‘राज्यले कति लगानी गऱ्यो र हामीले एसियाडमा पदक जित्नु ?’

‘राज्यले कति लगानी गऱ्यो र हामीले एसियाडमा पदक जित्नु ?’


त्यो पीडा असह्यै थियो, जसले उनको मनलाई बारम्बार पोलिरहेको थियो । प्रतिवाद गर्न चाहन्थे, तर समयले प्रतिबन्ध लगाएको थियो । आन, बान, शान सबै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छताछुल्ल भएका थिए, तर उनी हालतसँग सम्झौता गर्न बाध्य थिए । टोलीनेता भएर नायकको भूमिका निर्वाह गर्न उनलाई धौधौ भइरहेको थियो, जवाफ थियो तर अवाक थिए । अझ यस्तो विषम परिस्थितिमा आफ्नै सहकर्मीको आत्मघाती भूमिकाले नुनखुर्सानी दल्ने कार्य गरेको थियो । र पनि, उनले धैर्यतालाई आत्मसात् गर्दै आफ्नो विश्वासलाई डगमगाउन दिएनन् । समयको कोर्राले एकपछि अर्को प्रहार गर्दै जाँदा पनि उनी आफ्नो विश्वासमा अडिग रहे । दाउमा लागेर गुम्न लागेको प्रतिष्ठा फर्किने कुरामा उनी अर्थात् राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट विश्वस्त थिए । आखिर भयो पनि त्यस्तै, १८औँ एसियाडको उत्तराद्र्धमा नेपालले प्याराग्लाइडिङमा ऐतिहासिक रजत पदक जित्यो । जितसँगै नेपालको प्रतिष्ठामा लागेको ग्रहण पनि हट्यो, सबै खुसीले गद्गद् भए । यसरी नेपालले एसियाडमा रजत पदक जितेपछि प्रसन्न मुद्रामा देखिएका विष्टसँग घटना र विचारका लागि श्रीविक्रम भण्डारीले मलेसियामा गरेको अन्तर्वार्ता :

० १८औँ एसियाडमा समावेश गरिएका अन्य खेलहरू पदकविहीन बनिरहेको अवस्थामा पहिलोपटक एसियाडमा समावेश गरिएको प्याराग्लाइडिङले ऐतिहासिक रजत पदक जित्दा कस्तो महसुस गर्नुभएको छ ?
– प्याराग्लाइडिङले पदक जित्ने कुरामा म पहिल्यै विश्वस्त थिएँ, सोही कारण प्याराग्लाइडिङलाई एसियाडमा समावेश गरिएको हो । एसियाड जानुअघि पोखरामा प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता भएको थियो, जसमा नेपालीले टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । सोही प्रदर्शनलाई दृष्टिगत गर्दा नेपालले एसियाडमा पदक जित्ने कुरामा म विश्वस्त थिएँ । व्यक्तिगत रूपमा भन्नुपर्दा मैले त प्याराग्लाइडिङबाट स्वर्ण पदकको आशा गरेको थिएँ । आखिर यो कुरा सत्य पनि भयो, हामीले स्वर्ण पदकको लागि फाइट गर्यौं । २० वर्षपछि नेपालले पुनः एसियाडमा रजत पदक जित्न सफल भएको छ, यो निकै खुसीको कुरा हो । अझ म नेपाली टोलीको नेता भएको कारण बडो आनन्दको महसुस गरिरहेको छु ।

० एसियाड शुरु हुनअघि तपाईंले यसपटक हाम्रो प्रयास स्वर्ण पदकको लागि हुनेछ भन्नुभएको थियो, त्यतिबेला त्यो कुरा कसैले पत्याएका थिएनन् । अहिले यो कुरा सत्य भएकोमा तपाईंको प्रतिक्रिया के छ नि ?
– सर्वप्रथम म सकारात्मक सोच राख्ने व्यक्ति हुँ । मैले यसो भन्दा त्यतिबेला ठूलो गफ दियो भन्ने व्यक्तिहरू पनि प्रसस्तै थिए । मैले त्यसबेला एसियाडमा नेपालले स्वर्णको लागि प्रयास गर्ने, २ रजत र ३ कांस्य पदक जित्ने कुरा बोलेको थिएँ । त्यो कुरा तेक्वान्दो, कराते, बक्सिङ, उसु र जुडोको विगतको प्रदर्शन, वर्तमानको तयारी र सम्बन्धित सङ्घका पदाधिकारीहरूले दिएको जानकारीको आधारमा थियो । नेपाललाई एसियाडमा कराते र उसुमा कांस्य पदक जित्ने ठूलो अवसर थियो । दुर्भाग्य, ती खेलका खेलाडीले सोचेको जस्तो प्रदर्शन गर्न सकेनन् । हातैमा परिसकेको पदकलाई समेत गुमाए । यसले पनि पदक–तालिकामा फरक परेको हो ।

