स्वप्न-संसार र त्यसको संकेत

स्वप्न-संसार र त्यसको संकेत


– गोपाल पराजुली

म सानो छँदाखेरि ‘शिखरनाथ भाष्कर’ भन्ने एउटा किताब पढ्थ्यौँ । ज्ञानगुनका सबै विषयवस्तु समेटिएको उक्त किताब ग्रामीण परिवेशमा शिक्षाको एउटा भरपर्दो स्रोत नै थियो । धेरै नेपालीको घरमा आज पनि त्यो किताब हुन सक्छ । अत्यन्त व्यावहारिक ज्ञान, दर्शन र जीवनोपयोगी थुप्रै शिक्षा त्यहाँ थियो । त्यहाँ भूगोल थियो, इतिहास थियो, अर्थशास्त्रका व्यावहारिक ज्ञान र खर्च गर्ने तौरतरिका थिए ।

पुस्तकमा तीर्थयात्राको मार्गदर्शन, देवीदेवताबारे र धार्मिक कर्मकाण्ड एवं पूजाविधिबारे पनि जानकारी दिइएको थियो । त्यहाँ वास्तुसम्बन्धी ज्ञान, जडीबुटी र औषधिमूलोको जानकारी पनि थियो । बालक जन्मँदा, हुर्काउँदाका विधिहरू, छोराछोरीलाई गर्ने व्यवहार, घरपरिवारलाई सुखी बनाउने तौरतरिका, सनातनदेखि चलिआएका धार्मिक, सांस्कृतिक परम्परा इत्यादिका अनेकन ज्ञान थिए ।

म ४–५ कक्षामा पढ्दा त्यो किताब पढ्न र श्लोक सुनाउन आमाले आग्रह गर्नुहुन्थ्यो । अनेकन छन्दमा लेखिएका ती श्लोक फुर्सदको बेला पढेर रमाउँथ्यौँ । कुनै विषयको जानकारी खोज्नुपरेमा त्यही किताब पल्टाउँथ्यौँ । एकप्रकारले अचेलको इन्टरनेटजस्तै ज्ञानको भण्डार नै थियो हाम्रो लागि त्यो किताब ।
म करिब १० वर्षको हुँदा लट्टेपिङ खेल्ने क्रममा लडेर देब्रेहात भाँचिएको थियो ।

‘हर्रो भो अमला सुठो बयरको बोक्रा र बर्रो सरी,
तोलाको सय भाग पारी कुट्नु गुडगुड पाँच वरी
दुई तंखा तताएका दूधमहा यो खानु पन्ध्रै दिन,
फुक्लेका कुहिना घुँडाहरू सबै जोडिन्छ रुन्छौ किन ?’

भनेर शिखरनाथमा लेखिएको थियो । त्यही शिखरनाथमा वर्णन गरिएको औषधि र उपचार–विधि अपनाएर इन्द्रजालको लहरो, हर्रो, बर्रो, सिप्लीगान, कोइरालोको बोक्रो, हडचुर, पाखनवेद, पाँचऔँले, नीरमसीजस्ता अनेकन जडीबुटी कुटेर भाँचिएको ठाउँमा लेप लगाई बाँसको खिर्पी बुनेर त्यसले बाँधेर १५ दिनसम्म राखियो र त्यसपछि गाईको घ्यू सालको पातमा राखेर सेक्ने र थोरै काँचो सिन्दुर, मिमिया र चिप्लेकिरा खुवाएर त्यसको उपचार गरेको सम्झन्छु । शिखरनाथ व्यावहारिक ज्ञानको इन्साइक्लोपिडिया नै थियो । त्यो किताब पढेर आर्जेको व्यावहारिक र नैतिक शिक्षाले मलाई गहिरो प्रभाव पा¥यो । कसैप्रति दुराग्रह राख्न नहुने, जालझेल र षड्यन्त्र गर्न नहुने, कसैलाई धोका नदिने र परोपकारी कर्ममा जीवन समर्पण गर्ने इत्यादि जीवनोपयोगी शिक्षा त्यही पुस्तकबाट आर्जन गरेँ कि ?

