जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै

जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै


सुनसरीको हरिनगर गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको छ ।

जनप्रतिनिधि नभएको बेलामा जीर्ण रहेको विभिन्न सडकहरु बन्न थालेपछि स्थानीय बासिन्दाले विकास निर्माणले गति लिएको महशुस गरेका छन् । गाउँपालिका क्षेत्रभित्र एकै पटक सात वटा कालोपत्रे सडक बन्ने भएपछि खुशी लागेको स्थानीय नइम अन्सारीले बताए ।

गाउँपालिका अध्यक्ष गफार अन्सारीको पहलमा घुस्की देवानगञ्ज सडक करीब तीन किलोमिटर, वसन्तपुरदेखि घुस्की सीमासम्म करीब छ किलोमिटर बाटो कालोपत्रे हुने भएको गाउँपालिकाले जानकारी दिएको छ ।

त्यस्तै घुस्की अर्नमा जोड्ने करीब तीन किलोमिटर सडक कालोपत्रे हुने र हरिनगर वसन्तपुर करीब तीन किलोमिटर सडक पनि कालोपत्रे गरिने बताइएको छ ।
वसन्तपुर बेस क्याम्प करीब पाँच किलोमिटर सडक , भुटाहा– बसमतिया चार किलोमिटर सडक र हरिनगर गौतमपुर नयाँ हाटसम्म करीब साढे चार किलोमिटर सडकको कालोपत्रे हुने भएको अध्यक्ष अन्सारीले बताए ।

सडक निर्माणका लागि टेण्डर आह्वान गरेर विभिन्न निर्माण कम्पनीलाई जिम्मा दिइसकेको अध्यक्ष अन्सारीको भनाइ छ । जनप्रतिनिधि आएपछि एकै पटक सात वटा ठूला तथा साना सडक कालोपत्रे हुने भएको हो । सडक अभावका कारण वर्षाको समयमा हिलाम्ये र गर्मीको बेला धुलाम्य सडकमा आवतजावत गरिरहेका स्थानीय सडक बनेपछि सो समस्याबाट मुक्ति हुने स्थानीय चन्दन मेहताको भनाइ छ ।