सरकार गम्भीर प्रकृतिका सूचना चुहावट रोक्दै

सरकार गम्भीर प्रकृतिका सूचना चुहावट रोक्दै


प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित ढंगले केही गम्भीर प्रकृतिका सूचना चुहावट हँुदा अनुशासनहीनता बढ्ने बताएका छन् ।

राष्ट्रिय सूचना दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज काठमाडौंमा आयोजित समारोहमा उनले गम्भीर सूचना चुहावट हुँदा राष्ट्रिय गोपनीयता पनि भंग हुने गरेकाले त्यसलाई सरकारले रोक्ने स्पष्ट गरे ।

अर्काे प्रसंगमा प्रधानमन्त्री ओलीले मुलुकको अग्रगामी विकास गर्न, जनतालाई थप अधिकारसम्पन्न बनाउन र लोकतन्त्र सुदृढीकरणका लागि संविधानमा भएका कमजोरी सच्याउन सकिने बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचनाको हकको मात्रै नभई सही सूचनाको सही सम्पे्रषणको हक सम्बन्धमा पनि सोच्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘हामीले अधिकारको मात्रै कुरा ग¥यौँ, प्राप्त भएका अधिकार प्रयोग गर्ने सन्दर्भमा कतिपय कुरा अपुग रहेछन् भने सो कुरा उठाउनु राम्रो हुन्छ, व्यक्तिका धेरै अधिकार मौलिक हकका रूपमा आइसके ।’

सूचनाको हकसँगै गोपनीयताको हक पनि रहन्छ भन्नेतर्फ सजग हुनुपर्ने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले स्वतन्त्रताको हकसँगै सामाजिक मर्यादा, दायित्व र कर्तव्य पनि बिर्सन नहुने बताए ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगकै क्रियाकलापबाट विद्यार्थीले आफ्नो उत्तरपुस्तिका र लोकसेवा आयोगका प्रतियोगीले आफ्नो प्राप्तांक हेर्न पाउनेलगायत नागरिकले सूचनाको हक उपभोग गर्न पाएको अवगत गराए ।

आयोगका आयुक्त किरणकुमार पोखरेलले लोकतन्त्रमा सबै निकाय आफैँ जवाफदेही र पारदर्शी हुनुपर्ने उल्लेख गर्दै नागरिक सूचना माग्न नआए पनि सम्बन्धित निकायले सूचना सार्वजनिक गर्नुपर्ने उल्लेख गरे । आयुक्त यशोदादेवी तिम्सिनाले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा कार्यान्वयन गर्नका लागि सरकारी निकायलाई जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउन पनि सूचनाको हक प्रमुख औजार हुने धारणा व्यक्त गरिन् ।