सिड्नीको इन्द्रेणीमा गुन्जिए थानेश्वर र सम्झना

सिड्नीको इन्द्रेणीमा गुन्जिए थानेश्वर र सम्झना


राजन घिमिरे, अष्ट्रेलिया

थानेश्वर गौतम मूलतः लोकगायक हुन् तर पछिल्लो समय उनले गजल विधामार्फत पनि आफ्नो सशक्त गायन उपस्थितिलाई बलियो बनाइरहेका छन् । विशेष गरेर प्रवासमा रहनुभएका नेपाली गीत-संगीतकर्मीहरुको पनि मन जितिरहेका थानेश्वरले आफ्नो त्यो विशेषतालाई यो साता पनि दोहोर्याए ।

पहिलोपटक अष्ट्रेलियामा गुन्जिएका उनलाई नेपालबाटै आएकी गायिका सम्झना भन्डारीले साथ दिएकी थिइन् । राती ९ बजेबाट सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा शुरू भएको तीजको यो सांगीतिक कार्यक्रम बिहानको २ बजेसम्म चलेको थियो । इन्द्रेणी इन्टरटेनमेन्टको प्रस्तुतिमा इ प्लानेट भिसा पार्टनर रहेको तीजसम्बन्धी यो कार्यक्रमको सफलताले आफू साह्रै उत्साहित भएको कुरा आयोजक लक्ष्मण सापकोटाले दंग पर्दै सुनाए । ‘सिड्नीमा रहनुभएका दाजूभाइ दिदीबहिनीहरूको माया र साथ जीवनभर याद रहने छु’, गायक थानेश्वर र गायिका सम्झनाको अनुभूति यस्तो छ ।

अष्ट्रेलियामा एक महिनाअघिदेखि नै तिजसम्बन्धी कार्यक्रम शुरू भैसकेको छ । नेपालबाट आएका विभिन्न कलाकारहरूले आ-आफ्ना प्रस्तुतिहरू दिएर पनि नेपाल फर्किसकेका छन् । यसअघिका कलाकारहरूको अष्ट्रेलियामा कार्यक्रम दोहोरिनु तर थानेश्वर र सम्झनाको पहिलो प्रस्तुति हुनुले पनि सिड्नीवासी नेपालीको कार्यक्रममा जमघट बढ्नुको कारण मानिएको छ । विशेष गरेर थानेश्वर र सम्झनाको स्टेज तताउने प्रस्तुतिहरू हुनु पनि यो कार्यक्रमको अर्को आकर्षण हो ।