सम्भावित ठानिएका खेलले एसियाडमा पदक जित्लान् ?

सम्भावित ठानिएका खेलले एसियाडमा पदक जित्लान् ?


– श्रीविक्रम भण्डारी

सन २०१० मा चीनको ग्वाङझाउ र सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १६औँ र १७औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो रह्यो त्यो घामजस्तै छर्लङ्ग छ । त्यसभन्दा अघिका तीनवटा एसियाली खेलकुद प्रतियोगितामा लगातार ३/३ वटा कांस्य पदक जित्दै आएको नेपालले पछिल्लो दुई एसियाडमा निकै कमजोर प्रदर्शन गरेको छ । ग्वाङझाउमा १ कांस्यमा सीमित रहेको नेपालले इन्चोन एसियाडमा पनि त्यस्तै नियति भोगेको हो । नेपाल पदकविहीन भइसकेको अवस्थामा करातेकी विमला तामाङले कांस्य पदक जितेर नेपालको प्रतिष्ठा जोगाएकी थिइन् । यसरी अनुभवको आधारमा पनि प्रत्येक एसियाडमा स्तरीय प्रदर्शन गरेर ठूलो पदक जित्नुको साटो नेपालको प्रदर्शन फितलो र निराशाजनक रहँदै आएको छ । यसले नेपालको खेलको स्तरको उँभो गतितर्फ नभई अधोगतितर्फ उन्मुख भएको प्रस्ट रूपमा देख्न सकिन्छ ।

यसरी भोली (भदौ २ गते) देखि इन्डोनेसियाको राजधानी जकार्तामा आयोजना हुन गइरहेको १८औँ एसियाली खेलकुदमा नेपालको प्रदर्शन कस्तो रहला त्यो निकै चासोको विषय बनेको छ । यसपटक नेपालले सम्भावित पदक जित्ने खेलहरूमा तेक्वान्दो, बक्सिङ, कराते, उसु, जुडो र प्याराग्लाइडिङलाई प्रमुख रूपमा राखेको छ । एसियाली खेलकुदको इतिहास पल्टाउँदा अहिलेसम्म एसियाली खेलकुदमा नेपालले तीनवटा खेल तेक्वान्दो, बक्सिङ र करातेले मात्र पदक जितेको छ । ती खेलहरूमा सर्वाधिक १४ पदक तेक्वान्दोले जितेको छ । जसमा ऐतिहासिक रजत पदक पनि सामेल छ । उक्त रजत पदक तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा जितेकी थिइन् । त्यसपछि ६ वटा बक्सिङ र ३ वटा करातेले कांस्य पदक जितेका छन् । यी खेलबाहेक अन्य खेलहरूले एसियाली खेलकुदमा लामो समयदेखि सहभागिता जनाउँदै आए पनि अहिलेसम्म पदक जित्नुको त कुरै छोडौँ पदकको नजिकसम्म पुग्न सकेका छैनन् ।

१८औँ एसियाडमा नेपालको सहभागिताको चर्चा गर्दा अहिले पनि नेपालले यो खेलमा पदक जित्छ भनेर ठोकुवा गर्ने अवस्था छैन । हो, सम्भावित पदक जित्ने खेलहरूमा राष्ट्रिय खेलकुद परिषद्ले नयाँ खेलहरूलाई अगाडि सारे पनि ती खेलहरूले पदक जित्ने सम्भावना निकै न्यून छ । एसियाली राष्ट्रहरू नै ती खेलका जन्मदाता भएकाले उनीहरूको अगाडि नेपाली खेलाडीहरूके कस्तो प्रदर्शन रहला, त्यो सोझै अनुमान लगाउन सकिन्छ । अर्को कुरा, एसियाडमा पदक जित्न चानचुने तयारीले त पुग्दैन, त्यसकोे लागि नेपालले कस्तो तयारी गरेको छ, त्यो महत्वपूर्ण कुरा हो । दक्षिण एसियाली खेलकुद प्रतियोगिता होस् या एसियाली खेलकुद प्रतियोगितामा नेपालको तयारीको चर्चा गर्दा जहिले पनि नाक खुम्च्याउने अवस्था छ । सरकारले समयमा बजेट उपलब्ध नगराउने र अन्तिम समयमा दिने अपुग बजेटमै नेपाली खेलाडीले हतारहतारमा प्रशिक्षण गर्नुपर्ने परम्परा छ । जुन यो १८औँ एसियाडमा पनि दोहोरिएको छ । यस्तो अवस्थामा नेपालले एसियाडमा पदक जित्नु आफैँमा ठूलो उपलब्धि हुने कुरामा दुईमत छैन ।

१२औँ सागमा एउटा पनि स्वर्ण पदक नजित्ने तेक्वान्दो, उत्कृष्ट प्रदर्शन गर्न नसक्ने बक्सिङ र करातेबाट एसियाडमा पदकको आशा राख्नु कत्तिको जायज छ ? त्यसको विश्लेषण हुनु जरुरी छ ।

एसियाडमा पदक जित्ने हो भने सरकारले खेलाडीहरूलाई त्यही किसिमको प्रशिक्षण दिन आवश्यक छ । जे कुराको पनि तयारी गर्दा दीर्घकालीन सोच र दूरदर्शिताको खाँचो हुन्छ, त्यो कुरा अहिलेसम्म नेपालको खेलकुद इतिहासमा देखिएको छैन । राष्ट्रिय हुन् या अन्तर्राष्ट्रिय, सहभागिता होस् या आयोजना सबै हचुवाको भरमा भएका छन् । साँचो रूपमा भन्नुपर्दा सरकारको खेलकुदप्रतिको दृष्टिकोण नै प्रस्ट छैन । सरकारले जहिले पनि खेलकुदलाई ‘खाए खा नखाए घिच्’ को व्यवहार गरेको छ । सरकारको यही व्यवहारकै कारण नेपाली खेलकुद अहिलेसम्म माथि उठ्न नसकेको हो भन्दा अतिसयोक्ति नहोला ।

