हजको कुम्भमेला शुरु, मक्कामा बीस लाख हजयात्री भेला

हजको कुम्भमेला शुरु, मक्कामा बीस लाख हजयात्री भेला


विश्वभरका बीस लाखभन्दा बढी मुस्लिम हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रूपमा लिइने हजयात्रा आइतबार (आज) देखि शुरु भएको हो ।

मुस्लिम धर्मावलम्बीको पाँच प्रमुख धार्मिक कार्यक्रममध्ये एक मानिने मक्काको हजयात्रा ६ दिनसम्म गर्ने परम्परा छ । ‘हजयात्राका लागि मक्कामा आउनु हरेक मुस्लिम धर्मावलम्बीको सपना हो,’ फ्रान्सेली हजयात्री सोलिमान बेन मोहरीले बताए ।

‘यो एउटा सर्वश्रेष्ठ र अन्तिम यात्रा हो, र यो मेरो सपना थियो, त्यही क्षण अहिले पाएको छु,’ ५३ वर्षीय मोहरीको भनाइ छ । हरेक मुस्लिम धर्मावलम्बीले जीवनमा एकपटक हजयात्रा गर्नुपर्ने धार्मिक विश्वास रहिआएको छ ।

हजयात्रा स्थलमा दशौँ हजार सुरक्षाकर्मी हजयात्रालाई सुरक्षित र व्यवस्थित तुल्याउन खटिएका छन् । हजयात्राका क्रममा भागदौडमा परी तीन वर्ष पहिले २,३०० हजयात्रीको मृत्यु भएको थियो ।

हजयात्रालाई सुरक्षित र व्यवस्थित गराउन साउदी अरबले यसपटक ‘स्मार्ट हज’ एप बनाएर त्यसमार्फत सूचना तथा जानकारी दिने प्रबन्ध मिलाएको छ । त्यस एपमा यात्रा योजनादेखि उपचारमा ध्यान दिनुपर्ने कुरा राखिएका छन् ।

साउदी अरबका गृहमन्त्रीले शनिबार मात्रै २० लाखभन्दा बढी हजयात्री मक्कामा आइपुगेको जानकारी दिए । हज गर्न इजिप्ट, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशबाट ठूलो संख्यामा मुस्लिम धर्मावलम्बी यहाँ भेला भएको गृहमन्त्रीले बताए ।

यात्रामा रहेका अधिकांशले आइतबार मक्काबाट हजयात्रा सुरु गरी राति मीना उपत्यकामा बास बस्नेछन् । त्यहाँ आगलागीबाट जोगाउन मद्दत गर्ने टेन्टहरूमा उनीहरू रहने अधिकारीको भनाइ छ ।

मक्काबाट मीनासम्मको आठ किलोमिटर सडकमा हजयात्रीलाई ओसार्न हजारौँ बस र अरू सवारीसाधन लामबद्ध हुन्छन् । धेरै हजयात्री यो सडकमा टन्टलापुर घामको पर्वाह नगरी पैदलै हिँड्ने गर्दछन् ।

सोमबार हजको मुख्य स्थान मीनाको माउन्ट अराफातमा उक्लिनेछन् र त्यहाँ पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्दछन् । इस्लाम धर्मअनुसार त्यसपछि उनीहरू अराफात र मीनाको बीचतिर रहेको मुज्दालिफातर्फ लाग्छन् र त्यहाँ कम्तीमा मध्यरातसम्म बस्छन् ।

उनीहरुले इद अल–अधा पर्वको पूर्वसन्ध्यामा त्यहाँ सैतानमाथि सांकेतिक रूपमा ढुंगा बर्साएपछि हजयात्रा समाप्त हुन्छ ।