‘मर्न बरू गाह्रो नहोला तर सिनेमा छोड्न मुस्किल छ’ : रेखा थापा

‘मर्न बरू गाह्रो नहोला तर सिनेमा छोड्न मुस्किल छ’ : रेखा थापा


– राजन घिमिरे

आज भन्दा १७ वर्ष अगाडि मिस कोशी सुन्दरी प्रतियोगितामा भाग लिएर आफ्नो उपस्थिति जनाएकी रेखा थापा आज नेपाली सिनेमा क्षेत्रमा बढी पढिने, सुनिने, बुझिने र देखिने अभिनेत्रीमा पर्छिन् भन्ने कुरा उनी आफैंले पनि सोचेकी थिइनन् । ‘यसलाई म निरन्तरताको प्रतिफलका रूपमा लिन्छु । चलचित्र विधामा समर्पित हुने मेरो जीवनको सोचले मलाई यो क्षेत्रसँग जोड्यो । मर्न बरू गाह्रो नहोला तर सिनेमा क्षेत्रबाट अलग हुन मलाई गाह्रो छ’, उनले सिने क्षेत्रप्रति आफ्नो समर्पणबारे बोलिन् ।

आज मंगलबार रेखाको जन्मदिन । सामाजिक सन्जाल उनलाई बधाई र शुभकामना दिनेहरूले भाइरल बनाइदिएका छन् । यो भाइरलमा रेखालाई साँच्चै माया गर्ने र मायाको नाटक गर्नेहरू पनि समेटिएका छन् । जे होस्, आलोचकहरूलाई पनि आफ्नो बारेमा मन नलागी–नलागी सकारात्मक कुरा लेख्न बाध्य पार्न सक्ने रेखाको क्षमताको तारिफ गर्नैपर्छ । पहिलो चलचित्र हिरोदेखि रिलिज हुन लागेको चलचित्र मालिकासम्म आइपुग्दा रेखाले कहिले पनि पछाडि फर्कनु परेको छैन ।

कहिले सिनेमा त कहिले राजनीति उनी चर्चामा आइरहने कडी बनिरह्यो । रेखासँगै सिनेमा क्षेत्रमा आएकाहरू आज गुमनाम छन् । कतै केही चासो, चर्चा र खोजी छैन तिनीहरूको, तर रेखा निरन्तर लागिरहनु र टिक्न सक्नु पनि उनको खुबी वा क्षमताको कुरा हो ।

कलाकारिताबाटै कमाएको पैसाले फिल्म बनाउँदा केही हिट भए त केही फ्लप तर पनि रेखा विचलित भइनन् ।‘जीवन र सृजना उस्तै हो, यसमा उतारचढाव आउँछन् । डगमगाउनु हुन्न र यात्रा जारी राख्नुपर्छ भन्ने मान्यता मेरो छ,’ यस्तो छ रेखाको आत्मबल ।

सस्ता कथा बोकेर त्यस्ता कथामा सिनेमा बनाउन र मिडियामा करौडौँ क्लबका कुरा गरेर हौवा पिटाउन उनलाई पनि आउँथ्यो तर उनले त्यस्तो कहिले पनि गरिनन् । आफूलाई जिम्मेवार कलाकारको रूपमा प्रस्तुत गरेर आफ्नो कला–सृजनामार्फत समाजमा केही सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ भन्ने कुराले उनलाई सधैं प्रेरित गर्यो । ‘रूद्रप्रिया त्यसैको उपज थियो भने मालिका पनि त्यस्तै हो’, उनले थपिन्, ‘म कलाकारितामा च्याँखे थाप्न पहिला पनि आएको थिइनँ र अहिले पनि होइन । जीवन र कलाकारिताको पूरै गेम खेल्ने सोच र उद्देश्य लिएर आएकी छु म । क्षणभरको लागि फुत्त च्याँखे थापेर व्यक्तिगत स्वार्थ पूरा हुनासाथ भाग्नेमा परिनँ म ।’

‘रेखा थापा कि देखा थापा ?’ भनेर उनको आलोचना गर्नेहरू पनि प्रशस्त छन् यहाँ, तर रेखाले अहिले बजारमा आएजस्तो बेडसिन, किस सिन, टङकिस सिन, अर्धनग्न सिन दिएको यो पंक्तिकारलाई पनि जानकारी छैन तर आज पोर्न फिल्मलाई नै माथ गर्ने जस्ता छाडा दृश्य दिने केहीको आलोचना हुन छाडेको छ । लाग्छ, नेपाली समाज अब निकै एड्भान्स हुँदै छ । रेखाले जाबो मिनीस्कर्ट लगाउँदा ‘देखा थापा’ भनेर आलोचना गर्नेहरू नेपाली पर्दामा जिब्रो नै टोक्नुपर्ने अवगस्थाका दृश्य दिनेहरूको आलोचना गर्न नसक्नु भनेको शायद कथाले मागेर होला ।

चलचित्र क्षेत्रमा दह्रो र बलियो खम्बा गाडेकी रेखाको निरन्तरता, निडरता र क्रियाशीलता नै उनको ‘वाह’ गर्नलायकका पक्ष हुन् । नेपाली सिनेमालाई गाउँसम्म पुर्याएर कलाकारहरूको क्रेज यतिसम्म पनि हुन्छ भनेर उदाहरणसहित पेस गर्न सक्ने रेखाजस्तै शहरमा मात्र होइन कि दुर–दराजसम्म आफ्नो उपस्थिति जनाउने थोरै कलाकार छन् भन्नु अतिशयोक्तिपूर्ण नठहरिएला ।