लोकतन्त्र ओझेलमै

लोकतन्त्र ओझेलमै


लोकतन्त्र स्थापनाको उल्लास र आशा चार वर्षको दौरानमा अनपेक्षित किसिमले फिक्का बन्न पुगेको छ । राजधानीमा आयोजित चौथो लोकतन्त्र दिवस समारोहमा नागरिक सहभागितामा देखिएको न्यूनताले लोकतन्त्रप्राप्तिको खुसी, उमङ्ग र आशा जनहृदयमा निकै हदसम्म मलिन बनिसकेको सङ्केत गरेको छ । पूरा हुन बाँकी शान्तिप्रक्रिया, नयाँ संविधान निर्माणकार्य, राजनीतिक स्थायित्व एवम् समृद्ध मुलुक स्थापनाको आमचाहनाका सर्न्दर्भमा यो अत्यन्त निराशाजनक अवस्था हो ।
जनताले लोकतन्त्र खोज्नुको अर्थ स्वेच्छाचारी शासनको विरोध मात्र नभई सशस्त्र द्वन्द्वबाट उन्मुक्ति र शान्ति स्थापना पनि थियो, राजनीतिक स्थायित्व र राष्ट्रको समृद्धि पनि जनताको असीम चाहनाभित्रैको विषय थियो । तर, जनताको अलभ्य जोस, सङ्घर्ष र बलिदानको बल-बुताबाट लोकतन्त्रसँगै गणतन्त्र भित्रँदा पनि मुलुकमा शान्ति भित्रिन सकेको छैन, मुलुकलाई नयाँ राजनीतिक पद्धतितर्फ लैजाने नयाँ संविधान लेख्न सकिएको छैन । घोर अलोकतान्त्रिक चरित्र आजका राजनीतिक दल तथा नेताहरूमा मौलाउन थालेको छ । आशा र आवश्यकताहरू फैलिरहेको परिवेशबीच सम्भावनाचाहिँ झन्-झन् खुम्च्याएर जनतामा वितृष्णा जगाउने काम प्रमुख दलहरूबाटै भएको छ ।
यसरी, ँजनताको जित’को रूपमा लिइएको लोकतन्त्र स्थापनाको घटना कतै नेपाली जनतालाई पराजित तुल्याउने खतरनाक खेलको प्रारम्भबिन्दु त थिएन भनी शङ्का गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । यही अनपेक्षित आशङ्काकै कारण परिवर्तनप्रति नै आमजनतामा विकर्षण देखिन थालेको छ । नेताहरूमा देखिएको अनेकता भाव, एक-अर्कालाई निषेध गर्ने सोच र शैलीले राजनीतिक परिवेश झन्-झन् बिगारिरहेको छ भने अराजकता र दण्डहीनताले असफलता र निरासा झनै बढाएको छ । वास्तवमा ०६२/६३ को आन्दोलनले जुन उद्देश्य बोकेको ठानिएको थियो त्यसको ठीक विपरीत नतिजा देखिन थालेबाट देश ठूलो फजितीमा पर्ने निश्चित मानिएको छ ।
यसप्रकार अवधिका हिसाबमा लोकतन्त्र स्थापनाले चौथो वर्ष टेक्दानटेक्दै यसको आयुबारे आमजनताले चिन्ता गर्नुपरेको छ । नागरिकलाई लोकतन्त्रको फल चखाउन उद्यत् ठानिएका दलका नेताहरू नै निरीह जनताबाट जबर्जस्ती चन्दा उठाएर लाठी, भाला र बन्दुक खरिद गर्ने एवम् कार्यकर्तालाई युद्धको तालिम दिलाएर तिनै निहत्था जनताको टाउकामा प्रहार गर्ने प्रपञ्चमा लिप्त देखिएका छन् । सत्ताको भोक हिजोका कथित प्रतिगमनकारी, दक्षिणपन्थी, निरङ्कुश र अधिनायकवादीहरूमा भन्दा आजका स्वघोषित लोकतन्त्रवादी, गणतन्त्र र जनगणतन्त्रवादीहरूमा बढ्ता जागेको देखिएको छ । लोकतन्त्रलाई संस्थागत तुल्याई राजनीतिक स्थिरता र समृद्ध मुलुक स्थापनाको यात्रा या आर्थिक विकासको नयाँ चरण-प्रवेशलाई फगत् मृगतृष्णामा परिणत गर्न देशकै प्रमुख दलको यो चरित्र यथेष्ट छ । यस बिब्ल्याँटो क्रियाकलापलाई छलफल, सहमति, सहकार्य र त्यागको हतियार प्रयोग गरेर थुनछेक गरी मुलुकलाई अनिष्टबाट जोगाउने जिम्मेवारी बोकेको सरकार तथा सत्ताधारी अन्य दल र तिनका नेताहरू पनि मुठभेडकै पक्षमा उभिन पुगेबाट मुलुकको भावी दशा र दिशा कहालीलाग्दो बन्ने निश्चित ठानिएको छ । देशले थेग्नै नसक्ने आन्दोलनका चर्का उद्घोष जो गरिँदै छ, यसले नेपाल र नेपालीको र्सवत्तोमुखी उत्थानका निम्ति आजसम्म असल र इमानदार नेता पैदा भइनसकेको यथार्थ र्सवत्र बोध गराएको छ । लोकतन्त्रको संस्थागत विकास नेपाली जनताका निम्ति अझै आकाशको तारातुल्य नै रहेको यसैबाट प्रस्टिएको छ ।