कम्युनिष्टबाट देश बन्दैन : चिन्तन पौडेल

2.3K Shares

पछिल्लो समयमा चिन्तन पौडेल मुलुकमा बेग्लै ढङ्गले सक्रिय हुँदै आएका छन् । सुशील कोइराला प्रधानमन्त्री पदमा रहँदा गरिब घर परिवार सहयोग समन्वय बोर्डको कार्यकारी उपाध्यक्ष भएर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका उनले बीई र एमबीए गरेका छन् । युवाहरूलाई कसरी रोजगार बनाउन सकिन्छ भन्ने विषयमा अनेक योजना र कार्यक्रम लिएर देश दौडाहा गरिरहेका चिन्तन बाह्रौँ महाधिवेशनमा नेपाली काङ्ग्रेसको प्रतिनिधिका रूपमा बेलायतबाट सहभागी भएका थिए । हाल काङ्ग्रेसले चिन्तनलाई कुनै औपचारिक जिम्मेवारी दिएको छैन, पार्टीको एक क्रियाशील सदस्यको हैसियतमा मात्र उनी छन् । वि.सं. २०३७ कात्तिक १५ गते तनहुँको रिस्तीमा जन्मिएका चिन्तन पौडेल काङ्ग्रेस नेता रामचन्द्र पौडेलको सुपुत्रका रूपमा मात्र नभई आफ्नै कर्म र क्षमताका आधारमा स्थापित हुन प्रयत्नशील रहेको उनका क्रियाकलापहरूले दर्शाएको छ । काङ्ग्रेसको वागडोर सम्हाल्न सक्ने क्षमताका चिन्तन पौडेलसँग घटना र विचारले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

० चिन्तनजी, पछिल्लो चरणमा तपाईं पार्टीमा निकै सक्रिय हुनुहुन्छ, पिताजीको चुनावी पराजयपछि अब उत्तराधिकार आफूले लिनुपर्छ भन्ने सोच हो ?
– पार्टीको भन्दा पनि मलाई नेपालमा सामाजिक अभियान सञ्चालन गर्ने इच्छा जागेको हो । पार्टीलाई पनि फाइदा पुऱ्याउने, तर युवाहरूको मुद्दामा केही बोल्नुपर्छ भन्ने अवधारणाका साथ काम शुरु गरेको छु । बुबाको विरासतको उत्तराधिकारी भन्ने सवालमा भन्नुपर्दा त्यसरी सोचिएको छैन । वास्तवमा म अहिले कुनै पार्टीको संरचनाभित्र पनि छैन । तसर्थ, अहिले नै यो प्रश्न गर्न मिल्छ जस्तो लाग्दैन ।

० तपाईंलाई काङ्ग्रेस पार्टीको कार्यकर्ता भन्न मिल्छ कि मिल्दैन त ?
– पार्टीको शुभचिन्तक हुँ, १२औँ महाधिवेशनमा त प्रतिनिधि पनि थिएँ । त्यसपछि अहिले म पार्टीको कुनै पोर्टफोलियोमा छैन । पार्टीको कुरा आफ्नै ठाउँमा छ, पार्टीभन्दा पनि देशको लागि काम गर्नुपर्छ र यसका लागि युवाहरूसँग जोडिएको सवाल वा मुद्दाको उठान गर्नुपर्छ भन्ने धारणाका साथ म अघि बढ्दै छु ।

० युवाहरू भनेकोचाहिँ को नि ?
– १८ वर्षभन्दा माथि र चालीसभन्दा कम उमेर समूहका नागरिक, जो आ–आफ्नो योग्यता–क्षमताअनुसारको रोजगारीको आकाङ्क्षी छन् या केही गरिरहेका छन्, मैले युवा भनेर त्यो तप्काका नागरिकतर्फ इङ्गित गर्न खोजेको हुँ । त्यो सक्षम जनशक्तिको आवश्यकताबारे बुझेर केही कन्ट्रिब्युट गरुँ भन्ने अभियानमा म छु ।

