गाईजात्रे लामाबारे थप जानकारी चाहियो

गाईजात्रे लामाबारे थप जानकारी चाहियो


नेपाली राजनीतिमा असम्भव केही छैन भन्छन्, केही समयदेखि यो भनाइ चरितार्थ पनि हुँदै आएको छ । यो मुलुकमा जे हुनुपर्ने हो त्यो भइरहेको छैन र जे नहुनुपर्ने हो त्यही भइरहेको देखिन्छ । नेपाली राजनीतिक इतिहासमा घटिराख्ने घटनामध्ये खनाल-मन्त्रिपरिषद्मा हालै घटेको कहीँकतै कसैले राजनीतिक मैदानमा नामै नसुनेका र अर्थ मन्त्रालयमा बिरलै राज्यमन्त्री हुने ठाउँमा नियुक्ति पाएका ल्हारक्याल लामा नामका व्यक्ति मन्त्री बन्नु पनि एक हो । एमाले कार्यकर्ताहरूलाई नै अचम्भित पार्ने ती व्यक्तिले राजीनामा दिइसकेका भए पनि तिनलाई मन्त्री बनाउँदा ठूलो आर्थिक चलखेल भएको कुराको चर्चा भने जारी नै छ, सम्भवत: यसको एउटा निक्र्योल नभएसम्म जारी नै रहनेछ । ल्हारक्याल लामा एक रहस्यमयी र चतुर खेलाडी हुन् भन्ने त ठहर भइसकेकै छ, यिनी एमाले अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालका विश्वासपात्र चहेताचाहिँ कसरी र किन भए भन्ने रहस्यको पाटो उजागर हुन बाँकी छ । यो सवालको जवाफ खोज्नैपर्छ ।
विगतमा गुम्बा विकास कोषको अध्यक्ष हुँदा पनि तत्कालीन सदस्यसचिव तथा एमाले कार्यकर्ता निमा शेर्पासँग खटपट परेर लामा अख्तियार धाउन बाध्य भएका थिए । साउथ इन्डियाको मैसुरी भालुकुपीमा भिक्षुको अध्ययन गरेका उनी त्यहाँ पनि आफ्नै गुरुको लेटरप्याड दुरुपयोग गरी मानवतस्करी धन्दा गरेर अकुत आर्थिक उपार्जन गरेका, भिक्षुको भेषमा विदेशी भिक्षुणीहरूसँग अनैतिक सम्बन्ध राखेका कारण कारबाहीमा समेत परेका व्यक्ति हुन् । अध्ययन नै पूरा नगरीकन खेन्पोको उपाधि बेचेर हिँड्ने लामा साथीभाइमाझ हास्यको पात्र त हुँदै हुन् । एउटा बुद्धिष्ट तपश्वीको नाममा विभिन्न शैक्षिक संस्था स्थापना गर्नुको साटो बौद्ध वरिपरि होटेल तथा गेस्टहाउस व्यवसाय चलाएर यौनेच्छा पूरा गरेको आरोप पनि उनीमाथि यसै लागेको होइन । यस्ता ‘औतारी लामा’का बारेमा घटना र विचारले समाचार छापेर राम्रो काम गर्‍यो भन्ने मेरो ठहर छ, यिनीबारे अझै खोजी गरेर सत्यतथ्य प्रकाशमा ल्याइयोस् र प्रधानमन्त्री खनालसँग गाईजात्रे पात्र ल्हारक्यारको सम्बन्धबारे पनि थप छानबिन गरी समाचार सार्वजनिक गरियोस् ।
-अंशुघोष, स्वयम्भू, काठमाडौं