एसियाडमा ‘हारको ह्याट्रिक’ हासिल हुने सम्भावना

एसियाडमा ‘हारको ह्याट्रिक’ हासिल हुने सम्भावना


– श्रीविक्रम भण्डारी (इन्डोनेसिया, जकार्ता)

इन्डोनेसियाको राजधानी जाकर्ता र पालेम्बङमा सञ्चालन भैरहेको १८औं एसियाली खेलकुद प्रतियोगितामा आज पनि नेपाली खेलाडीहरूले निरासाजनक प्रदर्शन गरेका छन् । प्रतिस्पर्धा गरेका सम्पूर्ण खेलमा नेपाली खेलाडीहरू प्रायजसो पहिलो राउण्डमै पराजित भएका छन् ।

भदौ ४ गते आइतबार नेपाली खेलाडीले पाराग्लाईडिङ, तेक्वान्दो, पौडी, साइक्लीङ, सुटिङ, टेनिस, फेन्सिङ, उसु र ब्याडमिन्टनमा प्रतिस्पर्धा गरेका थिए । तेक्वान्दोमा एक खेल जित्नुबाहेक अन्य सबै खेलमा नेपाली खेलाडीहरू पहिलो राउण्डबाटै बाहिरिएका हुन् ।

तेक्वान्दोमा सागर गुभाजुले भुटानका दोर्जे तेन्जिङलाई जित्नुबाहेका अन्य खेलाडीले विजयको स्वाद चाख्न पाएनन् । ५८ केजीतर्फ गुभाजुले तेन्जिङलाई प्वाइन्टको आधारमा ५४–४० अन्तरले पराजित गरेका थिए । तेन्जिङलाई पराजित गरेर प्रिक्वाटर फाइनलमा पुगेका गुभाजु दोश्रो प्रतिस्पर्धामा भियतनामका खेलाडी भो क्वाक हुङ संग २५–५ को ठूलो अन्तरले पराजित भएका थिए । भियतनामका खेलाडी हुङसंगको प्रतिस्पर्धामा गुभाजु दोश्रो राउण्डमै ठूलो प्वाइन्टको अन्तर कारण उनले तेस्रो राउण्ड खेल्न पाएका थिएनन् ।

त्यस्तै आज महिलातर्फ तेक्वान्दोमा नेपालले दुईवटा तौल समुहमा प्रतिस्पर्धा गरेको थियो । ५३ केजी तौल समुहमा नेपालकी निमा गुरुङ लेबनानकी खेलाडी अओउनसंग २३–१० को अन्तरले पराजित भएकी थिइन् । यो खेलमा निमाले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिए पनि उनले ठूलो अन्तरले पराजय भोग्नुपरेको थियो । यो पराजयसँगै उनी प्रतियोगिताबाट बाहिरिएकी छिन् ।

त्यस्तै, ६७ केजी पहिलो राउण्डमा संगीता बस्यालको भिडन्त फिलिपिन्सकी खेलाडी आरपोन डरलेनी भईसँग भएको थियो । उत्कृष्ट प्रदर्शन गरेकी संगीता २०–१७ अन्तरमा अंकको आधारमा पराजित भएकि थिइन् । पहिलो राउण्डमा पछि परेपनि दोश्रो राउण्डमा संगीताले १ अंकले अग्रता लिएकि थिइन् । तर अन्तिम राउण्डमा पुनः पछि पर्दा संगीता पराजित भइन् ।

यसरी एसियाडमा पदकको आशा गरेका तेक्वान्दोका खेलाडी एकपछि अर्को गर्दै पराजित भएपछि एसियाडमा तेक्वान्दोले पदक जित्ने सम्भावना क्षीण भएर गएको छ । अबका खेलमा तेक्वान्दो खेलाडीले कस्तो प्रदर्शन गर्छन् त्यसैमा आश बचेको छ । यदि यी खेलाडीले भोलिको खेलमा पनि पदक जित्न सकेनन् भने तेक्वान्दो खेलाडी रित्तो हात स्वदेश फर्कने छन् । यदि इन्डोनेसिया एसियाडमा पनि तेक्वान्दोले पदक जित्न सकेन भने एसियाडमा तेक्वान्दोले कुनै पनि पदक नजितेको तेस्रो पटक हुनेछ । अर्थात तेक्वान्दोले तीनवटा एसियाडमा पदक नजितेर हारको ह्याट्रिक हासिल गर्नेछ ।

यसैगरी आज १०० मिटर फ्रिस्टाइल पौडीमा नेपालकी चर्चित पौडी खेलाडी गौरीका सिंह र टीसा शाक्यले प्रतिस्पर्धा गरेका थिए । गौरिका र टीसाले नामअनुसारको खेलको प्रदर्शन गरेपनि आफ्नो समयमा भने सुधार गर्न सकेनन् । गौरिका आफ्नो हिटको समुहमा छैठौं स्थान हासिल गरेकी थिइन् भने टीसा अन्तिम तथा आठौं स्थानमा रहन पुगिन् ।