प्रचण्डमाथि घात गर्दै छन् केपी ?!

प्रचण्डमाथि घात गर्दै छन् केपी ?!


नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सरकार छ अहिले देशमा । उनीहरूले गरेको एकतालाई विश्वास गर्दै जनताले पनि स्थायी सरकारका लागि उक्त पार्टीलाई बहुमत दिएका हुन् । सरकार एकीकरणका बेला दुवै पार्टीका शक्तिशाली नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकार सञ्चालनबारे समय निर्धारण गरेका समाचार पनि बाहिर आएका हुन् ।

तर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले सरकार सञ्चालनका लागि भएको भनिएको समय–सहमति तोड्ने संकेत गरेका छन् । शनिबार प्रदेश २ को सभालाई सम्बोधन गर्दै ओलीले सो कुराको संकेत गरेका हुन् ।

उनले प्रदेश २ सभालाई सम्बोधन गर्दै भने– हामीबाट जनताले ठूलो आशा राखेका छन् । स्थानीय तहको निर्वाचन भएको करिब एक वर्ष भइसक्यो, तर जनताले अनुभूत गर्न सक्ने परिवर्तन भएका छैनन् । अब तपाईंहरूको कार्यकाल भनेको चार वर्ष मात्रै हो । यस अवधिमा जनताले अनुभूत गर्ने विकास निर्माणका काम सम्पन्न गर्नुहोस् ।

प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा उनले अगाडि भने– ‘तपाईंहरूको जस्तै मेरो कार्यकाल पनि पाँचै वर्षको मात्र हो, त्यसमा ६ महिना त व्यतीत भइसक्यो, अब यस्तै ९ वटा ६ महिना बाँकी छन् ।’

यसको अर्थ अब साढे चार वर्ष नै देशको प्रधानमन्त्री केपी ओली नै बन्ने हो भन्ने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ । यदि उनले यही संकेत प्रदेश २ सभाबाट गरेका हुन् भने यी दुई दलको गाँठो कत्तिको कसिलो बन्न सक्ला चर्चाको विषय बनेको छ ।