स्थानीय तहमा अझै ४३ हजार कर्मचारी अपुग

स्थानीय तहमा अझै ४३ हजार कर्मचारी अपुग


स्थानीय तहमा अझै प्रशासनतर्फ करिब १३ हजार र प्राविधिकतर्फ ३० हजार कर्मचारी अपुग छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा कर्मचारी दैनिक रूपमा पठाए पनि अझै प्रशासनतर्फ १२ हजार ८७१ कर्मचारी अपुग भएको मन्त्रालयका स्थानीय तह शाखाका प्रमुख प्रेम लुइँटेलले जानकारी गराए ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका स्थानीय तहमा प्रशासनतर्फ १८ हजार ३१ कर्मचारीमध्ये अहिले पाँच हजार १६० मात्र कर्मचारी छन् । सबभन्दा बढी नासु अपुग छ । बाह्र हजार ९६४ नायव सुब्बामध्ये ११ हजार ७२ अपुग छन् । उपसचिव लुइँटेलका अनुसार सहसचिव दुई, उपसचिव २१३, शाखा अधिकृत २७९, नायबसुब्बा ११ हजार ७२, खरदार एक हजार २७९ कर्मचारी अपुग छन् ।

मन्त्रालयले प्रशासनतर्फ सचिव एक, सहसचिव १८, उपसचिव ५३१, शाखा अधिकृत एक हजार २३८, नायबसुब्बा १२ हजार ९६४ र खरदार तीन हजार २७९ आवश्यक छ भने काठमाडौं महानगरपालिका दुई सहसचिवमध्ये एक पद खाली छ ।

यस्तै कामनपामै आठ उपसचिव पद रिक्त छ । अहिले ती शाखामा शाखा अधिकृतले काम चलाइरहेका छन् । यसैगरी ११ उपमहानगरपालिका दुईजनाको दरले २२ उपसचिव रहने व्यवस्था भए पनि अहिले नौ मात्र छन् ।

यस्तै ७५ हजारभन्दा बढी जनसंख्या भएका सबै नगरपालिकामा सबै उपसचिव पुगेका छन् भने ७५ हजारसम्म जनसंख्या रहेका ६८ नगरपालिकामध्ये एक नगरपालिकामा मात्र उपसचिवको पद रिक्त छ ।

यसैगरी ५० हजारसम्म जनसंख्या भएको १५१ नगरपालिकामा ५४ उपसचिव, २५ हजारसम्म जनसंख्या भएका ३१ नगरपालिकामा १७ उपसचिव, २५ हजार भन्दामाथि जनसंख्या भएका १२६ गाउँपालिकामा ११५ उपसचिव र ७७ जिल्ला समन्वय समितिमा पाँच उपसचिवको पद रिक्त छ ।

काठमाडौं महानगरमा सचिव र अन्य पाँच महानगरमा सहसचिवको दरबन्दी छ भने नगरपालिका र २५ हजारभन्दा माथि जनसंख्या भएका गाउँपालिकामा उपसचिव र २५ हजारभन्दा कम जनसंख्या भएका गाउँपालिकामा शाखा अधिकृत नै प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । प्राविधिकतर्फ पनि करिब ३० हजार कर्मचारी अपुग रहेका शाखा प्रमुख लुइँटेलले बताउनुभयो ।

‘प्राविधिकतर्फ पनि ठूलो मात्रामा कर्मचारी अपुग छ,’ उनले भने, ‘तर प्राविधिकतर्फका कर्मचारीलाई स्थानीय तहले नै करारमा राख्ने भएकाले पदपूर्ति भइरहेको छ । सरकारले स्थानीय तहलाई ५७ हजार ९६६ दरबन्दी स्वीकृत गरेको छ । नासु नपुग हुँदा नगरपालिकाका वडा कार्यालयमा कर्मचारीको अभाव छ । सात सय त्रिपन्न स्थानीय तहका ६ हजार ६ सय ६८ वडा कार्यालय छन् ।

सामान्य मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले अहिलेको अवस्थामा स्थानीय तहमा कर्मचारी पुऱ्याउन नसकिने बताए । ‘स्थानीय तहमा भएका जनशक्ति र जिल्ला तहमा रहेका सबै जनशक्तिलाई हामीले स्थानीय तहमा खटाएका छौँ,’ उनले भने, ‘तर अहिले भएका जनशक्तिबाट मात्र पदपूर्ति गर्न सकिँदैन ।’ उनले प्रदेश लोकसेवा आयोगबाट पनि आवश्यक जनशक्ति पूर्ति गर्न सकिने बताए ।