रहेनन् रेडियो नेपालका प्रथम गायक

रहेनन् रेडियो नेपालका प्रथम गायक


‘फगत एक नजरमा कसैले लियो मन, जति बिर्सुं भन्छु उति सम्झने झन्…’ भन्ने गीतबाट प्रसिद्धि कमाएका रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको निधन भएको छ । रेडियो नेपालका संस्थापक सदस्य समेत रेहका रिमालको ९३ वर्षको उमेरमा गएराति निधन भएको हो ।

मोहनकुमारी र घनश्याम रिमालका चार छोरा र दुई छोरी गरी ६ सन्तानमध्ये साइँलो छोराको रुपमा काठमाडौंको लगनटोलमा वि.सं. १९८२ असोज ५ गते हरिप्रसाद रिमालको जन्म भएको थियो ।

विसं. २००७ मा रेडियो नेपाल स्थापना भएपछि रिमालले ‘मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ…’ बोलको शंकर लामिछानेद्वारा रचित गीत लाइभ गाएर आफूलाई रेडियो नेपालको पहिलो गायकको रुपमा इतिहासमा नाम दर्ज गरेका थिए ।

फगत एक नजर.. बोलको केशवराज पिँडालीको गीतका अलावा उनका अन्य लोकप्रिय गीतहरू ‘बिना बादल असिना आउँदैन’, ‘हातै काट्यो चालिसे चुराले’ ‘कल्लेकल्ले कैलेकैले डाक्छ मलाई’, ‘आँसु बहाऊँ’, ‘पवनले फूललाई’, ‘जाऊँ हामी बादलपारि’ आदि छन् । शुरुमा गीत–सङ्गीतमा सक्रिय रहँदारहँदै नाटककार बालकृष्ण समको सम्पर्कमा आएपछि गायक रिमाल नाटक–अभिनय र निर्देशनतर्फ मोडिएका थिए । रेडियो नाटकमा पनि उनले ख्याति कमाएका थिए । यति मात्र होइन, बहुमुखी प्रतिभाका धनी रिमाल नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हुन् । उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । ।