१ सय ११ मेगावाटको रसुवागढीमा मुख्य सुरुङ पूरा

१ सय ११ मेगावाटको रसुवागढीमा मुख्य सुरुङ पूरा


जडित क्षमता १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । आयोजनाको दोस्रो अडिटबाट तल तथा तेस्रोबाट माथि पर्ने २ हजार ३ सय ३ मिटर लामो खण्ड २ हजार ९ सय ५ मिटर विन्दुमा पुगेर टुङ्गिएपछि आयोजनाको मुख्य सुरुङ छेडिएको हो ।

चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्ल्युइ) ले सिभिल संरचना निर्माणको जिम्मा पाएको थियो । कम्पनीले आयोजनाको ४ हजार १ सय ८५ मिटर सुरुङ पूरा गरेको रसुवागढी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले बताए । उनका अनुसार चिनियाँ ठेकेदारले २४ घन्टा काम गरेर सोमबार बिहान ३ बजे मुख्य सुरुङ पूरा गरेका हुन् । ‘अब ठेकेदारले सुरुङको ढलान सुरु गर्नेछ ।’ उनी भन्छन्, ‘७ मिटर गोलाकार सुरुङ पूरा गर्न कम चुनौतीको काम थिएन् । कुनै प्रकारको भौगर्भिक समस्या बिना नै सुरुङ पूरा हुनुले हामीलाई खुशी तुल्याएको छ ।’

२०७१ मंसिरबाट आयोजनाको सूरुङ खन्ने काम शुरु गरिएको थियो । आयोजनाले सुरुङ निर्माणको कार्य साढे ३ वर्ष अवधिमा पूरा गरेको हो । २०७२ वैशाखको भूकम्प, भारतीय नाकाबन्दी र भोटेकोसी नदीमा आएको बाढीले आयोजना प्रभावित भएको थियो । लामो समय अवरुद्ध भएको आयोजनाको काम पुनः सुचारु गरेर ठेकेदारले सुरुङ निर्माणलाई तीव्रता दिएको आयोजनाको दावी छ ।

यता, आयोजनाका सिनियर सिभिल इन्जिनियर भरत गुरागाईंले आगामी ७ देखि ८ महिनामा ठेकेदारले ढलान पूरा गरेर हस्तान्तरण गर्नेछ । ६८ प्रतिशत निर्माण पूरा भएको आयोजनाबाट २०७६ फागुनभित्र ३ वटै युनिट सञ्चालन गर्ने लक्ष्य छ । ‘पहिलो युनिट २०७६ पुस, दोस्रो युनिट माघ र तेस्रो युनिट फागुनबाट सञ्चालन गरिनेछ ।’ आयोजनाका सिनियर सिभिल इन्जिनियर गुरागाईंले भने, ‘आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने २२० केभी चिलिमे हब शबस्टेसनमा जोडिनेछ ।’