देशबाट पाँच वर्षभित्र गरिबी अन्त्य गर्ने अर्थमन्त्रीको घोषणा

देशबाट पाँच वर्षभित्र गरिबी अन्त्य गर्ने अर्थमन्त्रीको घोषणा


अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्षभित्र देशबाट गरिबी अन्त्य गर्ने घोषणा गरेका छन् । शुक्रबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले सो घोषणा गरेका हुन् ।

उनले सो अवरमा दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले गरिबी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उल्लेख गरे ।

उनले संयुक्त राष्ट्र संघले घोषणा गरेकोभन्दा अघि नै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दाबी गरे । त्यसका लागि सरकारले पूर्वाधार विकासको काममा जोड दिएको उनको भनाइ छ ।

संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकासको लक्ष्यअनुसार सरकारले शिक्षा, विद्युत, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाइरहेको मन्त्री खतिवडाले बताए ।

सन् २०३० भित्र नेपालले दिगो विकास हासिल गर्ने लक्ष्य लिए पनि सोभन्दा अघि नै सो लक्ष्य हासिल हुने गरी सरकारले कामलाई तीव्रता दिएको उनको दाबी छ ।

उनले यसका लागि आवश्यक पूर्वाधार विकासको कामलाई अघि बढाउन सरकारले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन लागिपरेको स्मरण गराए । दिगो विकास लक्ष्य हासिल गर्न सरकार स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर जान तयार रहेको उनको भनाइ छ ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हासिल हुने गरी तथ्यांक संकलनको काम भइरहेको बताए । अनुगमन र मूल्यांकनको माध्यमबाट स्रोत र साधनको दुरुपयोग हुन नदिई दिगो विकास गर्न आवश्यक दीर्घकालीन योजना बनाउने काम भइरहेको उपाध्यक्ष कँडेलले बताए ।