एसियाडको पहिलो दिन नेपालको भागमा पराजय मात्रै

एसियाडको पहिलो दिन नेपालको भागमा पराजय मात्रै


– श्रीविक्रम भण्डारी (इन्डोनेसिया, जाकर्ता)

इन्डोनेसियामा संचालन भैरहेको १८औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले आठ खेलमा प्रतिस्पर्धा गरेको थियो । प्रतिस्पर्धा गरेका आठै खेलमध्ये ब्याडमिन्टनतर्फ टीम इभेन्टमा नेपाललाई सफलता प्राप्त भए पनि अन्य सात खेलमा पराजयको मुख देख्नु परेको छ ।

नेपालले १८औं एसियाडको पहिलो दिन तेक्वान्दो, कराते, उसु, फेन्सिङ, रेश्लिङ, कबड्डी, ब्याडमिन्टन र फुटबलमा प्रतिस्पर्धा गरेको थियो । भदौ ३ गते आइतबार खेलिएका खेलमध्य फुटबलमा नेपालले पाकिस्तानमाथि ऐतिहासिक जित निकाल्ने अनुमान गरिए पनि नतिजा विपरीत आएको थियो । नेपाल पाकिस्तानसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरियो । नेपालको तर्फबाट भएको १ गोल पनि पाकिस्तानी खेलाडीले गरेको आत्मघाती गोल थियो ।

भदौ ३ गते भएका अन्य खेलमा नेपालले पदकको आशा नगरे पनि तेक्वान्दोबाट पदकको आशा गरेको थियो । तेक्वान्दोतर्फ महिला टीम पुम्सेमा काजिकिस्तान डिस्क्वालीफाई भएपछि नेपाल सोझै क्वाटर फाइनलमा प्रवेश गरेको थियो । नेपाल क्वाटर फाइनलमा पुगेपछि पदकको आशा गरिएको थियो । तर क्वाटर फाइनलमा नेपालको भिडन्त चाइनिज ताईपेईसँग पराजित भएपछि नेपालको पदक जित्ने सपना चकनाचुर भएको थियो ।

महिला टीम पुम्सेमा नेपाल क्वाटर फाइनलमा पुगेपछि नेपालले पहिलो दिनमै पदक जित्ने आसमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट खेलाडीहरूको हौसला बढाउन आयोजना स्थलमा पुगेका थिए । खेलमा नेपाल पराजित भएपछि निरास हुँदै एसियन भिलेज फर्केका थिए ।

सदस्यसचिव विष्टले महिला टीम पुम्सेमा पदकको निकै आशा गरेको बताउँदै पराजयपछि निकै कुठाराघातको अनभूति भएको बताए । त्यस्तै नेपाल तेक्वान्दो संघका प्रशिक्षक दीपक विष्ट, संगीना बैद्य, नोर्बु लामाले महिला पुम्से टोलीले सन्तोषजनक प्रदर्शन गरेको बताए ।