० कसरी कन्ट्रिब्युट गर्नुहुन्छ नि, के छन् तपाईंसँग योजना ?
– युवाले झेलिरहेका अवरोध, असुविधा र विविध समस्याबारे वकालत गर्ने, सचेतना अभियान जगाउने अभिप्राय हो मेरो । नेपालमै रोजगारीको अवस्था सिर्जना गर्न सकिएको थियो भने ४०–५० लाख युवा जनशक्ति पासपोर्ट बोकेर विदेशमा छरिन पुग्ने थिएनन् । नेपालमा रोजगारी सिर्जनाका लागि, यहीँ पर्याप्त अवसर पैदा गर्नका लागि केही कार्य गर्नुपर्छ भन्ने हरदम लागिरह्यो । यस सन्दर्भमा भन्नुपर्दा माओवादी द्वन्द्वका कारण हाम्रा गाउँघर खाली हुने र शहरमा बसोबास बढ्ने अवस्था पैदा भयो । गाउँबाट शहर छिरेकाहरू पनि कामकै लागि बिदेसिने लहर उर्लिन पुग्यो । यसरी खाली हुन पुगेका गाउँबस्तीलाई सदुपयोग गर्ने एजेण्डा अवलम्बन गर्नुपर्छ भन्ने धारणा हो मेरो । यसका लागि गाउँमा बाँझो रहेका जमिनमा उत्पादनमूलक तथा व्यावसायिक कृषि फार्महरूको शुरुवात गरिहाल्नुपर्छ । गाउँमा रहेको समुदाय या जे–जति जनशक्ति छन्, समूह बनाएर तिनलाई विभिन्न तालिम दिनुपर्छ । हामीले पाइलट प्रोजेक्टको रूपमा यस्ता कार्य शुरु गरेका पनि छौँ ।

० कृषि उत्पादनमै केन्द्रित भएर काम गर्नुपर्छ भन्ने सोच हो तपाईंको ?
– सामाजिक उत्तरदायित्वको सवालमा उद्यमशीलतालाई जोड दिने पनि हाम्रो अभियानको एउटा पाटो हो ।

० तपाईंको योजनालाई सरकार अनि तपाईंले सहानुभूति राखेको पार्टीले चाहिँ कसरी लिएको छ नि ?
– मैले त आफ्नो सानो तहबाट परिवर्तनको एउटा जग बसाल्न खोजेको मात्र हुँ । उद्यमशीलतामा अग्रसर तुल्याउने, खाली जमिनमा कहीँकतै समुदायभित्रका समूहलाई अभिप्रेरित गर्दै कुनै परियोजना लागू गर्ने कुरा नमुनाको रूपमा हामीले आरम्भ गर्न लागेका हौँ । यसबाट भविष्यमा बाह्य निकासीसमेत गरेर डलर आर्जन गर्न सकिने सम्भावना रहेको छ । हुन त यस्ता काम गरेका छौँ भनी दाबी गर्ने अनेक व्यक्ति, समूह, संस्था र खासगरी एनजीओ–आईएनजीओहरू पनि देखिएका छन् । तर, उनीहरूले त्यसलाई ठोस रूपमा टुङ्गोमा पुऱ्याउन या प्रतिफल प्रदान गर्ने अवस्थामा पुऱ्याएका पाइँदैन । हामीचाहिँ प्रतिफल देखाउने अभीष्टका साथ लागपरेका छौँ ।

० कति समयमा कति मानिसलाई रोजगारी दिने सोच छ त तपाईंसँग ?
– अहिले शुरुवाती चरणमा छौँ हामी । खास–खास प्रोजेक्टलाई सफलताको अवस्थामा पुऱ्याउन चार–पाँच वर्ष लाग्न पनि सक्छ । तर, प्रोजेक्ट शुरु गरेका गाउँ–ठाउँमा अहिले सय–डेढ सयजनालाई मात्र रोजगारीमा लगाउन सकियो भने पनि समाजलाई उत्पादनमुखी बनाउन त्यो महत्वपूर्ण कदम ठहरिनेछ भन्ने मलाई लाग्छ ।