रुवान्डाको युद्धका हुटु र टुत्सीलाई सम्झँदै मैले भनेँ– शासनमा बस्नेहरूले पक्षपात गरे भने, आफ्ना मान्छेलाई मात्रै हेरे भने, आफ्नो मात्रै सोचे भने फेरि हुटु र टुत्सीको इतिहास दोहोरिन सक्छ । बलियाहरूको रजाइँ र निर्धाहरूको बेहालको अवस्था देखिएको छ ।

मलाई लाग्छ– मातापिताप्रतिको सम्मान, भगवान् भक्ति, अहिंसात्मक व्यवहार, सानालाई माया, ठूलालाई आदर, राष्ट्रलाई सम्मान, नियमकानुनको पालना, समाजलाई सुमार्गतर्फ लैजाने इत्यादि अनेकन हितोपदेश, शिक्षा र ज्ञानका कुरा समयानुकूल परिमार्जन गरेर प्राथमिक तहदेखि नै विद्यार्थीलाई सिकाउन सकियो भने राष्ट्रले असल नागरिक प्राप्त गर्न सक्छ । वर्तमान समाजमा देखिएका विकृति–विसंगतिलाई न्यून गर्ने यो एउटा राम्रो माध्यम बन्न सक्छ ।

शिखरनाथमा ‘सपना विचार’ भन्ने शीर्षकमा कस्तो सपना देखे कस्तो फल प्राप्त हुन्छ भन्ने लेखिएको थियो । कसरी त्यस्तो विचार राखियो होला– आज अचम्म लाग्छ । म पनि प्रायः सपना देख्छु । मैले सपना नदेखेका रात विरलै हुन्छन् । कारण थाहा छैन । कहिले पहाड चढेका, कहिले समुद्र तरेका, कहिले दाँत फुक्लेका, कहिले कपाल काटेका, कहिले मरेका, कहिले मलामी गएका, कहिले जन्ती गएका अनेक किसिमका सपना देखिन्छन् । हरेक सपनाको याद र हेक्का हुने कुरा त भएन, तर कतिपय विचित्रका सपनाचाहिँ म सम्झिरहन्छु ।

हाम्रो घरमा निकै ठूलो, बलियो र फुर्तिलो ‘फुर्के’गोरु थियो । एक दिन सपनामा फुर्के गोरु हरायो । म त्यो गोरु खोज्दै अमेरिका पुगेँ र फर्काएर घर ल्याएँ । त्यो सपनाको कुनै मतलब बुझ्न सकिरहेको थिइनँ । पछि ०७० सालमा अमेरिका जाने मौका मिल्यो । वासिङटनडीसीमा फुर्के गोरुजस्तै अजंगको साँढेको प्रतिमा देखेँ । म अचम्भित भएँ । बाल्यकालको सपना र फुर्के गोरुको स्मरण ताजा भयो ।

म सेवानिवृत्त भएपछि वैशाख महिनातिर देखेको एउटा यस्तै अनौठो सपनाको अर्थ मैले बुझ्न सकिरहेको छैन । सपनामा मैले आफैँले आफैंलाई गोली हानेँ । त्यो गोली देब्रे छाती छेडेर गयो, तैपनि म बाँचिरहेँ । जुडिसियल फ्राटरनिटी समाप्त भएको अर्को सपना देखेँ । न्यायाधीशहरूबीचको झगडा, न्यायपालिकाभित्रको द्वन्द्व, एकले अर्कालाई गर्ने असहिष्णु व्यवहार झन्झन् उग्र हुँदै गएको देखेँ । यो सपना मेरो कल्पनाको प्रतिबिम्ब पनि हुन सक्छ, तर खै कसरी देखेँ !

आज एकले अर्कालाई सिध्याउने, कटाक्ष गर्ने, एक–अर्कामा हिलो छ्याप्ने र त्यसका लागि मिडियाबाजी गर्ने खेल भइरहेको छ । अहिले कसैलाई मजाक लागेको होला । त्यो मजाक अन्ततः आत्मघाती हुन जान्छ ।