० एसियाडमा तपाईंले भनेकोजस्तो रिजल्ट त आएन न नि ? यसबारे के भन्नुहुन्छ ।
– हो, रिजल्ट मैले भनेजस्तो आएन, म यसलाई स्वीकार गर्छु । तेक्वान्दो, कराते र बक्सिङले एक–दुईवटा पदक जित्ने कुरामा म विश्वस्त थिएँ । यसर्थमा कि ती खेलहरूले विगतका एसियाडमा पदक जित्दै आएका थिए । साथै म अन्य खेल जुडो र उसुले राम्रो प्रदर्शन गर्ने कुरामा ढुक्क थिएँ । खेलमा कहिलेकाहीँ नसोचेको रिजल्ट पनि आउँदोरहेछ, त्यो यसपालिको एसियाडमा देखियो । तर, म यो रिजल्टबाट निराश छैन, एउटै पदक नल्याएको भए पनि निराश हुने थिइनँ । किनकि नेपाली खेलाडीले एसियाडमा राज्यको लगानी र प्रशिक्षणअनुसार राम्रो प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय एक्सपोजरका बाबजुद पनि नेपाली खेलाडीले जुन प्रदर्शन गरेका छन्, म त्यसमा सन्तुष्ट छु । यहाँ पदक जितेनन् भनेर खेलाडीलाई दोष दिनुको साटो हामीले पदक जित्न कति लगानी ग¥यौँ, त्यो चुरोको कुरो हो, त्यसको समीक्षा हुन जरुरी छ ।

० त्यसो हो भने नेपालले एसियाडमा कहिलेसम्म सहभागिताको लागि सहभागिता जनाउने त ? कहिलेसम्म एउटा–दुईवटा पदकमा मात्रै चित्त बुझाउने ?
– प्रश्न जति गम्भीर छ, त्यसको तोड त्योभन्दा पनि गम्भीर छ । यसर्थमा कि जबसम्म राज्यले खेलकुद बुझ्दैन र सोबमोजिम लगानी गर्दैन तबसम्म नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा ठूलो पदकको आशा गर्न मिल्दैन । कोदोको खेती गर्नेले धानको आशा गर्न मिल्दैन, प्राकृतिक नियमअनुसार पनि जे रोप्यो त्यही फल्ने हो । यो तीतो सत्य हुँदाहुँदै पनि हामीले प्रयास छोडेका छैनौँ, एसियाडजस्तो उत्कृष्ट प्रतिभाबीच हुने प्रतिस्पर्धामा समेत निरन्तर रूपमा पदक जित्न सफल भएका छौँ । त्यसैले एसियाडमा नेपालको सहभागिता नै उपलब्धिपूर्ण हो । हाम्रोजस्तो तयारीले नेपालले एसियाडमा पदक जित्ने कल्पनासमेत गर्न सकिँदैन । तर, जितिरहेका छन् त्यो आफैँमा ठूलो उपलब्धिपूर्ण हो ।