० तपाईं जे गर्ने सोच बनाउँदै हुनुहुन्छ या जे गरिरहनुभएको छ, त्यो पार्टीसँग नजोडिईकन नै गरिरहेको हो त ?
– पार्टीसँग नजोडिईकन नै यो गरिएको हो । तर, काम या कार्यक्रम अघि बढ्दै गर्दा पार्टीमा आबद्ध साथीहरू पनि हामीसँग हुनुहुन्छ । उहाँहरूको सहयोगबाटै यो टिम बनिरहेको छ । यसलाई अब पार्टीसँग आबद्धता रहेको ठान्ने या नठान्ने, जसले जसरी बुझ्ने हो बुझ्न सक्छन् ।

० काङ्ग्रेस पार्टी यतिबेला आफ्नै ज्यान धान्न नसक्ने अवस्थामा पुगेको ठानिँदै छ, यस्तो पार्टीले तपाईंको यो महत्वपूर्ण अभियानमा मद्दत पुऱ्याउन सक्ला भन्ने ठान्नुहुन्छ ?
– नेतृत्वको कमजोरीका कारण अलिकता पछाडि परेजस्तो भए पनि नेपाली काङ्ग्रेस ठानिएझैँ अप्ठ्यारो या कमजोर अवस्थामा छैन भन्ने मेरो बुझाइ छ । नेतृत्व परिवर्तनसँगै काङ्ग्रेसभित्र पनि केही परिवर्तन देखिएको अवस्था हो । नेपाल राष्ट्र र नेपाली जनतालाई नेतृत्व गर्ने, नेपालीलाई न्याय दिने पोजिसनमा काङ्ग्रेस छिट्टै नै अगाडि आउँछ भन्ने मलाई लाग्छ । खुलस्त भन्नुपर्दा हामीले जुन अभियान सञ्चालनको कुरा गरेका छौँ, यसबाट पनि काङ्ग्रेसकै मजबुतीको लागि एउटा–दुईवटा इँटा थपिनेछ भन्ने लाग्छ । सामाजिक विकासबाट नै आर्थिक समृद्धि आउँछ भन्ने महामानव बीपीको समाजवादी चिन्तन वा आदर्श थियो, सोही समाजवादी नीतिलाई हामीले मूल नीति बनाउनुपर्छ भनेर म लागेको हुँ ।

० समाजवादको कुरा त काङ्ग्रेसभन्दा कम्युनिस्टले नै राम्रोसँग बोकेको छ, होइन र ?
– कम्युनिस्टले बोक्ने मात्रै हो, कहिल्यै गर्दैन । कम्युनिस्टले समाजवादको कुरा गरेर गरिब बनाउँछ, समानताको कुरा गरेर गरिबलाई झन् गरिब र धनीलाई झन् धनी तुल्याउने कर्म हो उनीहरूको । अहिले जो ट्याक्ससेसनको चर्चा छ, यसैमा हेरौँ न– धनीको कोष काट्ने होइन कि मध्यमवर्ग या गरिबलाई सताउने नै नीति देखियो नि मुखले मीठा कुरा गरे पनि । साना व्यवसायीलाई धेरै ट्याक्स लगाएर साना उद्योगहरू बन्द गराउने र झन् गरिबीको अवस्थामा धकेल्ने सरकारको पोलिसी देखियो । त्यसैले, कम्युनिस्टबाट गरिबको हित हुने काम हुन सक्दैन, काङ्ग्रेसले नै यो काम गर्नुपर्छ भनेर पनि म लागेको हुँ ।

० काङ्ग्रेसले कम्युनिस्टलाई जन्मदेखि नै गाली गर्दै आयो, तर कम्युनिस्टको आकारचाहिँ बढेको बढ्यै छ, यस्तो अवस्थामा तपाईंहरूले यसो भन्नुको कुनै अर्थ छ र ? जनताले सुन्छन् ?
– जनताले सुन्छन्, बुझ्छन् र देख्छन् पनि । कम्युनिस्टले झुटो नारा मात्र दिनेरहेछ, तर काङ्ग्रेसले जति सक्छ काम नै गर्ने रहेछ भन्ने सिद्ध हुँदै आएको छ । हरेक परिवर्तनको नेतृत्व गरिआएको पार्टीलाई रुढीवादी दल भन्ने आरोप कम्युनिस्टले लगाए पनि अब जनताले बुझ्न थालेका छन्, बुझ्नेछन् । अब राजनीतिक मुद्दाहरू सकिएर विकास र समृद्धिको मार्गमा अघि बढ्नुपर्ने अवस्थामा पनि कम्युनिस्टहरू आफ्नै एजेन्डामा छन् । यही मौकामा आफ्नो समाजवादी नीतिलाई अब काङ्ग्रेसले अभियानकै रूपमा अघि सार्नुपर्छ ।

