गौर राइसमिलको जग्गा बिक्रि गर्ने मधेशवादी दलका नेतालाई कारबाही हुन्छ : नेता नेपाल

गौर राइसमिलको जग्गा बिक्रि गर्ने मधेशवादी दलका नेतालाई कारबाही हुन्छ : नेता नेपाल


पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं २ लाई भ्रष्टाचारमुक्त समाज बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

उनले आइतबार गृहजिल्ला रौतहटको राजदेवी नगरपालिका–७ अवस्थित सामुदायिक भवनको उद्घाटन गर्दै भ्रष्टाचारमुक्त समाज निर्माणमा सबैको सहयोगको अपिल गरे ।

वरिष्ठ नेता नेपालले प्रदेश नं २ कै नमुनाको रुपमा रहेको गौर नगरपालिकास्थित गौर राइसमिलको सार्वजनिक छ बिगाहा जग्गा मधेशवादी दलका केही नेताहरुले बिक्री वितरण गरेकामा आपत्ति जनाउँदै उनीहरुमाथि कानूनी कारवाहीे हुने चेतावनी दिए । सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न कडा कदम चालिरहेको उनले बताए ।

यसैबीच नेकपाद्वारा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपामा प्रवेश गरेका मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर महतोसहित सयौँ कार्यकर्तालाई स्वागत गरेका थिए ।

नेकपाका नेता सत्यनारायण भगतको सभापतित्व सम्पन्न कार्यक्रममा सांसदहरु प्रभु साह, नागेन्द्र चौधरी, कल्याणी खडका, डा बंशीधर मिश्र, लालबाबु यादव, रेखा झा, सरला यादव पनि सहभागी थिए ।