जुत्ता पालिस गरेर यत्तिका कमाइ !

जुत्ता पालिस गरेर यत्तिका कमाइ !


जुत्ता पालिस गरेर दुई छाकको जोहो गर्न सक्नुलाई नै हाम्रो समाजले ठूलो उपलब्धि ठान्छ । यस्तो समाजका बसिन्दा हामी कसैले जुत्ता पालिस गरेर नै मासिक तीस लाख कमाइ गरिरहेको कुरा सुन्दा पत्यार मान्न सक्दैनौँ । तर, अमेरिकाको म्यानहट्टन निवासी डन वार्ड नामक व्यक्तिले जुत्ता पालिस गरेरै मासिक २७ हजार डलर (करिब तीस लाख रुपैयाँ) आर्जन गरिरहेको सन्दर्भ यतिबेला सोसल मिडियामा भाइरल बन्न पुगेको छ ।

कुनै बेला फोटो ल्याबमा काम गर्ने वार्डलाई उनको कमाइप्रति साथीभाइले व्यङ्ग्य गर्दै भनेछन्, ‘यहाँभन्दा ज्यादा कमाइ त बरु जुत्ता पालिस गर्दा नै हुन्छ !’ यस व्यङ्ग्योक्तिबाट रन्थनिएका उनले साँच्चै सडकमा बसेर जुत्ता पालिस गर्न थाले । माछा पक्रिन चाराको आवश्यकता पर्छ भन्ने कुरालाई आफ्नो मूलमन्त्र बनाएका उनी हरेक ग्राहकसँग बेग्लै रूपमा प्रस्तुत हुन थाले ।

रमाइला चुटकिला सुनाएर हसाउनेदेखि सफा जुत्ता पहिरिँदा हुने फाइदाबारे अनेक गफ दिएर ग्राहकलाई लठ्याउने कलाले उनलाई राम्रै साथ दियो । आकर्षक व्यवहारकै कारण ग्राहकले मागेबमोजिम मूल्य तिर्नुका साथै प्रशस्त टिप्ससमेत दिन थालेपछि उनको मासिक कमाइ सरदर तीस लाख पुग्ने गरेको हो ।