बीपीको मूल नीति या विचार भनेको समाजवाद मात्रै हो ?
– होइन, बीपीले समाजवादको कुरा गर्नुभयो, राष्ट्रवादको कुरा गर्नुभयो, उहाँले लोकतन्त्रको कुरा गर्नुभयो । लोकतन्त्र आइसक्यो, अब राष्ट्रवाद पनि हामीले धेरै चर्काइरहनुपरेन, किनकि सबै नेपालीले मुलुकको माया गर्छन् र हाम्रो देश सार्वभौम राष्ट्र हो । त्यसैले अब समृद्धि नै मूल लक्ष्य हुनुपर्छ । बीपीले चाहेको पनि सबै नेपालीको समृद्धि नै हो ।

० बीपीले राजा र कम्युनिस्टको कुरा आउँदा कम्युनिस्टलाई छोड्नुपर्छ, बरु राजासँग नै समझदारी बनाउन सकिन्छ भनेर भनेकाचाहिँ नबुझेरै बोलेका रहेछन् कि कसो हो ?
– राष्ट्रवादकै कुराले उहाँले त्यसो भन्नुभएको हो । बीपीलाई नेपालप्रति अगाध माया थियो । नेपाल देशलाई नै कतै कम्युनिस्टहरूले तहसनहस तुल्याउलान्, कतै अप्ठ्यारोमा पार्लान् कि, बेची नै देलान् कि भन्ने चिन्ता थियो । त्यसैले बीपीले राष्ट्रवादको सवालमा चाहिँ राजाहरूले नै बरु धोका दिँदैनन्, तिनले देशलाई आफ्नो ठान्छन् भन्ने मान्यता राख्नुभएको हो । सारमा बीपीको धारणा भनेको देश सार्वभौम रहनुपर्छ र जनता समृद्ध बन्नुपर्छ भन्ने नै हो ।

० बीपीका अरू सबै विचार छोडेर तपाईंचाहिँ समाजवादी विचारलाई मात्र अँगालेर हिँड्ने धुनमा लाग्नुभएको हो ?
– मैले देश–विदेश देखे–भोगेको आधारमा भन्नुपर्दा राज्यले जनताको आधारभूत आवश्यकताको पनि ग्यारेन्टी गर्न सकिरहेको अवस्था छैन । सामान्य स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, बाटोघाटोजस्ता आधारभूत आवश्यकताका कुरा उपलब्ध गराउने सवालमा सरकारको कमजोरी छर्लङ्ग छ । राज्य जुन कुरामा कमजोर देखिएको छ यसैमा केही गर्नुपर्छ भन्ने लागेको हो ।

० कम्युनिस्टकै कारण मात्र देशको यस्तो हविगत भएको भन्न मिल्छ ? तपाईंले शुभ चिताइरहनुभएको दलका सभापति शेरबहादुर देउवा चार–पाँचपटक प्रधानमन्त्री बने, तपाईंकै बुबा जो काङ्ग्रेसको दोस्रो वरीयतामा हुनुहुन्छ, उहाँ पनि चौध–पन्ध्र वर्ष सत्तामै रहनुभयो, त्यो नेतृत्वले त्यत्तिका समय पाउँदा पनि किन कुनै परिवर्तन ल्याउन नसकेको होला नि ?
– तथ्याङ्कलाई यदाकदा बङ्ग्याएर प्रस्तुत गर्ने या बुझ्ने गर्छौं हामी । वास्तवमा ०४६ सालपछिको कुरा गर्ने हो भने काङ्ग्रेस मात्र सत्तामा रह्यो भनेर जुन भन्ने गरिन्छ, तथ्यमा यो होइन, बरु एमाले नै बढी समय सत्तामा रह्यो होला । काङ्ग्रेस या अरू दलसँग संयुक्त सरकारमा रहेको हिसाब गरेर म यो भन्दै छु । पूर्वएमाले पार्टीबाट मात्र कतिजना प्रधानमन्त्री भइसके, हेरौँ न । काङ्ग्रेसको समस्याचाहिँ एउटैले अवसर छोपिरहने पनि देखियो । तर, सत्तामा काङ्ग्रेस मात्रै थियो भन्ने होइन ।

