मस्कोसँगको साँगगाँठबारे ट्रम्पले दिए यस्तो आदेश

मस्कोसँगको साँगगाँठबारे ट्रम्पले दिए यस्तो आदेश


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसका कर्मचारी डन म्याकगान र अरू कर्मचारीलाई गत राष्ट्रपतीय चुनावमा मस्कोसँगको सम्भावित साँठगाँठका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आदेश दिइसकेको बताएका छन् ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सले म्याकगानले विशेष अनुसन्धाता रोबर्ट मुलरले गरिरहेको अनुसन्धानमा मद्दत गरेको छापेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । मुलरको टोलीले म्याकगानसँग तीनपटकमा ३० घन्टाभन्दा बढी अन्तर्वार्ता लिएको थियो ।

‘मैले ह्वाइटहाउसका सहयोगी डन म्याकगानसमेतका सबै कर्मचारीलाई मुलरको अनुसन्धान टोलीलाई सहयोग गर्न अनुमति दिएकै हो,’ ट्रम्पले ट्विटमा भनेका छन्, ‘यसबाहेक हामीले १० लाख पृष्ठ दस्तावेज पनि दिएका छौँ । इतिहासमा यो नै सबैभन्दा पारदर्शी हो । कुनै साँठगाँठ छैन, कुनै अवरोध पनि छैन । अनावश्यक खेदो मात्र ।’

ट्रम्पको विचारमा विशेष अनुसन्धाता रोबर्ट मुलरको अनुसन्धान आफ्नो राष्ट्रपतीय कार्यभारलाई बदनामी गर्ने मात्र हो, र उहाँले यो अनुसन्धान तत्काल टुंग्याउनुपर्छ भनी बारम्बार दबाब दिइरहेका छन् ।

टाइम्सका अनुसार म्याकगानमाथि संघीय जाँच ब्यूरोका निर्देशक जेम्स कोमेको बर्खास्ती, विशेष अनुसन्धान टोलीका प्रमुख मुलरमाथि राष्ट्रपतिले गर्न लागेको कारबाहीलगायतका पेचिला प्रश्न सोधेको बताइएको छ ।