पर्यटक भिसामा नेपाल आएर यसरी ठग्दैथिए बिटाली र नतालिला

पर्यटक भिसामा नेपाल आएर यसरी ठग्दैथिए बिटाली र नतालिला


आकर्षक पारिश्रमिक पाउने गरी काम गर्न पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई विदेशी नागरिकलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पुतलीसडकको एक घरमा कार्यालय खोली पोल्याण्ड पठाइदिने भनी ठगी गर्ने युक्रेनका २६ वर्षीय बिटाली विलय र २३ वर्षीय नतालिला मेल्नीचौकलाई महाशाखाको टोलीले विहिबार पक्राउ गरेको हो ।

पक्राउ व्यक्तिहरु सन् २०१६ अप्रिलमा पर्यटक भिसामा नेपाल आएर पुतलीसडकमा पिपुल वर्क गुप्र कार्यालय सञ्चालन गरी ठगी गरेको प्रहरीले जनाएको छ । महाशाखाका अनुसार उनीहरुले पोल्याण्ड पठाइदिने भनी उदयपुरका वुद्धिराज विष्टलगायत नौ जनालाई मासिक ९० हजारदेखि एक लाखसम्म कमाई हुन्छ भनी प्रतिव्यक्ति रु सात लाख ५० हजारसम्म लिने गरेको खुलेको छ ।

प्रहरीले उनीहरुसँग विभिन्न कम्पनीका ल्यापटप १० थान, विभिन्न कम्पनीका मोवाइल सात थान, पासपोर्ट दुई, कम्पनीको छाप तीन, स्क्यानर प्रिन्टर एक थान र विभिन्न कागजपत्रहरु बरामद गरेको छ ।