प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश


सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको हो । विश्वकर्माका तर्फबाट वीरेन्द्र विश्वकर्माले गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दायर गरेका थिए ।

विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीशहरु चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेश आएकै दिन राति पुनः विश्वकर्मा पक्राउ परेका थिए । विश्वकर्मालाई व्यापारीसँग सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो ।