समृद्धिको सपना बाँडेको सरकारले कर थोपरेको आरोप

समृद्धिको सपना बाँडेको सरकारले कर थोपरेको आरोप


नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार र उसको निर्देशनमा स्थानीय तथा केन्द्रमा समेत थोपरिएको करले जनता आक्रान्त भएको बताएका छन् । नेपाल महिला संघद्वारा आज कन्चनपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै डा. महतले समृद्ध नेपाल बनाउँछौँ भनेर झुठा आश्वासन दिई आएको सरकारले उल्टै जनतामा अव्यावहारिक रुपमा करको भारी बोकाइदिएको आरोप लगाउँदै यसले जनतामा निराशा मात्र होइन ठूलो त्रास छाएको बताए ।

दुई तिहाई बहुमतको र पाँच वर्षका लागि भनिएको यो सरकार पहिलो ६ महिनामै इतिहासमै सबैभन्दा बढी यसरी आलोचित भएको भन्दै उनले यो अवधिमै जनता वाक्क भएकोले सरकारको समृद्धि नामको सपना अब जनताले धेरै नपत्याउने दाबी गरे ।

सरकार अधिनायकवादतर्फ उन्मुख भएको र मनपर्दाे ढंगबाट शासन सञ्चालनको लक्षण देखाइसकेकोले सच्चियोस् भनेर कांग्रेसले यतिबेला अवसर दिएको उल्लेख गर्दै उनले यदि यस्तै क्रियाकलापक जारी राख्ने हो र जनतामा आशको सट्टा त्रास थोपर्दै जाने हो भने काङ्ग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।

नेपाली काङ्ग्रेसले अब आन्तरिक सुदृढिकरणका साथै संगठन निर्माण र देशव्यापी जागरण अभियान थालिसकेकोले नयाँ ढंगबाट अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
स्थानीय तहदेखि प्रदेश हुदै केन्द्रसम्म महिलाको सक्रिय सहभागिता र राज्य प्रणालीमा उनीहरुको आरक्षण दिलाउने नेपाली कांग्रेसको सरकारको कार्य नेपालका महिला दिदीबहिनीले कहिल्यै भुल्न नसक्ने पार्टी सहमहामन्त्री समेत रहेका डा. महतले जिकीर गरे ।