गण्डकी प्रदेश सरकारद्धारा ‘हेल्लो मुख्यमन्त्री’ सेवा शुभारम्भ

गण्डकी प्रदेश सरकारद्धारा ‘हेल्लो मुख्यमन्त्री’ सेवा शुभारम्भ


गण्डकी प्रदेश सरकारले सोमबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ टेलिफोन सेवा प्रारम्भ गरेको छ ।

सेवा शुरु भएसँगै टेलिफोन नं १०९४ मा फोन गरेर सर्वसाधारणले समस्या एवं गुनासो मुख्यमन्त्रीसमक्ष पु¥याउन सक्नेछन् ।

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा सर्वसाधारणको गुनासोको सुनुवाइ र सम्बोधनका लागि ‘हेल्लो मुख्यमन्त्री’ विद्युतीय प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने छ ।

प्रदेश सरकारका काम कारवाहीका साथै सुझाव, प्रतिक्रिया, गुनासो सम्बोधनका लागि हेल्लो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । सेवाको प्रभावकारिता र सुशासनका लागि यो कार्यक्रम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उनले यसले जनता र नेताबीचको सम्बन्ध अझै नजिक र प्रगाढ बनाउने बताए ।

मुख्यमन्त्री गुरुङले विकास निर्माण लगायत सरकारले तय गर्ने योजनाका लागि सर्वसाधारणका सुझाव महत्वपूर्ण हुनेमा जोड दिँदै प्राकृतिक विपद् लगायतका समस्याको जानकारीका लागि पनि यो सेवा बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

सेवा शुभारम्भ कार्यक्रममा सोमबार मुख्यमन्त्री गुरुङले फोनमार्फत दुई जना सर्वसाधारणको गुनासोको जवाफ दिएका थिए । उनिसँग पोखरा सिमपानीका कृष्ण पौडेल र नदीपुरका उपेन्द्र पौडेलले पर्यटन विकास, पर्यटकको सुरक्षा तथा बसाइ लम्ब्याउनुपर्ने जिज्ञासा राखेका थिए ।

जवाफमा मुख्यमन्त्री गुरुङले पर्यटनलाई प्रदेशले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै दीर्घकालीन योजनाका साथ सरकार अघि बढ्ने बताए । उक्त नम्बरमा फोन गरी सर्वसाधारणले आफ्नो सुझाव तथा समस्या टिपाउनाका साथै मौखिकरूपमा उजुरी दिन सक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयका सचिव लालमणि ओझाले तत्कालका लागि कार्यालय समय १० देखि साँझ ५ बजेसम्म सेवा सञ्चालन हुने जानकारी दिए । नागरिकको गुनासो सुनुवाइका लागि दुई जना कर्मचारी खटिनेछन् भने अन्य समयमा आएको उजुरी सिधै रेकर्ड गराउन सक्ने व्यवस्था गरिएको बताइएको छ ।