सडकको खाल्डो पुर्न पनि पाहुना आउनुपर्ने ?!

सडकको खाल्डो पुर्न पनि पाहुना आउनुपर्ने ?!


– इन्द्रबहादुर बराल

‘पाहुना आउलान् दालभात खाउँला’ भन्ने एउटा नेपाली उखान छ । एकपेट मीठो–मसिनो खान पनि विशेष मौका ढुक्नुपर्ने दुरुह अवस्था जनाउन उक्त उखान प्रयोग गरिने प्रचलन अझै छँदै छ ।

अब सन्दर्भमा प्रवेश गरौँ । जनआन्दोलन ०४६ को परिवर्तनपछि नेपाली समाजले निकै फड्को मारेको छ । यदि माओवादी नामको पार्टीले ‘जनयुद्ध’को नाममा हत्या, हिंसा र आतङ्कको राजनीति नगरेको भए शायद धेरै प्रगति हुने थियो भन्ने अनुमान गर्न सकिन्छ । कुनै पनि समाजले शान्ति र स्थिरिताबिना विकासको फड्को मार्न सक्दैन भन्नेमा सबैको एउटै मत देखिन्छ । तर, उक्त हत्या, हिंसा र आतङ्कको छायामा नेपाल दशकौँ पछाडि परेको छ भन्दा कसले पूर्वाग्रह ठानिरहनु आवश्यक छैन । किनकि, हत्या, हिंसा र आतङ्कको चक्रव्यूहबाट मुलुकलाई मुक्त गराउन बाँकी नै छ । कुनै न कुनै ढङ्गले अझै पनि आतङ्कका छिर्का जीवितै देखिन्छन् ।

अझै आतङ्कका छिर्का किन र केका लागि ताजै छन् ? यसको निक्र्योल गरी मुलुकलाई स्थायी शान्ति दिलाउनु वर्तमानको आवश्यकता हो । यसतर्फ सरकार गम्भीरतापूर्वक लाग्नुपर्छ । तर, सरकारको गति र दिशा यसतर्फ लक्षित पाइँदैन । सरकारी दाबी त छ, तर कदम उल्टो चलेपछि वितृष्णा जाग्ने नै भयो, अविश्वास बढ्ने नै भयो । प्रतिपक्षको आवाजलाई समुचित सम्बोधन गर्नुको साटो सरकार कता–कता आफैँ प्रतिपक्षीजस्तो देखिँदै जानु दुःखद पक्ष हो । सरकारमा गम्भीरता, संवेदनशीलता र जवाफदेहिता भेटिएन । अनेक जल्दाबल्दा सन्दर्भले यही जनाइरहेका छन् ।

‘पाहुना आउलान् दालभात खाउँला’ भन्ने उखान अहिले पनि त्यत्तिकै सान्दर्भिक यसकारण हुन गयो कि सङ्घीय राज्यको राजधानी काठमाडौंको यातायात व्यवस्था, फोहोरमैला व्यवस्थापन, खानेपानी, स्वास्थ्य क्षेत्रको अव्यवस्था र सडकहरूको दुरावस्थालाई सुधारका लागि ‘बिमस्टेक’ सम्मेलनको वहानामा विदेशी पाहुनाको आँखामा छारो हाल्ने काम भएको सबैले देखे । यस्तै नक्कली वा ‘कस्मेटिक’ विकासलाई ‘बिहान छ बेलुका छैन’ भन्ने अर्को उखानसँग पनि जोड्न सकिन्छ । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आएका विशिष्ट पाहुनाका सामु आफ्नो नाक जोगाउन गरिएको टालटुले सिँगारपटारले नागरिकलाई आश्चर्यमा मात्र नपारी चित्त पनि दुखायो । के विकासका नाममा भएको सरकारको सीमित स्रोत र साधनको यसरी नै खर्च गर्दै जाँदा हामीले सोचेको प्रगति हासिल गर्छौं त ? प्रश्न सान्दर्भिक छ ।

रातारात खाल्टाखुल्टी पुरेर विदेशी पाहुनालाई हिँडाउने रुट बनाइयो, लत्रिएका तारलाई बाँधबुँध गरियो, फोहोरको थुप्रोमा प्लास्टिकले ढाकी त्यसमाथि प्रधानमन्त्रीको भद्दा तस्बिर टाँग्ने, रङ्ग लितपोत गर्ने काम गरी विदेशी पाहुनाका आँखामा छारो हाल्ने काम त गरियो, तर पाहुनाको आँखामा छारो हाल्न खर्चको खोलो कति बग्यो ? खर्च गरेअनुसार काम कति दिगो होलान् ?

