बलात्कार एवम् हत्याका अभियुक्तले अदालतमा बयान फेरे

बलात्कार एवम् हत्याका अभियुक्तले अदालतमा बयान फेरे


गत साउन १० गते कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । १३ वर्षीया निर्मलालाई दिनदहाड नै बलात्कार गरी पोल खुल्ने डरले घाँटी निमोठेर हत्या गर्ने दिलिपसिंह विष्ट रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

४१ वर्षीय विष्ट करिव दशकअघि आफन्तको हत्या गरी जेल परेर रिहा भएका पात्र हुन् । आफ्नै भिनाजुको हत्या गरेर जेल परेका र छुटेको वर्षदिन नपुग्दै उनी बलात्कार र हत्या जस्तो जघन्य अपराधमा मुछिएका छन् ।

भीमदत्त नगरपालिका–१९ बस्ने पटके अभियुक्त विष्टले साउन १० गते दिउँसो निर्मलालाई जबर्जस्ती गरेको र पोल खुल्ने डरले हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । तर प्रहरीसमक्ष दिएको बयान सोमबार अदालतमा पेश गरिँदा उनले बदलेका छन् । प्रहरीसमक्ष दबाबमा बयान दिएको भन्दै उनले आफू बालिकाको बलात्कार र हत्यामा संलग्न नभएको भन्दै इन्कार गरेका हुन् । तथापि, एक अपराधीले बयान फेरेर अनुसन्धान कार्यलाई अल्मल्याउन खोज्नु अनौठो विषय नभएको सम्बन्धित विज्ञको भनाई छ ।

प्रहरीलाई दिएको बयानमा विष्टले साउन १० गते दिउँसो साइकलमा सवार भएर घरतर्फ गइरहेकी निर्मलाको साइकलको चेन फुत्किएको, त्यो बनाइदिने बहानामा आफूले उनलाई जबर्जस्ती झाडीमा लगेर बलात्कार गरेको र चिच्याएर पोल खोल्ने डरका कारण हत्या गरेको खुलासा गरेका छन् । उनी गत आइतबार राती पक्राउ परेका थिए । हत्या घटनाको अनुसन्धान शुरु गरिएकै बेला पनि पक्राउ परेका भए पनि सामान्य बयानपछि प्रहरीले उनलाई छोडिदिएको थियो । तथापि, विष्टमाथि प्रहरी निगरानी जारी नै थियो ।