मुस्ताङस्थित १३.६ मेगावाटको थापाखोलामा क्षति

मुस्ताङस्थित १३.६ मेगावाटको थापाखोलामा क्षति


हिमाली जिल्ला मुस्ताङको थासाङस्थित टुकुचेमा सञ्चालित १३.६ मेगावाटको थापाखोला जलविद्युत केन्द्रको संरचनामा बाढीले क्षति पुर्याएको छ । अविरल वर्षासँगैको बाढीले खोलामा पानीको सतह बढेर संरचना डुबाउँदा आयोजनाको संरचनामा क्षति पुुगेको हो ।

आयोजनाको बाँध क्षेत्रमा खोलाको पानी प्रवेश गरेर डुबाएपछि गत शनिबार रातीबाट जलविद्युत केन्द्रको उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बाढीले बाँध क्षेत्रको इन्टेक गेट, डिसेन्डर, अन्डर स्युइसलगायत सबै संरचनामा क्षति पुर्याएको छ ।

जलविद्युतगृहबाट उत्पादन बन्द भएकोबारे नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागलाई जानकारी गराइसकेको कम्पनीले जनाएको छ । सम्पूर्ण विवरण आएपछि क्षतिग्रस्त संरचना मर्मत गरेर उत्पादन सुरु गरिने भएको छ । थापाखोलाले गत वर्षको मंसिरबाट विद्युत उत्पादन सुरु गरेको थियो । कुल २ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण पूरा भएको हो ।