असफल ‘तीन दीपक’ नैतिकताको कठघरामा !

असफल ‘तीन दीपक’ नैतिकताको कठघरामा !


– श्रीविक्रम भण्डारी

१८औँ एसियाली खेलकुद प्रतियोगितामा सम्भावित पदक जित्ने खेलको सूचीमा तेक्वान्दो, कराते र बक्सिङलाई प्रमुख रूपमा हेरिएको थियो । विगतका एसियाडमा नेपाललाई यिनै खेलले पदक दिलाएका कारण यी खेललाई विशेष प्राथमिकतामा राखिएको थियो । तर, विडम्वना ! १८औँ एसियाडमा यी तीनै खेल पूर्ण रूपमा असफल भएका छन् । उत्कृष्ट प्रदर्शन गरेर पदक जित्नु त परै जाओस् आफ्नो साख बचाउनसमेत असफल भए । परिणाम, एसियाडमा यी खेलले गरेको कमजोर र स्तरहीन प्रदर्शन यतिबेला नेपाली खेलवृत्तमा चर्चाको विषय बनेको छ । जसले यी खेलका खेलाडीलाई मात्र नभई प्रशिक्षक र सङ्घका पदाधिकारीहरूलाई समेत प्रश्नचिह्नको घेरामा पारेको छ । अझ युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले यी खेलहरूको कमजोर प्रदर्शनबारे गहिरिएर समीक्षा हुने भनेपछि यो चर्चा नौलो मोडमा पुगेको छ ।

आखिर किन भयो यस्तो लज्जास्पद प्रदर्शन ? अहिले आमखेलप्रेमीले गम्भीर रूपमा उठाएको प्रश्न हो यो । एसियाडमा सबैभन्दा बढी पदक जित्ने तेक्वान्दो विगत १२ वर्षदेखि किन एसियाडमा पदकविहीन बनिरहेको छ ? यो आफैँमा गम्भीर प्रश्न भए पनि गम्भीरताको गहिराइतर्फ पुग्ने प्रयास कसैले गरेको देखिँदैन । साँवाको ब्याज खानेले तेक्वान्दोको साखलाई दाउमा राखेर आफ्नो व्यक्तिगत स्वार्थ मात्र पूरा गर्दासमेत सम्बन्धित निकाय राखेपले आँखा चिम्लिनु अर्थात् अनदेखी र अनसुनी गर्नु दुर्भाग्य हो । जसले तेक्वान्दोमा रजाइँ गर्दै आएकाहरूलाई अझ बल प्रदान गरेको छ । जसको प्रभाव अन्तर्राष्ट्रिय खेलमा नराम्रोसँग परेको देख्न सकिन्छ । यसको उदाहरणको लागि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) र एसियाली खेलकुदलाई लिन सकिन्छ ।

आठौँ साफमा सर्वाधिक गोल्डमेडल जितेर कीर्तिमान बनाएको तेक्वान्दोले त्यसपछि एसियाली खेलकुदमा गरेको प्रदर्शन अविष्मणीय छ । तर, विडम्बना ! विगत १२ वर्षदेखि तेक्वान्दोले एसियाडमा गरेको प्रदर्शन कहालीलाग्दो छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा तेक्वान्दोको प्रदर्शन अघोगतितर्फ उन्मुख भएपछि तेक्वान्दो सङ्घले तेक्वान्दोका सर्वाधिक सफल खेलाडी दीपक विष्ट र संगीना वैद्यलाई राष्ट्रिय टिम हेर्ने जिम्मेवारी दिएको थियो । साँचो रूपमा भन्नुपर्दा दीपक र संगीनाले राष्ट्रिय टिमलाई प्रशिक्षण दिन थालेपछि तेक्वान्दोको स्तरमा सुधार आउनुको साटो उल्टै खस्किन पुगेको छ । इन्चोन एसियाडमा दोस्रोपटक पदकविहीन बनेको तेक्वान्दो १२औँ सागमा पहिलोपटक स्वर्ण पदकविहीन बन्यो । अहिले इन्डोनेसिया एसियाडमा पनि तेक्वान्दो पदकविहीन बनेर ह्याट्रिकको कीर्तिमान कायम गरेको छ । स्मरण रहोस्, दुवै एसियाड र सागमा तेक्वान्दो टोलीको प्रशिक्षक दीपक र संगीना थिए । अहिले तेक्वान्दो असफतासँगै उनीहरू पनि असफल प्रशिक्षक बन्न पुगेका छन् ।

