काँग्रेसको आग्रहमा संसदीय समितिको सभापतिको निर्वाचन सर्ने

काँग्रेसको आग्रहमा संसदीय समितिको सभापतिको निर्वाचन सर्ने


कांग्रेसको आग्रह र सत्तापक्षले आन्तरिक तयारी गर्नुपर्ने भन्दै सभापतिको निर्वाचन पर सरेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा, राष्ट्रियसभा र संयुक्त सदनका १६ मध्ये एक मात्र लेखा समितिको सभापति विपक्षी कांग्रेसलाई दिने अडान राखेपछि कांग्रेसले औपचारिक छलफलको प्रस्ताव गरेको हो ।

कांग्रेसले राष्ट्रियसभामा एक र प्रतिनिधिसभामा तीनवटा समिति सभापति माग गर्दै आएको छ । संसद् सचिवालयले भदौ ३ गते राष्ट्रियसभा र भदौ ५ गते प्रतिनिधिसभाका १० वटा विषयगत समितिका सभापतिको निर्वाचन तोकेको थियो ।

यता, नेकपाले राष्ट्रियसभाका चारवटा समितिका सभापतिको नाम टुंग्याइसकेको छ । दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेकपाका भैरव सुन्दर श्रेष्ठलाई सभापति बनाइने तयारीमा नेकपा रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङलाई सभापति बनाइने तयारी रहेको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी समितिको सभापतिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी (पार्वती) रावलको चर्चा रहेको छ ।