गत आवमा नेपालबाट पाँच अर्बको हस्तकला सामग्री निर्यात

गत आवमा नेपालबाट पाँच अर्बको हस्तकला सामग्री निर्यात


आर्थिक वर्ष ०७४–७५ मा नेपालमा उत्पादित रु. पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री विदेश निर्यात गरिएको छ ।

सबैभन्दा बढी हस्तकलाका सामग्री संयुक्त राज्य अमेरिकामा निर्यात भएको छ । तीस प्रतिशतभन्दा बढी नेपाली हस्तकलाका सामग्री अमेरिका निर्यात गरिएको छ । नेपाल हस्तकला महासंघका महानिर्देशक डा. गोविन्दप्रसाद रेग्मी अमेरिकाबाट नेपाली हस्तकला सामग्रीको अत्यधिक माग आएको बताउँछन् । ‘रेशाजन्य र धातुजन्य हस्तकला सामग्री बढी मात्रामा अमेरिका निर्यात हुने गरेको छ,’ उनले बताए ।

नेपालले हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दा बढी मुलुकमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । सबैभन्दा बढी हस्तकलाका सामग्री ललितपुरमा उत्पादन हुन्छ । नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, हाडका सामान, सेरामिक सामान, सुर्तीजन्य सामान, ढाका, सिसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागजजन्य, रेसाजन्य, चाँदी, काष्ठकला र उलनजन्य सामान विदेश निर्यात हुँदै आएको छ ।

नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० संघ छन् । जिल्लागत संघ बाग्लुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, संखुवासभा र भक्तपुरमा रहेका छन् । वस्तुगत संघमा धातु, जुत्ता, सेरामिक्स, पस्मिना, कागजलगायत उद्योग आबद्ध छन् । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले फेल्ट, प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायत हस्तकलाका सामग्रीको विदेशमा अत्यधिक माग रहेको बताए । परम्परागत हस्तकलाका सामग्रीभन्दा नवोदित हस्तकलाका सामानको विदेशमा बढी माग छ ।

परम्परागत हस्तकलाका सामग्रीमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत रहेका छन् भने नवोदित (नयाँ)मा फेल्ट, प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका मालालगायत रहेका छन् । आव ०७३–७४ मा रु. चार अर्ब ८० करोडबराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको थियो । हाल महासंघमा एक हजार पाँच सय व्यवसायी आबद्ध भए पनि दुई सयदेखि चार सय व्यापारीले मात्र हस्तकलाका सामग्री नियमित रूपमा विदेश निर्यात गर्दै आएको बताइएको छ ।