गौरीले सिड्नीमा तिजको रहर मेटाउने

गौरीले सिड्नीमा तिजको रहर मेटाउने


राजन घिमिरे

आधिकारिक रूपमा तिज आउन अझैं एक महिना बाँकी छ । तर, प्रवासमा रहेका नेपाली नारीलाई भने तीजको मौसमले छोइसकेको छ । यसमा पनि अष्ट्रेलिया त एक कदम अघि नै देखिएको छ ।

अष्ट्रेलियामा गत साताबाट शुरू भएको तीजसम्बन्धी विभिन्न सांस्कृतिक कार्यक्रमहरूले राम्रै साथ पाइरहेको छ । यसैक्रममा तिजसम्बन्धी कार्यक्रममा सहभागी हुन अभिनेत्री गौरी मल्ल सिड्नी पुगेकी छिन् । उनी आज सोमबार सिड्नी पुगेकी हुन् ।

गौरीलाई सिड्नी एअरपोर्टमा कार्यक्रम आयोजकहरूले स्वागत गरेका थिए । सो अवसरमा गौरीले भनिन्, ‘पहिलोपटक अष्ट्रेलियामा रहनुभएका नेपालीहरू माझ प्रस्तुत हुन पाएकी छु, साह्रै खुशी लागेको छ । म यहाँ रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भरपूर मनोरन्जन दिने छु ।’

नेप्मार्ट र लक्ष्मी होम लोनको प्रस्तुति तथा बाबा एजुकेशन कन्सल्टेन्सी एसोसिएयट रहेको यस कार्यक्रममा गायिका सुनिता दुलालको पनि बेजोड प्रस्तुति समेटिने आयोजकको भनाई छ । अगष्ट २५ तारेखका दिन सिड्नीको हर्षभिलमा रहेको मराना अडोटिरिएम हलमा कार्यक्रम आयोजना हुने बताइएको छ ।

‘पहिलो पटक नेपाली कलाकारिता क्षेत्रकी हस्तीलाई स्वागत गर्न पाउँदा हामी पनि कम खुशी छैनौँ । यो हाम्रो लागि गौरवको कुरा हो’ न्यान्सी पुन र रविन्द्र कुमार शर्माको भनाई थियो ।

कार्यक्रममा अभिनेत्री गौरी मल्लले आफूले अभिनय गरेका चलचित्रका चर्चित गीतहरू प्रस्तुत गर्ने छिन् भने तीजको बहुचर्चित गीत ‘तीजको रहर आयो बरि लै ‘मा उनले दर्शकहरूसंगै नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गायिका सुनिता दुलालको दर्शकहरूलाई छमछमी नचाउने प्रस्तुति रहने छ ।