संसदमा सांसद सिंहको प्रश्न- ‘हाम्रा प्रधानमन्त्री खड्गप्रसाद कि करप्रसाद ?’

संसदमा सांसद सिंहको प्रश्न- ‘हाम्रा प्रधानमन्त्री खड्गप्रसाद कि करप्रसाद ?’


सरकार एवम् स्थानीय सरकारद्वारा मनपरी ढंगमा बढाईको करको विरोधमा सर्वत्र आवाज उठिरहेको छ । यसै सन्दर्भमा प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा पनि सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् ।

स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरिएको गुनासो सांसदहरुले गरे । करका विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पष्ट निर्देशन दिन सांसदहरूले सरकारसँग आग्रह गरे ।

नेपाली कांग्रेसका प्रभावशाली सांसद अमरेशकुमार सिंहले जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमा समेत कर लगाएर सङ्घीय शासन प्रणालीमा नै आँच आउने काम गराइएको आरोप लगाए । जनतालाई राहत दिने प्रतिबद्धता जनाएर दुई तिहाईको सरकार बनाएका प्रधानमन्त्री ओलीप्रति ब्यंग्य गर्दै नेता सिंहले ‘मुलुकका प्रधानमन्त्री खड्गप्रसाद हुन् कि करप्रसाद ?’ भनी प्रश्न गरे ।

कांग्रेसकै सांसद गगन थापाले पनि विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ख्याल गर्न आग्रह गरे ।