० परिवर्तन आउँछ देशमा भन्नेमा आशावादी हुने ठाउँ त देखिएन नि, के भन्नुहुन्छ ?
– आशावादी हुनुपऱ्यो ।

० कसरी आशावादी हुने ? काङ्ग्रेसको पहिलो मात्र नभई दोस्रो–तेस्रो पुस्तासम्मकै पात्रहरूले सही लक्षण देखाएनन्, तिनले अब पार्टीको कामबाट अवकाश लिनुपर्छ भन्ने लाग्दैन तपाईंलाई ?
– उमेरको कुरा यहाँ निकै गरिन्छ, तर उमेरभन्दा पनि अनुभवको कुरा हो, त्यसको उपयोग हुनुपर्छ भन्ने लाग्छ मलाई । अनुभवको कुरा हो, क्षमताको कुरा हो, एजेन्डाको कुरा हो, भिजनको कुरा हो, तपाईंले कस्तो धारणा र योजना ल्याउनुहुन्छ अनि त्यसलाई कसरी कार्यान्वयन गर्न खोज्नुहुन्छ, तपाईंको लिडरसिप क्वालिटी के छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । उमेरले मात्र गर्ने केही होइन । उमेर भए पनि ज्ञान र अनुभव छैन भने त्यस्तो नेताले मुलुकको लागि केही गर्न सक्दैन ।

० तपाईंलाई के लाग्छ, देउवालाई हटाएर नेतृत्वमा रामचन्द्र पौडेलजी आउनुभयो भने काङ्ग्रेसमा सुधार आउँछ त ?
– यही शैली, यस्तै पाराको नेतृत्वको आधारमा हामी अघि बढ्न खोज्छौँ भने आगामी दिन सजिलो छैन । अहिलेको नेतृत्वकै कारण ठूलो घाटा भएको हो पार्टीलाई । त्यसैले यसमा परिवर्तन आउनु आवश्यक छ ।

० बुढो पुस्ताबाट भएन, अब हामी नै गरेर देखाउँछौँ भन्दै अघिसरेका छन् नि गगन थापाहरू, उनीहरूबाट पनि काम चल्दैन र ?
– इतिहास र अनुभव बोकेका सिनियर नेताहरूले ‘ठिकै छ तपाईंहरू नै गर्नुहोस् न त’ भनी विश्वास गरेर सुम्पिदिँदैमा हुने कुरा होइन नेतृत्व भन्ने कुरा, देश र जनताको हकहितमा काम गरेर देखाउने क्षमता व्यावहारिक तवरमा प्रस्तुत गर्न सक्नुपऱ्यो । म सक्छु भनी दाबी गरेर मात्र पाइने होइन, समयले दिने कुरा हो नेतृत्वको अवसर । विश्वास पनि गर्नुपऱ्यो आमकार्यकर्ताले । म पैंतालीसको भएँ, मभन्दा तलका मेरा कार्यकर्ता हुन् र माथिका चाहिँ काम लाग्दैनन् भन्न सक्नुपऱ्यो, कामले त्यो सिद्ध गर्नुप¥यो । होइन भने सम्भव छैन । हाम्रो राजनीतिक संस्कृति पनि यस्तो होइन । दोस्रो–तेस्रो पुस्ताले इतिहास बुझ्नुपर्छ र अगाडिको आफ्नो बाटो चिन्नुपर्छ ।

