बिचौलिया र ब्यापारीको मिलेमतोमा तरकारीको मुल्य आकाशियो

बिचौलिया र ब्यापारीको मिलेमतोमा तरकारीको मुल्य आकाशियो


छविलाल बगाले
पालुङमा प्रतिकेजी ३५ देखि ४० रुपैयाँमा पाइने काउली काठमाडौंस्थित तरकारी बजारका होलसेल पसलहरुमा ७० देखि १ सय १५ रुपैयाँमा बिक्रिबितरण हुने गरेको तथ्य फेला परेको छ । जुन काउली खुद्रा पसलहरुबाट उपभोक्ताहरुले प्रतिकेजी १ सय ५० रुपैयाँमा खरिद गर्ने गर्दछन् ।
यस्तै, भोजपुरमा ५० रुपैयाँ प्रति केजी पर्ने अकबरे खुर्सानी कालीमाटी बजारमा २ सय ५० रुपैयाँमा खुलेआम बिक्रि वितरण हुने गर्दछ । यि त केवल उदाहरण मात्रै हो । किसानमारा बिचौलियाले किसानलाई उत्पादन मुल्यसमेत नदिई कम मुल्यमा तरकारी खरिद गरी महंगो मुल्यमा बिक्रि वितरण गर्ने गरेका छन् ।

बिचौलियाहरुले कालीमाटी तरकारी बजारका ब्यापारीसँग सरकारले करको दायरा बढाउँदा तरकारीको मूल्य छुनै नसक्ने गरी अकाशिएको बताउँदै महंगो मुल्यमा तरकारी बेच्दै आएका छन् । विचौलियाले सरकारको बद्नाम गरेर तरकारीमा चलखेल गरि मोटो रकम कमिशन खाइरहेका छन् । जसले तरकारीको मूल्य कृत्रीम रुपमा बढिरहेको छ । जसका कारण तरकारीको भाउ अस्वाभाविक रुपले बढ्दा उपभोक्ताको भान्सा महंगो भएको छ । तरकारी लगायत खाद्य वस्तुमा सरकारले अनगमन नगर्दा विचौलियाले मोटो रकम कमिशन लिने गरेकाले तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको छ ।

काठमाडौंको कालीमाटी तरकारी बजारमा यतिबेला हरियो तरकारीको मुल्य सोध्दा अचम्म लाग्दो छ । बजारमा प्रति केजी १ सय रुपैयाँभन्दा कममा हरियो तरकारी पाउनै छाडेको छ । कालिमाटी बजारमा घिऊ सिमि प्रति केजी १ सय रुपैयाँमा विक्री भइरहेको छ । कागती करिब दुईसय पचास रुपैयाँमा विक्री भइरहेको छ । यहि बाट थाहा हुन्छ कि विचौलियाले कति कमिशन खाइरहेका छन् । पाँच सय रुपैयाँको तरकारीले दुई दिन समेत नपुग्ने उपभोक्ताहरु बताउँछन् । आलु, प्याज, काउली, मुला, गोलभेडा लगायतको मुल्य सोध्न नै डरलाग्ने भइसकेको छ ।

तर कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले तराईमा बाढी आइरहेकाले आपूर्ति कम भएको बताउँदै अझै दुईमहिना महँगी कम नहुने जानकारी दिए । पौडेलले पनि बिचौलियाकै भाषा बोललेको उपभोक्ताहरुको गुनासो छ । जबकि काठमाडौमा काभ्रे, गोरखा, चितवन, धादिङबाट मात्रै ठूलो मात्रामा तरकारी आयात हुने गरेको छ ।

यता, खुद्रा व्यापारीहरुले भने वर्षाका कारण आधा तरकारी ल्याउँदा ल्याउँदै कुहिएर जाने अवस्थाले मुल्य बढाउनै पर्ने अवस्था आउने गरेको जिकिर गर्छन । सरकारले प्रभावकारी अनुगमन नगर्दा कालिमाटी बजारमा विचौलियाहरुको विगविगी बढेको छ । जसले गर्दा आम उपभोक्ता तरकारी किन्नै नसक्ने अवस्थामा पुगेका छन् ।

कालीमाटी तरकारी बजारमा मध्यरातमा अनुगमन
उपभोक्ताहरुले तरकारीमा अस्वभाविक मुल्यबृद्धि भएको गुनासो गरेपछि सोमबार मध्यरातमा कालीमाटी फलफुल तथा तरकारी बजारमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गरेको छ । उपभोक्ताहरुको गुनासो बढेपछि टोलीले यसअघि तरकारी आयात हुने धादिङ र मकवानपुरका विभिन्न स्थानमा समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा किसानले उत्पादन गरेको तरकारी बिचौलिया, व्यापारी हुँदै उपभोक्ताको भान्सामा पुग्दा चौबर महंगो हुने गरेको प्रमाणित गरेको छ । सोही प्रमाणका आधारमा विभागका शाखा अधिकृत दीपकराज पोखरेलको टोली तरकारी बजारमा अनुगमनका लागि पुगेको हो ।

हावाको भरमै तरकारी ल्याएर बेचिन्छ
कुनैपनि सामान खरिद गर्दा बिलविजक अनिवार्य गरिएको छ । ट्रकभरी राखेर ल्याइएको तरकारीको विल र विजक केही नभेटिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत पोखरेल बताउँछन् । ‘हामी मध्यरातमा तरकारी बजारको अनुगमन गर्न पुग्दा तरकारी ल्याएका ट्रकहरुसँग विल जिक माग्दा चालक नै फरार भए ।’ शाखा अधिकृत पोखरेलले भने, ‘बिचौलिया र कालीमाटी तरकारी बजारका ब्यापारीबीच ठूलो चलखेल छ ।’ अनुगमन टोलीले कालीमाटी तरकारी बजारबाट दुई ट्रक नियन्त्रणमा लिएको छ । उपत्यका बाहिरबाट फर्सी र काक्रो लिएर आएका दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि विभागको टोलीले नियन्त्रणमा लिएको हो ।

ब्यवसायीद्धारा अनुगमनको बिरोध
मध्यरातमा तरकारी बजारको बेथीतीबारेको अनुगमन गर्न पुगेको टोलीलाई व्यापारीहरुले बिरोध गरेका थिए । उनिहरुले अनुगमन नगर्न भन्दै आवाज निकालेपछि अनुगमन टोलीले कालीमाटी तरकारी बजारको मुल गेट नै बन्द गरेर अनुगमन थालेका थिए ।

मन्त्रीको पनि चासो
तरकारी बजारमा भएको बेतिथीबारे कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले समेत चासो ब्यक्त गरेका छन् । उहाँले बिचौलिया र व्यापारीका कारण किसान र उपभोक्ताहरु ठगिएको भन्दै अनुगमनलाई सक्रिय बनाउन निर्देशन समेत दिएका छन् । उनले विलविजक जारी नगरी ल्याइएका तरकारी व्यापारीमाथि छड्के अनुगमन गर्न निर्देशन समेत दिएका छन् ।