अब न्यायालयको गरिमा अक्षुण्ण राख्न वरीयताबाट होइन, न्यायाधीशको इमानदारिता, न्यायाधीशमा हुनुपर्ने महत्वपूर्ण गुण, राग र द्वेषबाट मुक्त, द्वन्द्ववादीसँगको मित्रतामा नफसेको, छलकपट नभएको, स्वच्छ र पवित्र विचार बोकेको व्यक्ति नै प्रधानन्यायाधीश हुनुपर्छ भन्नेखालका कुरा सपनामा देखेँ । परिवेश पनि त्यस्तैत्यस्तै आयो । हुन पनि आज एकले अर्कालाई सिध्याउने, कटाक्ष गर्ने, एक–अर्कामा हिलो छ्याप्ने र त्यसका लागि मिडियाबाजी गर्ने खेल भइरहेको छ । अहिले कसैलाई मजाक लागेको होला । त्यो मजाक अन्ततः आत्मघाती हुन जान्छ । मैले दीपक श्रीमानलाई विनम्रतापूर्वक अनुरोध गरेको थिएँ– ‘विधि र पद्धतिको विकासका लागि पनि मविरुद्धको षड्यन्त्रलाई साथ नदिनुहोस् । मलाई सहयोग गर्नुस् । न्यायालयलाई हामीले जोगाउनुपर्छ ।’ मैले कैयौँपटक उहाँलाई भनेँ, ‘दूषित मानिसलाई अदालतमा ल्याउँदा, प्रशासनमा ल्याउँदा विचार पुऱ्याउनुपर्छ ।’ ती सबै अनुरोध सपनामा पनि जस्ताको तस्तै देखेँ ।

सपना कुनै विचार होइन । सपना अचेतन मनको उपज हो । तर, सपनाले दिएको संकेत बुझ्न सकियो र त्यसको सही विश्लेषण गर्न सकियो भने मलाई लाग्छ सपना अर्थपूर्ण हुन्छन् । कहीँ न कहीँ त्यसको तादात्म्यता भेट्न सकिन्छ । कत्तिको दूरगामी छ मेरो सपना कुन्नि ! तर, जसले कुरा बुझिदिनुपर्ने हो उसैले बुझिरहेको छैन । जोसित जुन पवित्र भावना हुनुपर्ने हो त्योसित पवित्र भावना देखिँदैन । शासन गर्ने शैलीमा मसल, मनी र कुटिलताको जरो घुसेको छ । बेथिति, लथालिंगपन, असहिष्णुता छरपस्ट भएको छ । स्वदेशी लगानीकर्ता उद्योगपतिलाई कहीँ न कहीँ, कतै न कतै एजेन्ट मिडियाले लखेटिरहेका छन् । काठमाडौं उपत्यका आक्रमण गर्नुपूर्व पृथ्वीनारायण शाहले गोरखाको सस्तो जुत्ता काठमाडौंमा बिकाएर गुप्तचरी गरेकोजस्ता अनेकन क्रियाकलाप भइरहेका छन् । स्वदेशी लगानीकर्तालाई न्यूनतम पनि सम्मान गर्न नसक्दा राष्ट्र कमजोर बन्छ भन्ने हेक्का छैन । राजनीतिक दलहरूका बीच कतै जानेर कतै नजानेर अनौठो द्वन्द्व फैलिएको छ । कतै सत्तालिप्सा त्यहाँ घुसेको छ । कतै भइरहेका व्यवस्थालाई भत्काउने प्रयत्न भइरहेको छ । कतै अरूको आड र कसैको एजेन्ट भएर काम गर्ने अनि त्यस्ता एजेन्सीको सम्बन्ध स्थापित गर्ने, तिनीहरूकै सल्लाहबमोजिम काम गर्ने र आफ्नो मौलिकता मेटाउने कामको शुरुवात पनि गरेको देखिन्छ ।

यो अहिलेको अव्यवस्थित परिवेशलाई प्रतीकात्मक रूपमा सपनामा देखेको पनि हुन सक्छ । सपना काल्पनिक र निराधार पनि हुन सक्छ । शिखरनाथमा वर्णन गरिएकोजस्तो सपनाका कुराको आधारमा भन्न त केही नमिल्ला । किनभने सपना स्वयंमा कुनै आधार बन्न सक्दैन । सपना त एउटा मनोविज्ञान हो । तर, मानिसले बेलाबेला यस्ता विचित्रका सपना देख्छन् ।

मैले दीपक श्रीमानलाई विनम्रतापूर्वक अनुरोध गरेको थिएँ– ‘विधि र पद्धतिको विकासका लागि पनि मविरुद्धको षड्यन्त्रलाई साथ नदिनुहोस् । मलाई सहयोग गर्नुस् । न्यायालयलाई हामीले जोगाउनुपर्छ । दूषित मानिसलाई अदालतमा ल्याउँदा, प्रशासनमा ल्याउँदा विचार पुऱ्याउनुपर्छ ।

