पुग्दैन किताबी पढाइले, व्यावहारिक शिक्षा आवश्यक

पुग्दैन किताबी पढाइले, व्यावहारिक शिक्षा आवश्यक


– रसना ढकाल

घटना नम्बर १

गत हप्ता कामविशेषले जिल्ला अदालत बबरमहल जाँदै थिएँ । अदालतअघि रहेको जेब्राबाट क्रस मात्र गर्न लागेकी थिएँ, एक्कासि पछाडिबाट आवाज आयो– ‘एस्क्युज मी म्याम, क्यान यु हेल्प मी ?’

झसङ्ग भएँ । कारण– एउटा केसमा केही व्यक्ति मेरो फलो पनि गरिरहेका थिए । कहीँ त्यहीमध्येका व्यक्ति त होइनन् ? भन्ने ख्याल मेरो मनमा आयो र पछिल्तिर फर्किएँ । भर्खरकी नानी रहिछिन् । मैले ‘किन ?’ भन्ने प्रश्नका साथ भनेँ, ‘नानी म नेपाली हुँ, मसँग नेपालीमै कुरा गर ।’ यति भनेपछि उनी मसँग नेपालीमै बोलिन् र भनिन्, ‘म्याम मेरो नागरिकता बनाउनुपर्ने छ । मेरो नागरिकता भएन भने पासपोर्ट बन्दैन । म बाहिर पढ्न जान पाउँदिनँ ।’ उनको प्रश्नमा मैले भने, ‘नागरिकता बनाउन केही कठिन छैन, सम्बन्धित निकायमा जाऊ, कागजी प्रक्रिया पूरा गर, नागरिकता बनिहाल्छ ।’

उनीसँग बुबाआमा दुवैको नागरिकता रहेछ । तर, कहाँ बन्छ त्यो ठाउँ भने थाहा रहेनछ ।

कुरा गर्दै जाँदा उनले मलाई सडक विभाग कार्यालय देखाउँदै भनिन्, ‘ऊ त्यो अफिसमा बनाउँछ नि नागरिकता । हिँडनुस् न मलाई हेल्प गर्न ।’

म अकमक्क परेँ । उनले सडक विभागको भवन देखाउँदै नागरिकता बनाउने स्थान भनिन् । उनलाई सोधेँ, ‘नानी तिमीले कति पढेकी छौ ?’ यो प्रश्न गर्न मलाई उनको हाउभाउले नै बाध्य बनाएको थियो । उनको हाउभाउ, उनले बोलेका ती शब्द यस्तो लाग्दथ्यो कि तिनीलाई नेपाली बोल्न आउँदैन, केवल अङ्ग्रेजी मात्र जानेकी छिन् ।

त्यसपछि मैले उनलाई नागरिकता सडक विभागमा होइन, जिल्ला प्रशासनमा बन्छ । जाने बाटो यो हो यतैबाट जाऊ भने । त्यसको प्रतिउत्तरमा उनले भनिन्, ‘दिदी नागरिकता त सडक विभागमा बनाउने होइन र, तपार्इंले मलाई कता लगिरहनुभएको छ ?’ उनको त्यो प्रश्नले अनेकाँै प्रश्न मेरो मनमा जन्मायो । १२ कक्षाको पढाइ पूरा गरेर विदेश जाने उनको योजना रहेछ । उनी फेरि भन्दै थिइन्, ‘म्याम मेरो ड्याडले भनिस्या, छोरी तिमीलाई म नेपालमा कुनै पनि हालतमा राख्दिनँ । तिमीलाइ विदेश पठाउँछु ।’ उनको यो कुरा सुनेर हाँसो लाग्यो । तर, उनको त्यो शिक्षाको पछाडि देखिएको अशिक्षामा ध्यान केन्द्रित भयो । उनीसँग मेरो निकैबेर कुरा भयो । किताबी ज्ञान त रहेछ, तर यसको पछाडि चाहिने व्यावहारिक ज्ञान भने रहेनछ । जुन ज्ञानको आवश्यकता हामीलाई कदम–कदममा पर्छ ।

यस्तो समस्या अहिले सबैको घरमा छ । आफ्ना नानीहरूको सुन्दर भविष्य हरेक बुबाआमाको चाहना हुन्छ । त्यो भविष्य कहाँ गएर निर्धारण हुन्छ भन्दै अभिभावकले ठूलाठूला स्कुल र कलेजमा आफ्ना बच्चाहरू पढाउँछन् । उच्च शिक्षा हासिल गर्न अभिभावकहरू जस्तोसुकै जोखिम मोल्न तयार हुने गर्छन् । देश–विदेशको स्कुल र कलेज सबै ठाउँमा छोराछोरीको भविष्य खोज्छन् । तर, जहाँ गएर बच्चाहरू पढाए पनि उसमा अलिकति भए पनि व्यावहारिक ज्ञान छैन भने त्यो शिक्षा शिक्षा होइन, अशिक्षामै सीमित हुन्छ ।