० एसियाडमा सम्पूर्ण ओलम्पिक खेलहरू असफल हुनु र पहिलो सहभागितामै पर्यटकीय खेल प्याराग्लाइडिङले ऐतिहासिक सफलता हासिल गर्नुको रहस्य के होला ? यसलाई नेपाली खेलकुदमा कसरी विश्लेषण गर्नुुहुन्छ ?
– यतिबेला एसियाडमा पाराग्लाइडिङले जितेको रजत पदक नेपालको लागि ठूलो उपलब्धि हो । यो भविष्यमा नेपाली खेलकुदको विकासको लागि कोसेढुङ्गा साबित हुनेछ । अर्को कुरा प्याराग्लाइडिङले जुन सफलता हासिल गरेको छ, त्यसले यो खेलको सम्भावना पनि चुलिएको छ । हिजोसम्म प्याराग्लाइडिङलाई पर्यटकीय खेलको रूपमा मात्र हेरिएकोमा अब स्पोर्टस्को माध्यमबाट पनि यो खेल चिनिनेछ । प्याराग्लाइडिङ मात्रै होइन, ऱ्याफ्टिङ, स्पोर्टस् क्लाइभिङ, क्यानोइन र अल्ट्रा म्याराथनमा पनि नेपालको सम्भावना उत्तिकै छ । त्यसैले अब खेलकुद र पर्यटनलाई जोडेर अगाडि बढ्नुको विकल्प छैन । राखेपले अहिलेसम्म यी खेललाई चाहिनेजति बजेटको व्यवस्था नगरे पनि अब यसतर्फ विशेष ध्यान दिनेछ । जहाँसम्म सम्भावित पदक जित्ने सूचीमा रहेको खेलहरू पदकविहीन हुनु राम्रो सङ्केत होइन । ती खेलका खेलाडीहरूको प्रदर्शनले आमनेपालीको चित्त दुखाएको छ । तर, मेरो व्यक्तिगत धारणा के छ भने पदक आउँदा हौसिने र नआउँदा निराश हुने प्रवृत्तिको सर्वप्रथम अन्त्य हुनुपर्छ । एसियाडमा सबै खेलका खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । यति हुँदाहुँदै पनि केही खेलहरू प्रश्नचिह्नको घेरामा परेका छन् । अर्को कुरा विवादित खेलहरूको प्रदर्शन एसियाडमा खस्केको छ । अब प्रत्येक खेलहरूको समीक्षा गरिन्छ, सोहीअनुरूप विवादरहित बनाउन राखेपले कोसिस गर्नेछ ।

० प्रत्येक खेलको समीक्षा गर्ने भन्नुभयो ? त्यो समीक्षाको उद्देश्य प्राप्ति गर्न कार्यान्वयन पक्ष त्यत्तिकै जटिल छ, के राखेप यसमा सफल हुन्छ होला त ?
– विश्वास गर्नुहोस्, निकट भविष्यमै एसियाडमा सहभागिता जनाएका खेलहरूको सूक्ष्म रूपमा समीक्षा हुनेछ । यो गर्नुपर्ने किन जरुरी छ भने यसै वर्ष नेपालले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजना गर्दै छ । १३औँ सागमा ऐतिहासिक सफलता दिलाउन एसियाडको अप्रेसन हुनुपर्छ, त्यहाँ भएका कमी–कमजोरीको पर्दाफास हुनुपर्छ, त्यसपछि मात्रै १३औँ सागको प्रदर्शनमा सुधार ल्याउन सक्छौँ । नेपालमा आयोजना भएको ८औँ सागमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो । अब सो कुरालाई पुनः दोह¥याउने चुनौती हाम्रोसामु छ, त्यसैले प्रत्येक खेलको समीक्षा हुन्छ, उत्कृष्ट खेलाडीलाई सागमा समावेश गराइन्छ र सोहीबमोजिम स्वदेश र विदेशको प्रशिक्षण मिलाइन्छ ।

एसियाडमा नेपालले ११ दिनसम्म पदक नजित्दा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका टीका–टिप्पणीले तपाईंलाई असफल नायकको रूपमा प्रस्तुत गरेका थिए, यसबारे तपाईं के भन्नुहुन्छ ?
– पदक नजित्दासम्म सञ्चारमाध्यम, सामाजिक सञ्जाल वा व्यक्तिविशेषद्वारा जुुन किसिमको टीका–टिप्पणी भो, त्यसप्रति मेरो ठूलो गुनासो छ । आठवटा खेल पनि सकिएको थिएन, नेपाल पदकविहीन भो, शून्य भो, यसो भो, उसो भो, भनेर प्रतिक्रिया व्यक्त भो । त्यसमा मलाई ज्यादै दुःख लागेको छ । धैर्य गर्न सक्नुपथ्र्यो, खेल पूरै सकिएर प्रतिक्रियाहरू आएको भए राम्रो हुन्थ्यो । चाँडै हौसिने र चाँडै निराश हुने नेपालीको प्रवृत्तिका कारण यस्तो भएको हो । जसले मलाई मात्र नभई एसियाडमा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरूमा समेत नकारात्मक प्रभाव परेको थियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा होमिएका खेलाडीका लागि यसभन्दा कुठाराघात अरू के हुन सक्छ ? अहिले नेपालले २० वर्षपछि दोस्रोपटक ऐतिहासिक रजत पदक जितेको छ । अब ती व्यक्तिहरूले प्याराग्लाइडिङमा जितेको पदकलाई त्यो त खेलकुद नै होइन भनेर अभिव्यक्ति दिन बेर छैन ।

