पाँच वर्षपछि कांग्रेसलाई ‘पहिलो पार्टी’ बनाउन यस्तो छ निधिको योजना

पाँच वर्षपछि कांग्रेसलाई ‘पहिलो पार्टी’ बनाउन यस्तो छ निधिको योजना


संविधान कार्यान्वयनमा आर्थिक र प्रशासनिक चुनौती रहेको धारणा नेपाली कांग्रेसका नेताहरुले व्यक्त गरेका छन् । काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको ‘समसामयिक अर्थ–राजनीतिको समीक्षा’ कार्यक्रममा कांग्रेस नेताहरुले जथाभावी कर उठाएर अहिले मुलुकमा देखिएको आर्थिक समस्या पूरा नहुने बताए ।

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शुरुआती काम राम्रो नभएको आरोप लगाउँदै दुई तिहाइको सरकार शक्ति हुँदाहुँदै पनि अल्मलिरहेको बताए । आगामी निर्वाचनमा कम्युनिष्ट कमजोर भएमा हामीले जित्छौँ भन्ने भ्रममा नपरी काङ्ग्रेस संगठन निर्माणमा लाग्नुपर्ने बेला आएको उनको धारणा थियो ।

यस्तै काङ्ग्रेसका अर्का नेता डा. रामशरण महतले कूल गार्हस्थ उत्पादनको ३६ प्रतिशत कर उठाउने मुलुकका रुपमा रहेको नेपाल विश्वकै बढी कर लगाउने मुलुकका रुपमा रहन पुगेको छ भन्दै उच्च कर प्रणालीले स्वदेशी र विदेशी लगानी आकर्षण गर्न नसकिने दाबी गरे। नेपालमा करको दर बढेको समाचार आएपछि स्वदेशी तथा विदेशी लगानीका लागि को आकर्षित हुन्छ ? भन्ने प्रश्न गर्दै उनले सरकारको गलत अर्थनीतिका कारण शेयर बजारमा समेत गिरावट आएको तर्क गरे ।

काङ्ग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत, काङ्ग्रेस सचेतक पुष्पा भुसाल, सांसद डा. नारायण खड्का, अमरेशकुमार सिंह, दिव्यमणि राजभण्डारी र भरतकुमार शाहले युवा मतदातालाई आकर्षण गरी कांग्रेसको पक्षमा जनमत निर्माण गर्न पार्टीले विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए भने पार्टी प्रमुख सचेतक बालकृष्ण खाणले काङ्ग्रेस सङ्गठित रुपमा संसदमा प्रस्तुत हुन नसक्दा आफ्ना कार्यसूचीमा कमजोर भएको स्वीकार गरे ।

सोही कार्यक्रमा कांग्रेसका उपसभापति एवं ‘केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान’का संयोजक विमलेन्द्र निधिले पाँच वर्षपछि आउने निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि प्रशिक्षण प्रतिष्ठानले सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया तालीमलगायत कार्यक्रम सातै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहमा लैजाने जानकारी दिए ।