घटना नम्बर २

सार्वजनिक यातायातको अघिल्लो सिटमा बसेका एक विद्यार्थी फोनमा गफ गर्दै थिए । उनले आफूले बोलेका शब्दैपिच्छे मेरो बाउले त क्या ¥याक गर्छ, आमा त्यस्तै छिन् भन्ने शब्द दोहोऱ्याइरहेका थिए । घाँटीमा टाई लगाएका उच्च शिक्षण संस्थामा पढ्ने विद्यार्थी देखिन्थे । तर, उनको बोलीवचन यति धेरै रुखो थियो कि शब्दैपिच्छे नराम्रो थियो । गाडीमा रहेका अरू यात्रुले उनका बाबुआमालाई भनेको शब्द सुनेर गाली पनि गरे । तिनी एघार कक्षा पढ्दै गरेका रहेछन् । आफ्नी केटीसाथीसँग घुम्न नपाएको झोक उनले फोनमा साथीलाई सुनाउँदै थिए । हरेक शब्द अङ्ग्रेजीमा भनिरहेका थिए । गाडीमा चढेका धेरै यात्रुले उनले बोलेको शब्द बुझे । त्यसपछि उल्टै तिमी कुन स्कुलमा पढ्छौ, हिँड त्यो स्कुलमा तिम्रो सर र म्यामलाई हामी गाली गर्छौँ भन्दै थिए । तर, ती विद्यार्थी उल्टै ती व्यक्तिसँग तपाईंहरूलाई के मतलब भन्दै कराउँदै थिए ।

कहीँ आफ्नो देशको प्रशासनिक निकाय थाहा नभएका युवापुस्ता छन् भने कतै आफ्ना बाबुआमालाई तथानाम शब्द बोल्ने पुस्ता छन् । माथिका दुई घटना सबैले दिनहुँ आफ्नो जीवनमा देख्दै आएको घटना हुन सक्छ । भनिन्छ– हरेक घटनाले सबैको जीवनमा नयाँ कुराको शुरुवात गर्छ । सायद यस्तै होला यस्ता प्रकारका घटनामा । समय बदलिएको छ । आजभन्दा २० वर्ष पहिलेको शिक्षा प्रणाली र आजको शिक्षा प्रणालीमा जमिन–आकाशको फरक आएको छ ।

शिक्षाको मापन डिग्रीले होइन, व्यावहारिक पक्षले गर्छ । विदेशी भाषालाई रोक्नुपर्छ भन्न खोजिएको चाहिँ होइन । हाम्रा लागि विदेशी भाषा जति प्यारो भयो त्यो भन्दा ज्यादा माया आफ्नो राष्ट्रिय भाषालाई गर्नुपर्छ । हामीलाई आफ्नो चाडपर्वको ख्याल हुँदैन, तर अरूको पर्व कहिले आउँछ भनेर औँला गन्न शुरु गर्छौं । यसबाट कस्तो भविष्यको निर्माण गर्न खोज्दै छौँ– आफैंलाई प्रश्न गरौँ ।

आजका बच्चा प्रविधिको युगमा जन्मिएका हुन् । उनीहरूलाई धेरै कुरा प्रविधिले नै सिकाएको छ । नयाँनयाँ कुरा सिक्नु, जान्नु एकदमै आवश्यक छ । तर, आफ्नो अस्तित्वलाई नै मेटेर अरूको भाषाशैलीमा रमाउनुचाहिँ एकदमै गलत कुरा हो । यसले गर्दा आफ्नो मौलिता हराउने, बच्चाहरूमा व्यावहारिक ज्ञानको अभाव हुने, कसैले केही भन्यो भने नराम्रोसँग जवाफ दिने । यस्ताप्रकारका व्यवहारबाट घर नै तनावग्रस्त हुन सक्छ ।

हाम्रो मूल्य–मान्यता छ– शिक्षाको ज्योतिले व्यक्तिको जीवनमा परिवर्तन आउन सक्छ वा अँध्यारोबाट उज्यालो प्रदान गर्न सक्छ । तर, आफ्नो नेपाली भाषाशैलीलाई थाती राखेर विदेशी भाषाको प्रयोग गर्दा नेपाली शब्द र संस्कृतिलाई नै प्रहार गरिरहेको हुन्छ । शिक्षाको मापन डिग्रीले होइन, व्यावहारिक पक्षले गर्छ । यति भनिरहँदा विदेशी भाषालाई रोक्नुपर्छ चाहिँ भन्न खोजिएको होइन । हाम्रा लागि विदेशी भाषा जति प्यारो भयो त्यो भन्दा ज्यादा माया आफ्नो राष्ट्रिय भाषालाई गर्नुपर्छ । अहिले देशभरि नै खुलेका स्कुल–कलेजमा पढाइको साथै धेरै व्यावहारिक शिक्षा पढाउनुपर्ने आवश्यकता देखिन्छ ।

देशमा के भइरहेको छ ? देशको इतिहास के हो ? कुन ठाउँमा जाँदा नागरिकता र पासपोर्टजस्ता अत्यावश्यक कागजपत्र बन्छन् ? यस्तो शिक्षा प्रणालीको आवश्यकता छ हामीकहाँ । पढाइको साथै अनेकन संस्कृतिहरूले पनि हामीलाई छोएको छ । आफ्नो चाडपर्वको ख्याल हुँदैन, तर अरूको पर्व कहिले आउँछ भनेर औँला गन्न शुरु गर्छौं । यसबाट हामी कस्तो भविष्यको निर्माण गर्न खोज्दै छौँ– त्यो हामीले आफँैलाई प्रश्न गर्नु आवश्यक छ । पढाइ जति बढी ग¥यो त्यति ज्ञान बढ्ने हो । ज्ञान समुद्रझैँ विशाल हुन सक्छ । त्यसैले जति पढ्यो त्यति राम्रो भनिएको हो । यति हुँदाहँुदै पनि किताबी पढाइको साथै व्यावहारिक शिक्षाको पनि त्यत्तिकै ठूलो महत्व रहन्छ ।