‘सरकारकै कारण संघीयता धरापमा पर्दैछ’ : डा. महत

‘सरकारकै कारण संघीयता धरापमा पर्दैछ’ : डा. महत


नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारकै कारण संघीयता धरापमा पर्ने खतरा बढेको धारणा राख्नुभएको छ । उहाँले भन्नुभयो– ‘अहिलेको सरकारका अलोकप्रिय र जनविरोधी काम र निर्णयहरुका कारण ठूलो संघषबाट प्राप्त भएको संघीय शासन व्यवस्थाप्रति दिनप्रतिदिन जनताको वितृष्णा बढ्दै गएको छ ।’

पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै डा.महतले ‘सरकारले वैज्ञानिक कारणबिना तथा हचुवाका भरमा यसरी कर लगाइरहेको छ कि यसले जनतामा व्यवस्थाप्रति नै ठूलो निराशा र त्रास उब्जाएको छ, यसरी जनतामा त्रास छाउने र जनताको विश्वास नै नरहने हो भने कुनै पनि व्यवस्था दिगो बन्न सक्दैन’ भन्नुभयो ।

दुई तिहाई बहुमतको र स्थायित्वसहितको भनिएको वर्तमान सरकार बनेपछि जनतामा झन ठूलो निराशा छाएको र मुलुकमा राजनीतिक तरलता बढेर अब के होला भोलि के होला भन्नेजस्तो अवस्थाको सिर्जना भएको भन्दै उहाँले सरकारले यस्तो अवस्थाको सम्बोधनका लागि तत्कालै सच्चिन जरुरी भएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘सरकार तत्कालै सच्चिएन र जनतामा भरोसा भर्न सकेन भने नेपाली जनताले यो सरकारको विकल्प त खोज्ने नै छन्, त्यतिबेला संघीय शासन व्यवस्थाकै विकल्पमा जनता उभिए भने त्यो खतरापूर्ण अवस्थाको जिम्मेवारी पनि अहिले सरकारमा रहेको कम्युनिष्ट पार्टीले नै लिनुपर्छ ।’

जनतालाई काम गरेर व्यवसाय बढाउने अथवा फस्टाउने अवसर सिर्जना गरिदिए देशमा आर्थिक क्रियाकलापहरुमा वृद्धि हुने र यसबाट स्वतः करमा वृद्धि हुन जाने सजिलो र व्यवहारिक बाटो छँदाछँदै सरकारले उल्टै जनताले बेच्ने एउटा कुखुरो, भैँसी र माछामा कर लिने नीति बनाएर गरिब जनतामा त्रास मात्र सिर्जना गरेको उहाँले बताउनुभयो ।

नेपाली काङ्ग्रेसको नेतृत्व रहेका स्थानीय निकायहरूलाई यस्तो अनावश्यक र गरिब नेपालीलाई भार पार्ने खालको कर नलिन पार्टीले निर्देशन दिने जानकारी दिँदै सहमहामन्त्री डा. महतले काङ्ग्रेसको अहिलेको विरोध भनेको सरकारलाई सच्चिन दिएको चेतावानी हो भन्दै सरकारका यस्तै क्रियाकलापहरुका विरुद्ध काङ्ग्रेसले खबरदारी गरिरहेको बताउनभुयो ।

यदि सरकार सच्चिएर आएन र अहिलेकै अधिनायकवादी क्रियाकलापहरु जारी राख्ने, स्वतन्त्र प्रेसलाई पनि आफ्नो नियन्त्रणमा राख्ने दुष्प्रयास गर्ने, न्यायालयमा झन् बढी हस्तक्षेप बढाउनेजस्ता कामलाई निरन्तरता दिने हो भने काङ्ग्रेसले सरकारका विरुद्धमा कडा आन्दोलन शुरु गर्न बाध्य हुने चेतावनी पनि उहाँले दिनुभयो ।