मैले २०३६ सालको जनमतसंग्रहको समयमा निरन्तर ओरालो लागिरहेको, बाधा–व्यवधानहरू आइरहेको, कपाल काटिरहेको, आँखाको अगाडि कालो देखिएको, अत्यन्त डरलाग्दो जंगलमा फसेको, कुनै काम गर्न नसकेको, हातपाखुराहरू नचलेको, ऐठन परेकोजस्ता सपना देखेको थिएँ । त्यसबेला अकल्पनीय नतिजा व्यहोर्नुपऱ्यो । जनमतसंग्रहमा प्रजातन्त्र पक्षधरले हार्छ भन्ने कसैले कल्पनासम्म गरेको थिएन । नेपाली नागरिकलाई अधिकार चाहिँदैन भन्ने पक्षमा नेपाली जनता छन् होला र ? जस्तो लाग्थ्यो । उक्त नतिजाका पछाडि कुनै न कुनै त्रुटि, केही न केही कुटिलता, कतै न कतै षड्यन्त्र जसरी देखिएको थियो, मैले अहिले पनि त्यस्ता कुरा देखिरहेको छु ।

कतै सुदिनहरू नआउने पो हुन् कि ? कतै राष्ट्रमा अरू विकराल स्थिति देखिने हो पो कि ? अरू द्वन्द्व हुने पो हो कि ? जातीय विभेद अझै बढ्ने पो हो कि ? एउटा दलले अर्को दललाई वर्गशत्रुकै रूपमा हेरिरहने पो हो कि ? त्यसैका लागि द्वन्द्व चर्कने हो पो कि ? सधैँ दाउपेच, सधैँ रडाको, आफ्नो फाइदाका लागि सधैँको बालहठ छोडेर हामीले राष्ट्रको लागि सोच्ने हो पो कि ? केही प्रयत्न त गर्ने हो पो कि ? मिडियाले उचाल्छन्, पछार्छन् । कतिबेला माथि पुऱ्याउँछन्, कतिबेला खसाल्छन् । यो कुचक्रभित्र कहाँ कसको खेल छ ? बोलीमा लगाम नभएकाहरू, अराजक र उत्तेजक बोल्नेहरूका विरुद्ध राज्य निःशब्द छ । उसले केही गर्न सक्दैन । यही अराजकताभित्र अब हामी अभ्यस्त हुनुपर्ने हो पो कि ? रुवान्डाको युद्धका हुटु र टुत्सीलाई सम्झँदै मैले भनेँ– शासनमा बस्नेहरूले पक्षपात गरे भने, आफ्ना मान्छेलाई मात्रै हेरे भने, आफ्नो मात्रै सोचे भने फेरि हुटु र टुत्सीको इतिहास दोहोरिन सक्छ । बलियाहरूको रजाइँ र निर्धाहरूको बेहालको अवस्था देखिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित चर्चित व्यंग्य कविता–
कवाफी, रवाफी, नवाफी छ नेता
विलासी, गिलासी, सुवासी, विजेता
प्रजातन्त्रको ढ्वाङ रित्तै करायो
जमाना अनौठो नयाँ आज आयो !

जमिनदारका पुत्र छन् साम्यवादी,
छ कालो बजारी त झण्डा फिँजारी
निजी गोटी चाल नबन्ने हरायो,
जमाना अनौठो नयाँ आज आयो !

लगायतका मलाई कण्ठस्थ भएका कविता सपनामा वाचन गरिरहेको देख्छु । यो सपना साँच्चैको नहोला, तर यसभित्रको लाक्षणिकता सधैँभरि व्यक्तिको मनोविज्ञान मात्र हुँदैन । कुनै–कुनै स्वप्नद्रष्टाले त कुनै ठाउँमा धन गाडेको छ वा भगवान्को मूर्ति छ भनी उत्खनन गर्दा विपनामा भेटेका उदाहरण पनि हामी देख्न सक्छौँ । तर, म चाहन्छु– मैले देखेका यी सपना शिखरनाथमा उल्लेखित सपना विचारसँग मिल्दोजुल्दो नहोस् । सबै मानिस आपसमा मिलून् । सबै हाँसून् । सबैका बीचमा मित्रता होस् । हुटु र टुत्सीको इतिहास पनि नदोहोरियोस् । धर्म वा अन्य कुनै नाममा युद्ध पनि नहोस् । ‘बसुधैव कुटुम्बकम्’ भन्ने हाम्रो मूल्यमान्यतासित सबैजना बाँच्न सकौँ । मैले देखेका राम्रा सपना मात्रै साकार होऊन् । (क्रमशः)

यसअघिको हेर्नुहोस्-

‘मिसन-मिडिया’हरूको सुनियोजित प्रचारबाजी
https://ghatanarabichar.com/114586