प्रधानमन्त्रीले भदौ २ मा २ नम्बर प्रदेश सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले भदौ २ मा २ नम्बर प्रदेश सभालाई सम्बोधन गर्ने


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेश सभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने भएका छन् ।

नेकपाले जनकपुरमा आज (बिहीबार) पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउने जानकारीसमेत दिइयो ।

धनुषाका शहीद रामवृक्ष यादवको २४औँ स्मृति सभामा सहभागी हुन उनीहरू दुवैजना धनुषा आउने कार्यक्रम रहेकोमा प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेश सभामा सम्बोधन गर्ने र त्यसपश्चात् धनुषाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको स्मृति सभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेको नेकपा नेता एवं प्रदेश समिति कार्यदलका सदस्य विश्वनाथ साहले बताए ।

प्रधानमन्त्री ओलीले प्रदेश १, ३ र ५ का प्रदेश सभालाई यसअघि नै सम्बोधन गरिसकेका छन् ।

नेता साहले पार्टीभित्र अन्तरविरोध हुनु स्वाभाविक भएको बताउँदै अहिले नेकपामा कुनै गुटउपगुट नरहेको दाबी गरे । उनले भदौ ५ गतेभित्र प्रदेश र जिल्ला कमिटीको सदस्यबारे निर्णय गरी केन्द्रमा पठाउने जानकारी दिए ।