । महिलाको मेनोपोजकै राम्ररी चर्चा नभइरहेका बेला पुरुषको हुने कुरै भएन ।

जलवायु परिवर्तनको चर्चा विश्वव्यापी भइरहेका बेला आफ्नै शरीरमा क्लाइमेट चेन्ज भएको अनुभूति हुने रहेछ । जिन्दगी ठीकठाक चलिरहेकै बेला पनि खै के–के नमिलेजस्तो, के नभएजस्तो एकप्रकारको तनावझैँ महसुस हुने ।

अनलाइन सर्च गर्ने क्रममा शुरुमै टाइम्स अफ इन्डियामा प्रकाशित ‘ह्वाट इज एन्ड्रोपोज अर मेन मेनोपोज’ शीर्षकको सामग्री भेटेँ । सन् २०१५ को अगस्टमा प्रकाशित उक्त सामग्रीमा ४० देखि ६० वर्षको बीचमा पुरुषको शरीरमा हर्मोनहरू असन्तुलित भई महिलालाई जस्तै गाह्रो हुने, तर महिलाको मेनोपोजमा चर्चा भए पनि पुरुषका बारेमा चर्चा हुने नगरेको उल्लेख रहेछ । न्युयोर्क टाइम्समा त सन् १९७३ मै मार्था विन्म्यान लेयरले ‘इज द्येर मेल मेनोपोज ?’ शीर्षकमा लामो लेख लेखेकी रहिछिन् । १९४७ मा अमेरिकामा ३० जना पुरुषको केस स्टडीसहित यससम्बन्धी अनुसन्धान प्रतिवेदन नै सार्वजनिक गरिएको रहेछ । जसले ४० देखि ६० वर्षका पुरुषमध्ये धेरैले हर्मोनको असन्तुलनका कारण शारीरिक र मानसिक कठिनाइ भोग्नुपरेको उल्लेख गरिएको रहेछ । युटुबमा पनि यस सम्बन्धमा टन्नै सामग्री रहेछन् । ४० काटेका केटा साथीहरूसँग यस विषयमा कुरा गर्दा आफू ती सबै समस्याबाट गुज्रिएको बताए ।

घटना अध्ययन गर्दा मेनोपोजको समय चलिरहँदा महिला र पुरुषले भोग्ने समस्यामा धेरै फरक नहुने रहेछ । पुरुषलाई पनि शारीरिक छटपटी हुने, मानसिक थकान र तनाव हुने, मुड परिवर्तन (मुडस्विङ) हुने, इरिटेसन हुने, शक्ति र उत्साहमा कमी आउने, निदाउन गाह्रो हुने (निद्रा नपर्ने), कुनै पनि कुरामा ध्यान केन्द्रित नहुनेलगायतका लक्षण उक्त उमेरमा देखापर्ने रहेछन् । महिनावारीका कारण महिलामा देखिने स्पष्ट लक्षणमा महिनावारी तलमाथि हुने, कहिले महिनामा दुईपल्ट, कहिले दुई महिनामा एकपल्ट हुने या केही लामो समयसम्म नहुने, कसैकसैको बढी रगत जाने हुँदा महिलाको हर्मोन असन्तुलनको पहिचान सहजै हुन्छ । तर, पुरुषको महिनावारी नहुने हुँदा आफूलाई भइरहेको छटपटीप्रति पुरुषहरू अनभिज्ञ हुने गरेको अनुसन्धानले देखाएका छन् । महिलाको हर्मोन असन्तुलन हुने कुरालाई मेनोपोज (रजनोवृत्ति) भन्ने गरिएको छ भने पुरुषलाई मेनोपोज र एन्ड्रोपोज दुवै भनिन्छ । उमेरजन्य यो समस्याबारे महिलाबीचमै पनि त्यति धेरै कुराकानी, छलफल हुन सकेको छैन ।

मेनोपोजको समय महिला–पुरुष दुवैका लागि कठिन समय हो । कसैका लागि यो धेरै पीडादायी हुने र कसैका लागि कम हुने रहेछ । कति महिला यो समयमा डिप्रेसनको सिकार भएका छन् । कतिलाई मानसिक तथा शारीरिक दुवै समस्या हुने गर्छ भने कतिलाई शारीरिक मात्रै पनि हुन सक्छ र कतिलाई केही नहुन पनि सक्छ । तर, केही समस्या नहुनेहरूको सङ्ख्या भने कमै हुन्छ । असुरक्षित महसुस गर्ने हुँदा महिला होस् या पुरुष यस्तो बेलामा पारिवारिक सहयोगको जरुरी हुन्छ । तर, यो संवेदनशील अवस्थालाई नबुझ्दा कतिपय पतिपत्नीको सम्बन्धमा दरार आउने गरेको पनि पाइएको छ ।