० नेपाली काङ्ग्रेसले बीपीले नै बोक्नुभएको संवैधानिक राजसंस्था, हिन्दूराष्ट्र, समाजवादी कार्यक्रम, विश्वमा प्रचलित संसदीय प्रजातन्त्रको लाइनमा फर्कियो भने राजनीतिक रूपमा काङ्ग्रेसको उत्थान हुन सक्छ भन्ने धारणा बोक्नेहरू यतिबेला प्रशस्तै छन्, यस कुरामा कतै दम देख्नुहुन्छ तपाईं ?
– हामी प्रोग्रेसिभ हुनुपर्छ, पूरै यु–टर्न हुन सकिने परिवेश होइन हो । तर, डेमोक्रेटिक सोसलिज्मकै कुरा हो हामीले अवलम्बन गर्नुपर्ने, सुधार गर्नुपरे गर्ने त्यसमै हो । धार्मिक–सांस्कृतिक कुरा समाजले यत्तिकै छोड्न पनि सक्दैन, सुधारात्मक हिसाबले त्यो चलि नै रहन्छ । जहाँसम्म राजसंस्थाको कुरा छ, त्योचाहिँ फर्किन सजिलो छ या नेपाली समाजले अब पचाउला भन्ने लाग्दैन ।

० तपाईं त लामो समय बेलायत बसेको व्यक्ति, त्यहाँ पनि राजसंस्था फर्केको थियो क्यारे, कि कसो हो ?
– त्यहाँ पनि राजसंस्थालाई ‘कू’ गर्ने सन्दर्भ नआएको होइन, तथापि त्यहाँको राजसंस्था अत्यन्त आलङ्कारिक रूपमा स्थापित भइसकेको छ । त्यहाँको राजसंस्थाले राज्य–प्रशासनमा कुनै भूमिका नै नखोजेको र राजनीतिक रूपले कुनै महत्व नै नरहेको हुँदा त्यो संस्थाबाट कुनै व्यवधान नै हुँदैन । यसर्थ सबैलाई स्वीकार्य भएको छ । यहाँ त्यस्तो होइन, राज्य–प्रशासनमा भूमिका खोज्ने चरित्रका कारण यहाँ राजसंस्थाको आवश्यकता देखिँदैन ।

० त्यसो भए, तपाईंले भनेको समाजवाद र कम्युनिस्टहरूको समाजवादमा केचाहिँ भिन्नता रह्यो र पार्टी छुट्याएर जनताले मत दिनका लागि ?
– यहाँका कम्युनिस्टकोे राष्ट्रवाद खोक्रो राष्ट्रवाद हो । भारतलाई गाली गरेर, पहाडवासीलाई उत्तेजित तुल्याएर भोट लिएका कम्युनिस्ट नेताहरू अहिले मोदीले लगाएको पहिरनमा सजिन किन पथ्र्यो ? सचेत जनताले बुझ्न थालिसके कम्युनिस्टको खोक्रो राष्ट्रवाद । हाम्रो राष्ट्रवादमा शङ्का गर्नुपर्ने कुरै केही छैन, खुला छ सबैका सामु । समृद्धिको नारा मात्र भएर हुँदैन, व्यवहारमै विकासका कार्यक्रम चाहियो, आर्थिक समृद्धि चाहियो जनतालाई । जनताको पक्षमा काम गर्ने सरकारले मात्र यो दिन सक्छ र यो चरित्र काङ्ग्रेससँग मात्रै छ, कम्युनिस्टसँग होइन, कम्युनिष्टबाट देश बन्दैन । यो कुरा जनताले बुझ्दै छन्, बुझ्नेछन् ।

० अन्त्यमा, तपाईंसँग युवाहतको निम्ति त एउटा अभियान रहेछ, तर पार्टीको नेतृत्व परिवर्तन गराउन पनि केही सोच या योजना छन् कि ?
– पार्टीमा मेरो कुनै पोर्टफोलियो नभएको हुँदा व्यक्तिगत रूपमा मैले यसो नै गर्ने भनी रणनीति बनाउने कुरा आएन । मूल कुरा जनताको एजेन्डामा हिँड्न खोज्नुपर्छ काङ्ग्रेसले । यो यथार्थ महसुस गर्न सकेन भने नेतृत्व आफैँ च्यूत हुँदै जानेछ ।

2.3K Shares

प्रतिक्रिया