० यो एसियाडमा अन्य मुलुकका खेलाडीको तुलनामा नेपाली खेलाडी, खेलाडीजस्तै देखिएनन् भन्ने चर्चा चल्यो, खेलाडीहरूमा जस्तो उत्साह, उमङ्ग देखिनुपर्ने थियो त्यस्तो देखिएन, किन होला ?
– यो सबै नेपालले उचित समयमा पदक नजित्दाको नतिजा हो । यदि नेपालले तेस्रो, चौथो दिनमै पदक जितेको भए खेलाडीमा यस्तो नैरास्यपन आउने थिएन । ११औँ दिनसम्म पनि नेपालले एउटा पनि पदक नजितेपछि अन्य खेलाडीको हालत कस्तो हुन्छ सोझै अनुमान लगाउन सकिन्छ । पदक प्राप्त ग¥यो भने पो उत्साह–उमङ्ग बढ्ने हो, नेपालको भागमा त्यस्तो समय कहिल्यै आएन । यो कुराको मैले पनि महसुस गरेको थिएँ ।
जहाँसम्म खेलाडीहरूको शारीरिक बनोट, लवाइखुवाईलाई आधार मानेर भनिएको हो भने म यो कुरा मान्ने पक्षमा छैन । किनकि त्यो आँखाको भ्रम पनि हुन सक्छ । खेलाडीहरू कोही अग्ला हुन्छन कोही होचा, हाम्रो देशका खेलाडी पनि आफ्नो बनोटअनुसार ठीकै थिए । चुरो कुरा के हो भने खेलाडीलाई अवाञ्छित लाञ्छना र आरोप लगाएर हतोत्साही गरेपछि उनीहरू यस्ता देखिएका हुन् । खेलाडीलाई प्रोत्साहन गर्नुको साटो गाली गरेपछि कसरी खेलाडी ‘खेलाडी’ जस्तो देखिन्छन् ? सीमित साधनस्रोतका बाबजुद पनि नेपाली खेलाडीले पूर्वाधार सम्पन्न भएका राष्ट्रका खेलाडीलाई एसियाडमा टक्कर दिनुका साथै पराजित गरेका छन्, जुन कुरोमा हामीले गौरव गर्नुपर्छ । तर, त्यसैको आधारमा खेलकुदलाई सङ्कटमोचकको रूपमा विश्लेषण गर्न भने मिल्दैन ।

० राखेपको ५५औँ वार्षिक उत्सवको दिनमा नेपालले एसियाडमा रजत पदक जितेको छ, यो अवसरमा के भन्न चाहनुहुन्छ ?
– राखेपको वार्षिकोत्सव दिन नेपालले रजत पदक जित्नुलाई मैले खेलकुदको सकारात्मक रूपमा हेरेको छु । यो नेपाली खेलकुदको भविष्यको लागि शुभसङ्केत हो । हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेनौँ भने पनि मनमुटाव हुने अतिरञ्जित तरिकाले लाञ्छना लगाउने कार्य नगरौँ । खेलकुदमा समस्या छ, सबै मिलेर समाधान गरौँ । खेलकुदको राम्रो भविष्य छ, खेलाडीहरू मिहिनेती छन्, कुन–कुन ठाउँमा कमजोरी भएको छ, सबै मिलेर हल गरौँ । खेलकुदको विकास र विस्तारको लागि सरकारसँग ठूलो बजेटको माग गरौँ, सबै मिलेर खेलकुदलाई अगाडि बढाऔँ, खेलकुदकर्मी साथीहरूलाई मेरो यही मेरो अनुरोध छ ।