मेनोपोज उमेरका कतिपय महिलाले आफ्नो पतिको आत्मा भड्किएझैँ भएको भनी टिप्पणी गर्ने गरेका छन् । तर, त्यो आत्मा किन भड्किएको हो भन्ने थाहा भएको भए एक–अर्कामा समझदारी टुट्नुको साटो बढ्ने थियो भन्न सकिन्छ ।

पुरुषको हकमा आफूलाई के भएको हो भन्ने नबुझ्दै जीवन बितेर जाने रहेछ । यसमा जुन लक्षणहरू देखापर्छन् ती सुगर, प्रेसरका लक्षणसँग मेल खाने र उक्त उमेरमा धेरैमा यी रोगहरू देखापर्ने गरेका कारण प्रायः पुरुषले आफूलाई तिनै रोगहरूका कारण यस्तो भएको हो भन्ने निष्कर्ष निकाल्ने गरेको अनुसन्धानहरूले देखाएका छन् । यदि पुरुषहरूले आफूलाई मेनोपोज भएको जानकारी पाउने हो भने सोहीअनुरूप आफूमा आएको परिवर्तनको व्यवस्थापन गर्ने थिए होला भन्न सकिन्छ ।

‘मिडल एज क्राइसिस’को प्रमुख तत्व हर्मोन असन्तुलन महिला र पुरुष दुवैको समस्या हो । पुरुषहरूको हकमा यो समस्याबारे चर्चा नै हुने गरेको छैन । महिलामा हुने समस्याबारे पनि खुलेर बोल्ने गरिएको छैन । अधबैंसे उमेरमा हुने यो समस्यालाई घरपरिवार र साथीभाइबीच चर्चाको विषय बनाइनु जरुरी छ । आफूलाई के भएको हो भन्ने थाहा नपाई अन्योलमा पर्नु र यो भएको हो भन्ने थाहा पाएर सचेतता अपनाउनुबीच ठूलो अन्तर हुन्छ । मेनोपोज उमेरका कतिपय महिलाले आफ्नो पतिको आत्मा भड्किएझैँ भएको भनी टिप्पणी गर्ने गरेका छन् । तर, त्यो आत्मा किन भड्किएको हो भन्ने थाहा भएको भए एक–अर्कामा समझदारी टुट्नुको साटो बढ्ने थियो भन्न सकिन्छ ।

साथीहरूसँग बुझ्दा धेरैजसोले यस्तो कुरा पनि के भनिरहनु, मेनोपोज हुनुको अर्थ त बूढी हुनु हो, आफ्नो उमेर यति भयो भनेर अरूलाई किन जानकारी दिनु भन्ने सोच राखेको पाइयो । आफ्नो शरीरमा व्यापक परिवर्तनको प्रत्यक्ष महसुस भएपछि मैले आफू र आफूभन्दा बढी उमेरका साथी र दिदीहरूसँग कुराकानी गरेँ । उनीहरूमध्ये धेरैको अनुभव पीडादायी अवस्थाबाट गुज्रिएको थियो, तर उनीहरूले परिवारका सदस्य र साथीहरूसँग यो विषयमा खासै चर्चा गरेनन् रे । यस्तो कुरा पनि के गर्नु ? भन्ने सोच धेरैमा रहेको पाइयो । कतिलाई त डिप्रेसनको औषधि पनि खानुपरेको रहेछ ।

मानिसको शरीर पञ्च तत्वले बनेको हुन्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ– पृथ्वी, आकाश, पानी, हावा, आगो । यी सबै तत्व महिला–पुरुष दुवैमा हुने हुँदा त्यसमा उत्पन्न हुने असन्तुलनले शारीरिक र मानसिक क्रियाकलापमा प्रभाव पार्नु स्वाभाविक हुन्छ । यसलाई विशेष अवस्था मानी महिला–पुरुष दुवैले आफूले आफैँलाई सन्तुलनमा राख्न सके समस्याबाट मुक्ति सम्भव छ ।