त्यस्तै, करातेका प्रशिक्षक दीपक श्रेष्ठ पनि असफल प्रशिक्षकको सूचीमा परेका छन् । इन्चोन एसियाडमा करातेले एउटा पदक जिते पनि त्यो दीपकबाट प्रशिक्षित खेलाडीले जितेका थिएनन् । त्यसपछि १२औँ सागमा प्रशिक्षक जिम्मेवारी पाएका दीपकले यहाँ पनि करातेलाई स्वर्ण पदक दिलाउन सकेनन् । र पनि, १८औँ एसियाडमा दीपकलाई करातेको राष्ट्रिय टिमको प्रशिक्षक बनाइएको थियो, परिणाम कस्तो आयो सबैलाई घामजस्तै छर्लङ्ग छ । पदकको मुखमा पुगेर पनि कराते खेलाडीहरू कसरी असफल भए त्यो हेर्न लायक थियो । मेडल टचको खेलमा पाकिस्तानी खेलाडीलाई समेत पराजित गर्न नसक्ने रीता कार्कीको खेल साँच्चिकै अपसोच प्रकट गर्ने खालको थियो । त्यस्तै, १८औँ एसियाडमा बक्सिङको प्रशिक्षकको जिम्मेवारी सम्हालेका दीपक महर्जन पनि असफल प्रशिक्षक साबित भएका छन् । ग्वाङझाउ एसियाडमा नेपाललाई एउटा मात्रै कांस्य पदक जिताएर चर्चामा आएका दीपक इन्डोनेसिया एसियाडमा पूर्णरूपमा फ्लप भएका छन् । दीपकद्वारा प्रशिक्षक बक्सिङ खेलाडीले १८औँ एसियाडमा एउटै पनि खेल जित्न सकेनन् । सबै खेलाडी पहिलो राउन्डबाटै आउट भएका थिए ।

यसरी परिणामलाई मध्यनजर गर्दा ‘राम्रो खेलाडी राम्रो प्रशिक्षक हुन्छ’ भन्ने कुरामा प्रश्नचिह्न खडा गरेको छ । यसको अर्थ राम्रो खेलाडी राम्रो प्रशिक्षक बन्न सक्तैन भन्ने होइन, बन्न सक्छ । तर, नेपालको तेक्वान्दो, कराते र बक्सिङ खेलको हकमा यतिबेला यो कुरा लागू हुन सकेन । तीन दीपकसँगै संगीनासमेत असफल प्रशिक्षकको सूचीमा परेका छन् । जुन कुरालाई उनीहरूले प्रशिक्षण गरेको समयमा ती खेलले प्राप्त गरेको असफलताको नतिजाले प्रमाणित गरेको छ । यहाँ दुई दीपक (विष्ट, श्रेष्ठ) र संगीनाले कुनै बहाना बनाउनु त्यो खेलकुदलाई गुमराहमा राख्ने काम मात्रै हुनेछ । यसर्थमा कि उनीहरूले प्रशिक्षणको लागि लामो समय पाएका थिए । सो समयमा केही गरेर देखाउन सक्थे, तर उनीहरू यसमा नराम्रोसँग चुकेका छन् । एक दशकको समय आफैँमा पर्याप्त हुन्छ केही गरेर देखाउन । हो, समयको झटारोले गर्दा उनीहरूले नियमित रूपमा प्रशिक्षण गर्न नपाएका हुन सक्छन् । तर, विषम परिस्थितिमा पनि जुन विश्वास उनीहरूमाथि गरिएको थियो त्यसमा उनीहरू खरो उत्रिन सकेनन् । नेपालको खेलकुदमा कति राजनीति हुन्छ र कति छिटै खेलकुदको मौसम बदलिन्छ त्यसको ज्ञाता हुन उनीहरू । यस्तो अवस्थामा समयको साँचोलाई कहाँ र कसरी ढाल्नुपर्ने थियो त्यसको अवसर उनीहरूले पाएका थिए, तर किन चुके अहम् प्रश्न बनेको छ । अर्का दीपक (महर्जन) ले बक्सिङको कमान सम्हालेको धेरै समय नभए पनि उनका तीरहरू एसियाडमा भुत्ते साबित भएका छन् । उनको प्रशिक्षण कस्तो रह्यो र थियो त्यो बक्सिङ खेलाडीले एसियाडमा गरेको प्रदर्शनवाटै अनुमान लगाउन सकिन्छ ।