एसियाली खेलकुद प्रतियोगिता ओलम्पिक खेलकुदपछिको सबैभन्दा ठूलो प्रतियोगिता हो । एसियाली खेलकुदमा सफलता हासिल गर्ने राष्ट्रले ओलम्पिकमा पनि पदक जित्ने उत्तिकै सम्भावना हुन्छ । त्यसैले एसियाली राष्ट्रका मुलुकले एसियाली खेलकुदलाई आफ्नो प्रतिष्ठाको विषयसमेत बनाएका हुन्छन् । एसियाली खेलकुदमा सफलता पाउन अर्थात् पदक जित्न ४ वर्ष नभई ८ वर्षदेखि सोही खेललाई मध्यनजर गरेर तयारी गरेका हुन्छन् । तर, विडम्बना ! हाम्रो देशमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी ३ महिनाभन्दा बढी भएको छैन । यही ३ महिनामा स्वदेश र विदेशको प्रशिक्षण हुन्छ । अर्को महत्वपूर्ण कुरा केही खेलहरूले वैदेशिक प्रशिक्षणको अवसर पाउने भए पनि अन्यले भने नेपालमै चित्त बुझाउनुपर्छ । यस्तो अवस्थामा नेपालले एसियाडजस्तो प्रतियोगितामा कसरी पदक जित्न सक्छ, सोझै अनुमान लगाउन सकिन्छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले १८औँ एसियाडमा नेपालले ऐतिहासिक सफलता हासिल गर्ने दाबी गरेका छन् । साथै विष्टले यसपटक नेपालले स्वर्ण पदक जित्न नसके पनि कम्तीमा २ रजत र ४ कांस्य जितेर नेपालले नौलो इतिहास रच्ने बताउँदै आएका छन् । विष्टका यी कथनमा कत्तिको सत्यता छ त्यो आफैँमा चुनौतीपूर्ण भए पनि उनी खेलकुदको नायक भएको नाताले यति भन्न छुट छ । विष्टले यति पनि भनेनन् भने नेपाली टिमले कसरी एसियाडमा सहभागिता जनाउँछ त ? यो नै चुरो कुरो हो । अन्यथा विगत तीन वर्षमा विष्टले नेपाली खेलकुदको स्थिति र खेलाडीहरूको नाडीलाई राम्रोसँग छामिसकेका छन् । दक्षिण एसियाली खेलकुदमा समेत उत्कृष्ट प्रदर्शन गर्न नसक्ने खेलका खेलाडीबाट एसियाडमा कदापि पदकको आशा राख्दैनथे होला । विष्टले पदकको आशा राखे त्यो उनको बाध्यता हो भन्दा अन्यथा नहोला ।

यसरी जुन खेलहरूमा राज्यले सम्भावित पदकको आशा गरेको छ के ती खेलले पदक जित्लान् त ? त्यो अहिले चर्चाको विषय बनेको छ । १२औँ सागमा एउटा पनि स्वर्ण पदक नजित्ने तेक्वान्दो, उत्कृष्ट प्रदर्शन गर्न नसक्ने बक्सिङ र करातेबाट एसियाडमा पदकको आशा राख्नु कत्तिको जायज छ ? त्यसको विश्लेषण हुनु जरुरी छ । त्यस्तै विगतका दुई एसियाडमा पदकविहीन बनेको तेक्वान्दोले यसपटक ठूलो माछा मार्ला कि भन्नुले पनि खासै अर्थ लाग्दैन । तेक्वान्दोका राष्ट्रिय टोलीका प्रशिक्षक दीपक विष्टले पनि पदकबारे ठोकुवा गर्न नसक्नु र खुला रूपले बोल्न नसक्नुले पनि यसलाई प्रमाणित गर्छ । त्यस्तै, इन्चोन एसियाडको पहिलो राउन्डमा शतप्रतिशत विजय निकाल्ने करातेको त्यसपछि कस्तो हरिविजोग भयो त्यो सबैलाई ज्ञात भएकै कुरा हो । यसैगरी सन् १९८६ र १९९० मा कांस्य पदक जितेको बक्सिङमा अर्को पदक जित्न २० वर्ष कुर्नुपरेको थियो । यसपटक नेपालले पदक जित्ने खेलको रूपमा प्याराग्लाइडिङलाई प्रमुख रूपमा हेरिए पनि दक्षिण कोरिया, चीन, जापान, थाइल्यान्ड, आयोजक राष्ट्र इन्डोनेसियका अगाडि नेपालीले खेलाडीले कस्तो प्रदर्शन गर्लान् त्यसको प्रतीक्षा गर्नु नै राम्रो होला । यसर्थ यसपटक पनि नेपालले परम्परावादी रूपमै उनै पुराना खेलहरूलाई पदकको दाबेदारको रूपमा प्रस्तुत गरेको हुँदा आशा गर्न सकिए पनि विश्वास गर्न सकिने अवस्था छैन । जुन एसियाडको इतिहासलाई पल्टाउँदा प्रस्ट रूपमा थाहा पाउन सकिन्छ ।