यस्ता प्रश्नको समाधान दिनु पनि सरकारको दायित्वभित्र पर्दछ । रातारात खाल्टाखुल्टी पुरेर विदेशी पाहुनालाई हिँडाउने रुट बनाइयो, लत्रिएका तारलाई बाँधबुँध गरियो, फोहोरको थुप्रोमा प्लास्टिकले ढाकी त्यसमाथि प्रधानमन्त्रीको भद्दा तस्बिर टाँग्ने, रङ्ग लितपोत गर्ने काम गरी विदेशी पाहुनाका आँखामा छारो हाल्ने काम त गरियो, तर जनताका आँखामा त यी सब नौटङ्की झल्झल्ती नाचिरहेकै छन् । रातारात पाहुनाको आँखामा छारो हाल्न खर्चको खोलो कति बग्यो ? खर्च गरेअनुसार काम कति दिगो होलान् ? होइन भने एक पेट मीठो–मसिनो खान घरमा पाहुना आउनुपर्ने भनेझैँ सडकका खाल्टाखुल्टी पुरिन पनि विदेशी विशिष्ट पाहुना नै आउनुपर्ने नियति सम्झेर चित्त बुझाउनुपर्ने भयो नेपाली जनताले ।

यतिबेला इतिहासकै शक्तिशाली सरकार निर्माण भएको छ । यति शक्तिशाली सरकार निर्माण गर्न आफ्नो मत दिए पनि परिणाम प्रत्युत्पादक भएको भन्दै जनता निराशा र पश्चातापमा परेका छन् । नयाँ दिशामा मुलुकलाई अगाडि बढाउनुको सट्टा सरकार पुरानै प्रवृत्ति दोहोऱ्याउन उद्यत् भएबाट नागरिकमा निराशा बढ्नु स्वाभाविकै हो ।
कुनै पनि व्यवस्था आफैँमा खराब र असलभन्दा पनि सरकारको चरित्र र व्यवहारमा भर पर्ने कुरा हो । वर्तमान सरकारबाट कुनै आसलाग्दो कार्यको थालनी भएन, केवल प्रतिपक्षतिर जिम्मेवारी थोपरेर आफू चोखो बन्ने निछट्टो चाल देखियो । प्रजातन्त्रको पुनस्र्थापनापछि देशले साँच्चैको काँचुली फेर्नै लागेको थियो । तर, त्यसलाई तहसनहस बनाउने काम हत्या, हिंसा र आतङ्कको राजनीतिले ग¥यो । धेरै ठूलो जनधनको क्षति भयो जसको लेखाजोखा नै अझै हुन सकिरहेको छैन । आज त्यही शक्ति सत्ताको शिखरमा छ, तैपनि नेपाली किन छटपटिइरहनुपरेको छ ? जवाफ कतैबाट मिलिरहेको छैन ।

समृद्धिको मार्गमा कुनै शक्ति पनि अवरोध बन्न हुँदैन, बन्दैन पनि । यदि कोही त्यस्ता अवरोधक छन् भने कम्युनिस्टकै कुनै घटक होलान्, होइन भने सरकार नै ‘नाच्न नजान्ने आँगन टेडो’ मात्र साबित हुने हो । अब यो वा त्यो वहानाबाजीले नेपाली जनताको इच्छा–आकाङ्क्षामा कुठाराघात गर्न पाइँदैन । जनतामा बाँडिएका मीठा सपना किन घर÷घरमा पु¥याइएको छैन ? जनआन्दोलन ०६२/६३ पछिको अधिकांश समय कम्युनिस्टले राज गरेको हो, तर ढुकुटी रित्याउने मात्र कर्म किन देखिँदै छ ? अब पनि अरूतिर औँला सोझ्याएर चोखिन मिल्छ र ? यो प्रश्न शासकहरूले आफँैसँग गर्ने बेला आएको छ ।