सिड्नीमा म्यूजिक अवार्ड कार्यक्रम आयोजना हुने

सिड्नीमा म्यूजिक अवार्ड कार्यक्रम आयोजना हुने


– राजन घिमिरे, अष्ट्रेलिया

नेपाली कला, भाषा, संस्कृतिलाई विश्वब्यापीकरण गर्ने उद्देश्यका साथ अस्ट्रेलियामा पहिलोपटक राप्ती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रम हुने भएको छ । बाबा एजुकेसन कन्सल्टेन्सीकोे प्रायोजनमा हुन लागेको म्युजिक अवार्ड राप्ति समाज अस्ट्रेलियाले आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम सेप्टेम्बर ८ तारिखको दिन बेलुका ६ बजेदेखि सिड्नीको इन्द्रेणी फङ्सन सेन्टर, रकडेलमा हुने जनाइएको छ ।

अवार्ड कार्यक्रममा अहिलेका चर्चित नायक पल शाह, लोकप्रिय गायिका राधिका हमाल, सिन्धु मल्ल, गायक कृष्ण रेउले र प्रकाश रेग्मीको सहभागिता रहने आयोजकले जनाएका छन् ।

सम्पूर्ण नेपाली कलाकारलाई प्रोत्साहन र राप्ति अञ्चलमा जन्मेका कलाकारहरूलाई सम्मानस्वरूप आयोजना हुन लागेको राप्ती अन्तर्राष्ट्रिय म्युजिक अवार्डको तयारी करिव–करिव अन्तिम चरणमा पुगेको राप्ती समाज अष्ट्रेलियाका अध्यक्ष नरेश रेग्मीले जानकारी दिएका छन् । कार्यक्रमको शुल्क ३५ डलर रहेको र साथमा डिनरको पनि ब्यवस्था रहेको बताइएको छ । नेपालबाट आउनुहुने कलाकारहरूले आमदर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने राप्ती समाज अस्ट्रेलियाले दाबी गरेको छ ।

सिड्नीमा आयोजना हुने अधिकाङ्श सांगीतिक एवम् सांस्कृतिक कार्यक्रमहरूमा मुख्य प्रायोजन गर्ने ‘बाबा एजुकेसन कन्सल्ट्यान्सी’ र आरकेएस अस्ट्रेलियाले नै यो कार्यक्रमलाई प्रायोजन गरेको छ र आफुहरूले यस्ता कार्यक्रम प्रोमोट गर्न पाउनु गर्वको विषय रहेको बताउँछन् बाबा एजुकेसन कन्सल्टेन्सीका सीईओ रविन्द्रकुमार शर्मा ।

अस्ट्रेलियाको सिड्नीमा सञ्चालित बाबा एजुकेसन कन्सुल्टेन्सीले सिड्नीमा आयोजना हुने धेरै कार्यक्रमलाई आर्थिक सहयोग गर्दै आएको छ, जसले गर्दा विदेशमा रहेर पनि नेपाली कला–संस्कृतिलाई जगेर्ना गर्न मद्दत पुगेको दाबी गर्छन् बाबा एजुकेसन कन्सल्टेन्सीका मार्केटिङ म्यानेजर अमृत शर्मा ।