टर्कीस्थित अमेरिकी दूतावासमा गोली प्रहार

टर्कीस्थित अमेरिकी दूतावासमा गोली प्रहार


टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ । घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका एजेन्सीहरुले जनाएका छन् ।

टर्कीका एक सरकारी अधिकारीलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएअनुसार दूतावासमा छ ओटा गोली प्रहार भएको थियो । गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो । घटनास्थललाई अहिले सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको एएफपीले जनाएको छ ।

अमेरिकी धर्मगुरुको रिहाइका लागि इस्तानबुलद्वारा राखेको शर्त अस्वीकार गरेकै बेला यस्तो घटना भएको हो ।

टर्कीका विदेशमन्त्री मेवलुट काभुसोग्लुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘उत्तेजनात्मक आक्रमण’को निन्दा गरेका छन् ।

अमेरिकी प्रतिवन्धका बावजुद पनि टर्कीको हल्क नामक बैङ्कले इरानलाई सहयोग गरेको आरोपमा उक्त बैङ्कमाथि अनुसन्धान गरिरहेका समय टर्कीले आफ्नो भूमिमा बन्दी जीवन विताइरहेका अमेरिकी धर्मगुरु एन्ड्रु ब्रुन्सोन तथा अन्य अमेरिकी नागरिकको रिहाईका लागि उक्त शर्त राखेको थियो ।
टर्कीविरुद्ध हुनेगरी गतिविधि गरेको आरोपमा धर्मगुरुसहित केही अमेरिकी नागरिकलाई बन्दी बनाइएको छ । जसका कारण टर्की र अमेरिकाबीच व्यापारयुद्ध नै चलेको छ । जसको प्रभाबले टर्कीको मुद्रामा केही समयमा नै ब्यापक गिरावट आएको बताइएको छ ।