समयअनुसार सबै परिवर्तन हुनुपर्छ, एउटा व्यक्तिलाई सधैँभरि एउटै जिम्मेवारी दिँदा भोलि त्यो तानाशाह पनि बन्न सक्छ । नेपाली खेलकुदमा यस्ता उदाहरणहरू थुप्रै छन्, यतिबेला त्यसलाई कोट्याउनुभन्दा नकोट्याउनु नै राम्रो होला । जहाँसम्म तीन दीपक र संगीनाको कुरो छ, अब खुद उनीहरूले आफूले आफैँलाई विश्लेषण गर्ने अवस्थाको सिर्जना भएको छ । साँचो रूपमा भन्नुपर्दा अरूलाई पनि अवसर दिने बेला भएको छ । विजय, पराजय, सफलता, असफलता खेलकुदका दुई पाटा भए पनि नैतिकताले के भन्छ त्यसमा स्वविवेक प्रयोग गर्नुपर्ने देखिएको छ । यसको लागि अन्यलाई मार्ग प्रसस्त गरेर मात्रै होइन, मार्ग निर्देशक बन्नुपर्ने अहिलेको चुनौतीसमेत बनेको छ । अब उनीहरू यसका लागि मानसिक रूपमा कति तयार हुन्छन् र परिवर्तनलाई आत्मसात् गर्छन् त्यो प्रतीक्षाको विषय बनेको छ । अब पनि साँवाको ब्याज खाने रूपमा उनीहरू प्रस्तुत भए त्यो दीपकहरूको लागि मात्र नभई नेपाली खेलकुदका लागि समेत दुर्भाग्य हुनेछ । किनकि साँवाको ब्याज नेपाली खेलकुदले उनीहरूलाई कहिलेसम्म खुवाउने त्यसको पनि लेखाजोखा हुनेछ । त्यसैले कुनै विवादमा पर्नुभन्दा आफूलाई कसरी सेफल्यान्डिङ गर्ने त्यो बुद्धिमानी ठहरिनेछ ।

नेपालले एसियाडमा उत्कृष्ट प्रदर्शन गर्न नसक्नुमा प्रशिक्षक मात्रै दोषी छैनन् । सम्बन्धित निकाय सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेप पनि उत्तिकै दोषी छन् । कोदो रोपेर धानको आशा गर्ने सम्बन्धित निकायले परिवर्तित समयअनुसारको उचित व्यवस्था गरेको भए सायद एसियाडमा नेपालको यस्तो दयनीय प्रदर्शन कदापि हुने थिएन । तर, यसो भन्दैमा सङ्घका पदाधिकारी र प्रशिक्षकहरूले उम्कनचाहिँ पाउँदैनन् । उनीहरूले जुन रिपोर्टिङ राखेपलाई गराएका थिए त्यसमा उनीहरू चुकेका छन् । नेपालले एसियाडमा जति पनि पदक जितेको छ, त्यो राज्यले विशेष तयारी गरेर जितेको होइन । सीमित साधनस्रोतमा पनि खेलाडी र प्रशिक्षकको मिहिनेतले जितेका हुन् । त्यसैले अहिलेको तयारी पनि त्यस्तै थियो, तर किन पदक जित्न असफल भए, त्यो चुरो कुरो हो । यसमा सबै गम्भीर बन्नुपर्छ, आफ्ना कमी–कमजोरीहरूलाई लुकाउनुको साटो सत्यतालाई आत्मसात् गरे खेलकुदको कल्याण हुने देखिन्छ ।